तातोपानी नाका दशैं अघिनै खुलाउन सरकारकाे प्रयास

तातोपानी नाका दशैं अघिनै खुलाउन सरकारकाे प्रयास

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १६:१३ बजे
परराष्ट्रमन्त्री डा. नारायण खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्र चिनसँग वार्ता भइरहेको बताएका छन् । आइतवार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो उनले यस्तो  बताएका  हुन् ।

उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता  जनाएका छन् । उनले  दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने बताए । उनले सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उहाँसँगको भेटमा नाका सुसञ्चालनको बारेमा कुरा राख्ने  बताएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमवार ४ दिने नेपाल भ्रमणमा  आउन लागेका हुन् ।  

ज्ञापनपत्र बुझाएपछि हिमालपारी व्यपार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दशैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको  गुनासो राखे । उनले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडो भन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन  सरकारसँग अनुरोध गरेका हुन् । अध्यक्ष श्रेष्ठले नाका राम्रोसँग कोभिड १९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह गरे । नाका सुसञ्चालन हुन नसक्दा व्यवसायीहरु नै पलायन बन्ने स्थिति सिर्जना भइरहेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए ।  

आइतवार हिमालपारी व्यापार संघले सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । आइतवार परराष्ट्र मन्त्रालयमा पुगेर नेता बस्नेतसहितका संघका पदाधिकारी र व्यापारीहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापन पत्र बुझाएका थिए । 

२०७९ भदौ २६ १६:१३ बजे

प्रतिक्रिया