जनमुक्ति सेना दिवस इतिहासको गौरव, बलिदानको सम्मान र अधुरो क्रान्तिको कार्यभार

आफ्नो व्यक्तिगत भविष्यभन्दा सामूहिक मुक्ति र सामाजिक परिवर्तनको सपनालाई ठूलो ठानेर हजारौँ युवाले संघर्षको बाटो रोजेका थिए। कसैले आफ्नो परिवार गुमाए, कसैले जीवनसाथी गुमाए, कसैले सन्तान गुमाए र कतिपय स्वयं इतिहासको बलिदानी पानामा समाहित भए। उनीहरूको आकाङ्क्षा पद, प्रतिष्ठा, व्यक्तिगत लाभ वा सत्ताको हिस्सेदारी थिएन। उनीहरूको सपना वर्गीय शोषणको अन्त्य, सामाजिक समानता, राष्ट्रिय स्वाधीनता र जनताको वास्तविक शासनसत्ता थियो।

bimbonline लक्ष्मण उप्रेती
२०८३ मंसिर १० १८:४० बजे

जनमुक्ति सेना दिवस एउटा यो नेपाली समाजको वर्गीय मुक्ति आन्दोलन, राज्यसत्ताको चरित्र, जनताको राजनीतिक आकाङ्क्षा, हजारौँ योद्धाको त्याग, बलिदान र क्रान्तिकारी सपनासँग जोडिएको महत्वपूर्ण ऐतिहासिक दिन हो। यस दिवसले हामीलाई विगतको संघर्ष सम्झाउने मात्र होइन, वर्तमान राजनीतिक अवस्थाको गम्भीर समीक्षा गर्दै अधुरो क्रान्तिकारी कार्यभारप्रति जिम्मेवार बन्नसमेत प्रेरित गर्दछ।नेपाली जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुक्ति प्राप्त गर्ने उद्देश्यसहित सञ्चालित जनयुद्धको ऐतिहासिक प्रक्रियामा जनमुक्ति सेनाको गठन र विकास भएको थियो। तत्कालीन राज्यसत्ताको दमन, शोषण, उत्पीडन, असमानता र विभेदविरुद्ध संगठित प्रतिरोधको एउटा महत्वपूर्ण शक्तिका रूपमा जनमुक्ति सेना अगाडि आएको थियो। यसको विकास कुनै आकस्मिक घटना थिएन। यो तत्कालीन नेपाली समाजको वर्गीय अन्तर्विरोध, राजनीतिक बहिष्करण, सामन्ती उत्पादन सम्बन्ध र दमनकारी राज्य संरचनाबाट उत्पन्न ऐतिहासिक परिस्थितिको परिणाम थियो।
जनमुक्ति सेनाको इतिहासलाई त्यस समयको राजनीतिक, सामाजिक र आर्थिक परिवेशबाट अलग गरेर बुझ्न हुदैन। नेपालको सामन्ती राज्यव्यवस्था, जमिनमाथिको असमान स्वामित्व, जातीय तथा लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन र श्रमजीवी जनताको शोषणविरुद्ध उठेको राजनीतिक विद्रोहको एउटा महत्वपूर्ण अभिव्यक्ति थियो जनमुक्ति सेना। यसले राज्यसत्ताको स्वरूप, राजनीतिक अधिकार, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका प्रश्नलाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो।जनमुक्ति सेनाको इतिहास हजारौँ युवाको जीवन, सपना, साहस, अनुशासन र बलिदानसँग जोडिएको छ। आफ्नो व्यक्तिगत भविष्यभन्दा सामूहिक मुक्ति र सामाजिक परिवर्तनको सपनालाई ठूलो ठानेर हजारौँ युवाले संघर्षको बाटो रोजेका थिए। कसैले आफ्नो परिवार गुमाए, कसैले जीवनसाथी गुमाए, कसैले सन्तान गुमाए र कतिपय स्वयं इतिहासको बलिदानी पानामा समाहित भए। उनीहरूको आकाङ्क्षा पद, प्रतिष्ठा, व्यक्तिगत लाभ वा सत्ताको हिस्सेदारी थिएन। उनीहरूको सपना वर्गीय शोषणको अन्त्य, सामाजिक समानता, राष्ट्रिय स्वाधीनता र जनताको वास्तविक शासनसत्ता थियो।
