डेंगुबाट सात जनाको मृत्यु - सरकारसँग छैन् रेकर्ड

डेंगुबाट सात जनाको मृत्यु - सरकारसँग छैन् रेकर्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २५ १२:०२ बजे
काठमाडौं । हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट हालसम्म सात जनाले मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागले भने दुई जनाको मृत्युलाई मात्र रेकर्डमा राखेको छ ।

‘दुई जनाको मृत्यु भएको जानकारी हाम्रो रिपोर्टिङ सिस्टममा आइसकेको छ, थप मृत्युबारे अद्यावधिक गर्नेछौं,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले भने । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार कैलाली र ललितपुरमा एक–एक जनाको मृत्यु पुष्टि भएको हो ।

सात जनाको मृत्यु

ईडीसीडीकै एक विज्ञले भने डेंगुबाट सात जनाको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा ६ महिला र १ पुरुष छन् । नेपाल मेडिसिटी अस्पतालमा ३८ वर्षीय पुरुष र ५९ वर्षीया महिला, भेरीमा १२ वर्षीया महिला, नेपालगन्ज मेडिकल कलेजमा २५ र ६० वर्षका महिला, सिभिलमा ४४ वर्षीया महिला र वीर अस्पतालमा ८० वर्षीया महिलाको मृत्यु भएको हो । गत साउनदेखि हालसम्म ६ हजार ७ सय ७ डेंगुको केस देखिएको छ ।

सबै भन्दा बढी संक्रमण ललितपुर, काठमाडौं, रूपन्देही र मकवानपुरमा देखिएको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ केस देखिएकामा ६ जनाको मृत्यु भएको थियो  । 

२०७९ भदौ २५ १२:०२ बजे

प्रतिक्रिया