राष्टृधाति नागरिकता विधेयक सम्वन्धि अन्तरक्रिया सम्पन्न

पाँच क्रान्तिकारी कम्युनिस्ट पार्टीको संयुक्त संघर्ष अन्तर्गत अन्तरक्रिया सम्पन्न ।

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १ १९:२१ बजे

 

 

नेपालगन्ज 

राष्ट्रियता र जनतन्त्रको लागि संयुक्त रूपमा संघर्ष गरिरहेका पाँच क्रान्तिकारी कम्युनिस्ट पार्टीको संयुक्त संघर्ष अन्तर्गत २०७९ भाद्र ३१ गते नेपालगन्जमा राष्ट्रघाती नागरिकता विधेयक खारेजीको लागि "राष्ट्रघाती नागरिकता विधेयक" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कडेल कामरेड प्रतीकले नेपालमा नागरिकताको समस्या जटिल रूपमा रहेको, दलाल संसदीय व्यवस्थाका शासकहरुले पटकपटक नागरिकता जस्तो संवेदनशील चिजलाई विदेशी शक्तिकेन्द्रको चाहना अनुरुप उनिहरुलाई बिक्री गरिरहेको स्पष्ट पारेका थिए । संसदीय शासकहरुले नेपाललाई फिजिकरणको दिशामा लगेर सिक्किमीकरण गर्ने भारतीय विस्तारवादको गुरु योजना अन्तर्गत नेपालको नागरिकता नीति फितलो बनाउदै लगेको र भविष्यमा नेपाली जनता स्वयं आफ्नै देशभित्र अल्पमतमा पर्ने खतरा रहेको औल्याएका थिए । अहिलेको नागरिकता विधेयक त्यसको पछिल्लो कडीको रूपमा आएको प्रष्ट पारेका थिए । अबको विकल्प प्रभावकारी संघर्ष नै भएको र त्यसको लागि सम्पुर्ण देशभक्त प्रगतिशील शक्तिहरु सबै एक ठाउँमा उभिनु पर्ने आवश्यकता टड्कारो रहेको बताएका थिए । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अर्का वक्ता नेकपा मसाल विशेष महाधिवेशन आयोजक समितिका केन्द्रिय नेता कामरेड शशिधर भण्डारीले नेपाल विश्व भुमण्डलिकृत राजनीतिको केन्द्रमा रहेको बताउदै अहिलेको अवस्था रहिरहे नेपाल साम्राज्यवादीको चपेटामा परि युक्रेनको अवस्थामा फस्न सक्ने खतरा रहेको स्पष्ट पारेका थिए । एमसीसी, एसपिपी र नागरिकता नीति यी सबै यसकै कडीको रूपमा आएको प्रष्ट पारे । नागरिकताको सम्बन्धमा बोल्दै भण्डारीले अहिले ल्याएको विधेयक त राष्ट्रघाती रहेकै छ, नागरिकता सम्बन्धि नेपालको संविधान २०७२ ले गरेका केहि प्रावधानहरुसमेत राष्ट्रघाती रहेको स्पष्ट पारेका थिए । संविधानको धारा ११ मा वंशजको नागरिकता दिने प्रावधान नै राष्ट्रघाती रहेको बताए । आमा र बाबु दुबै वंशजका नागरिक रहेकाहरुका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने प्रावधान राख्नुपर्नेमा आमा वा बाबुमध्ये एकजना वंशजको नागरिक भएपनि तिनका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरेकोले विदेशी भान्जा भान्जीले नेपालको वंशजको नागरिकता पाउने ढोका खुल्ला भएको बताए । हाम्रो जस्तो खुल्ला सिमा भएको र ठुला जनसंख्या भएका छिमेकी देशहरु रहेको परिस्थितिमा जन्मस्थलको आधारमा नागरिकता दिने नीति नै राष्ट्रघाती रहेकोसमेत बताए । देशका प्रतिक्रियावादी शासकले नागरिकता जस्तो संवेदनशील विषयमा समेत सत्ता राजनीतिको विषय बनाएर विदेशी शक्तिको गुलामी गरिरहेको प्रष्ट पारे । देशको राष्ट्रियता संरक्षणमा जनताको महत्वोपुर्ण भुमिका रहने गरेका विभिन्न अन्तर्राष्ट्रिय इतिहासको व्याख्या गर्दै अबको विकल्प सबै प्रगतिशील देशभक्त एवं क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने र प्रभावशाली संघर्षको उठान गर्नुपर्ने आवश्यकता औल्याएका थिए । कम्युनिस्ट नाम र झण्डाले नचिनिने र कम्युनिस्ट नीति सिदान्त र व्यवहारले चिनिने कुरा प्रष्ट पार्दै नेपालका क्रान्तिकारी कम्युनिस्ट हौं भनेर दावी गरिरहेका कतिपय शक्ति घुमाइफिराइ प्रतिक्रियावादी एवं साम्राज्यवादीका गोटिको रूपमा परिणत भएको कुरा प्रष्ट पारेका थिए । आयोजकले तयार पारेको नागरिकता सम्बन्धि साझा अवधारणा पत्र २०७९ माथि टिप्पणी गर्दै प्रा. डा. जनार्दन आचार्यले अझै पनि क्रान्तिकारी कम्युनिस्टहरु राष्ट्रियता र जनतन्त्रको संघर्षमा उत्साहित भएर लाग्नु बढो महत्त्वपूर्ण र खुसीको कुरा भएको प्रकट गर्दै क्रान्तिकारी कम्युनिस्ट कहिल्यै नथाक्ने बताए । भारतबाट नेपाल राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा प्रभावित रहेको र नागरिकता नीति सम्बन्धि पनि फितलो नीति बनाएर भारतलाई खुशी पार्न नेपाली शासक उद्दत रहेको स्पष्ट भैसकेको बताए । नेपाल -भारत सिमा छेकबार लगाउन आवश्यक भएको बताए।


अन्य बक्तामा बुध्दिजिवि नरेन्द्रबहादुर स्वार, नेकपा बहुमत केन्द्रिय सदस्य कृष्ण शाह रहेका थिए । नेकपा क्रान्तिकारी माओवादी पिबिएम भुपेन्द्र न्यौपाने, केन्द्रिय सदस्य लक्ष्मी चौलागाईं र विपिन रोकाय, नेकपा बहुमत केन्द्रिय सदस्य कामरेड सितल, नेकपा मसाल विशेष महाधिवेशन आयोजक समिति प्रतिनिधि गुणानिधी आचार्य र शरद लामिछाने, नेकपा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश सदस्य कामरेड बिद्रोही सर्वहारासमेतको आतिथ्यता रहेको उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा क्रान्तिकारी माओवादी बाँके इन्चार्ज कामरेड प्रेमबहादुर थापा, स्वागत नेकपा बहुमत नेपालगन्ज उपमहानगर इन्चार्ज कामरेड धर्ती र संचालन नेकपा मसाल विशेष महाधिवेशन आयोजक समितिका केन्द्रीय प्रतिनिधि गौरीलाल कार्कीले गरेका थिए ।

२०७९ असोज १ १९:२१ बजे

प्रतिक्रिया