रोजगारीको ग्यारेण्टी नभएपछि लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

रोजगारीको ग्यारेण्टी नभएपछि लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १२:४६ बजे
लमजुङ अस्पताल

 काठमाडौं । रोजगारीको ग्यारेण्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारीले आन्दोलन गरेको छन् । बायाँ हातमा कालोपट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका हुन् ।

सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने माग सहित उनिहरुले आन्दोलन  गरेका हुन् ।  अस्पताल विकास समिति र हालसम्म अस्पताल सञ्चलन व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले कर्मचारीको उचित व्यवस्थापन गर्नु पर्ने माग गर्दै धर्ना दिएको संघर्ष समितिका संयोजक गणेश गुरुङले बताएका छन् । 

कर्मचारीले रोजगारीको सुनिश्चितताको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत पनि प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङलाई ज्ञापनपत्र बुझाउँदै आएको छ ।

गण्डकी प्रदेश सरकारले अस्पताल आफैंले सञ्चालन गर्ने भनेपछि स्वास्थ्य कर्मचारीमा अन्यौलमा परेका हुन् । प्रदेश सरकारले अस्पतालमा स्वास्थ्य कर्मचारी भर्ना गर्न थालेपछि कार्यरत स्वास्थ्य कर्मचारी थप समस्यामा परेका छन् ।

विकास तथा सामुदायिक सेवा (एचडीसीएस) र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौताअनुसार सुरुमा पाँच वर्ष सञ्चालन गरिएको थियो । सरकारले त्यसपछि एचडीएससँग मात्रै सम्झौता गरेको थियो ।

सम्झौताअनुसार २०८२ सालसम्मका लागि अस्पताल व्यवस्थापनको जिम्मा एचडीएसले लिएको थियो । 

२०७९ भदौ २८ १२:४६ बजे

प्रतिक्रिया