'यो गठबन्धन विचित्रको छ,पवित्र हो वा अपवित्र भन्ने कुरा चुनावपछि मात्रै थाहा हुन्छ'

'यो गठबन्धन विचित्रको छ,पवित्र हो वा अपवित्र भन्ने कुरा चुनावपछि मात्रै थाहा हुन्छ'

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १४:०४ बजे
डा. शेखर कोइराला

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा १०० सिटभन्दा कम लिएर चुनावमा जाँदा राम्रो नहुने बताएका छन् । 

विपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा बिहीवार आयोजना गरेको ‘विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘यो गठबन्धन विचित्रको छ । एकातिर जननायक विपी कोइरालाले दिनु भएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ । अर्कातिर आफूलाई कम्युनिष्ट भन्नेहरू छन् । उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन । विचार र सिद्धान्त नमिले पनि गठबन्धन गर्‍यौं ।

एमालेले संविधानलाई ‘डिरेल’ गर्ने प्रयास गरेको कारण गठबन्धन बनेको र गठबन्धन पवित्र हो वा अपवित्र भन्ने कुरा चुनावपछि मात्रै थाहा हुने उनले बताएका छन् । एमालेलाई परास्त गर्नको लागि मात्रै गठबन्धन बनेको उनले दाबी गरे । 

तर, गठबन्धन गरेर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसके विद्रोह र विग्रह हुने कोइरालाले बताए ।

‘गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो । पाँच वर्ष स्थायी सरकार दिन्छौँ, भनेका छौँ । सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अप्ठ्यारो पार्छ । माओवादी र समाजवादीहरू कांग्रेसलाई सय सिट दिन तयार नभएको र गठबन्धन गर्दा धेरै सिट घट्न सक्ने उनले बताए । 

उनले नेपाली कांग्रेस १६५ सिटमै उठ्यौँ भने पनि नपुग्ने अवस्था छ । तालमेल गर्दा धेरै सिट घट्न सक्छ । त्यसले हामीबीच विग्रह र विद्रोह आउँछ । कांग्रेसमा समस्या बढ्न सक्छ । 

अहिलेको सरकारले गरिरहेको कामबारे पनि कोइरालाले प्रश्न उठाएका छन् । संक्रमणकालीन विषयसँग सम्बन्धित विधेयक र मिडिया काउन्सिल विधेयक गम्भिररूपमा अगाडि आइरहेको उनले बताए । पीडितले पुनरावेदन गर्ने अवसर पनि नदिने गरी विधेयक आएको भन्दै उनले त्यसलाई पुनर्विचार गर्नुपर्ने बताए । 

२०७९ भदौ २३ १४:०४ बजे

प्रतिक्रिया