इतिहासप्रति इमानदार हुने हो भने जनमुक्ति सेनाको योगदानको मूल्याङ्कन भावनात्मक प्रशंसाबाट मात्र सम्भव हुँदैन। त्यसका राजनीतिक उपलब्धि, सीमा, कमजोरी, सफलता र असफलताको वस्तुवादी समीक्षा आवश्यक हुन्छ। इतिहासको सम्मान गर्नु भनेको इतिहासका सबै निर्णयलाई प्रश्नरहित स्वीकार गर्नु होइन। बरु त्यसबाट सही शिक्षा ग्रहण गर्नु, कमजोरी पहिचान गर्नु र भविष्यको क्रान्तिकारी कार्यदिशा निर्माण गर्नु हो।नेपालको जनयुद्धले देशको राजनीतिक संरचनामा गहिरो परिवर्तन ल्यायो। २०६२र६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संविधानसभा र संविधान निर्माणजस्ता ऐतिहासिक घटनाक्रममा जनयुद्धले सिर्जना गरेको राजनीतिक दबाब र परिवर्तनकारी चेतनाको महत्वपूर्ण भूमिका रह्यो। नेपाली समाजमा लामो समयदेखि दबाइएका वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक तथा सांस्कृतिक उत्पीडनका सवालहरू राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित भए। जनताको राजनीतिक अधिकार र राज्यको पुनर्संरचनासम्बन्धी बहसले नयाँ दिशा प्राप्त गर्‍यो।तर शान्ति प्रक्रियामा प्रवेशसँगै एउटा गम्भीर राजनीतिक सवाल पनि जन्मियो,जनयुद्धले उठाएका आधारभूत वर्गीय तथा सामाजिक रूपान्तरणका कार्यभार कसरी पूरा गर्नेरु जनमुक्ति सेनाको संस्थागत अस्तित्व अन्त्य भयो। सेना समायोजन, स्वैच्छिक अवकाश र पुनःस्थापनाका प्रक्रियामार्फत हजारौँ पूर्वलडाकुहरू आ–आफ्नो सामाजिक जीवनमा फर्किए। तर जनयुद्धले उठाएका आधारभूत राजनीतिक, आर्थिक र सामाजिक सवालहरू पूर्ण रूपमा समाधान हुन सकेनन्।
राजतन्त्रको अन्त्य भयो, तर के सामन्ती शोषणका सबै आधार समाप्त भएरु गणतन्त्र स्थापना भयो, तर के जनताले राज्यसत्तामा वास्तविक स्वामित्व प्राप्त गरेरु संविधानमा मौलिक अधिकार लेखिए, तर के श्रमिक, किसान, सुकुम्बासी, उत्पीडित समुदाय र सर्वसाधारण जनताले आर्थिक तथा सामाजिक न्यायको अनुभूति गर्न पाएरु राजनीतिक व्यवस्था फेरियो, तर के उत्पादनका साधन र आर्थिक स्रोतसाधनमाथिको असमान स्वामित्वमा आधारभूत परिवर्तन आयोरु यी प्रश्नहरूको जवाफ खोज्नु आजको कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण जिम्मेवारी हो।राजनीतिक परिवर्तन महत्वपूर्ण उपलब्धि हो, तर त्यसलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्न नसक्दा क्रान्तिको उद्देश्य अपूर्ण रहन्छ। राज्यको औपचारिक संरचना परिवर्तन भए पनि पुरानै आर्थिक सम्बन्ध, शोषणकारी उत्पादन प्रणाली, दलाल पुँजीको प्रभुत्व, भ्रष्टाचार, बेरोजगारी र सीमित वर्गको आर्थिक नियन्त्रण कायम रहनु गम्भीर चुनौती हो। राजनीतिक अधिकार प्राप्त गर्नु र जनताको आर्थिक जीवनमा वास्तविक परिवर्तन ल्याउनु एउटै कुरा होइन। गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने हो भने त्यसको आर्थिक तथा वर्गीय आधार पनि रूपान्तरण गर्न आवश्यक छ।त्यसैले शान्ति प्रक्रियाको समीक्षा अपरिहार्य हुन्छ। शान्ति प्रक्रिया ऐतिहासिक राजनीतिक परिस्थितिमा भएको एउटा महत्वपूर्ण सम्झौता थियो। यसले तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्य र नयाँ राजनीतिक निकासको बाटो त खोल्यो, तर शान्ति प्रक्रियालाई नै क्रान्तिको पूर्णता ठान्नु राजनीतिक गल्ती थियो। शान्ति सम्झौता युद्धको अन्त्य र राजनीतिक संक्रमणको एउटा चरण थियो, वर्गीय शोषणको अन्त्य र समाजवादी रूपान्तरणको अन्तिम उपलब्धि थिएन। त्यसैले शान्ति प्रक्रियाका उपलब्धिको रक्षा गर्दै त्यसका सीमाहरूको आलोचनात्मक समीक्षा गर्नु आवश्यक छ।
आज नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको वैचारिक विचलनको एउटा प्रमुख समस्या यहि हो कि जनयुद्धको नेतृत्व र विरासत बोकेका कतिपय नेताहरु र पार्टी संसदीय सत्ताको अभ्यासमा क्रमशः विलिन हुँदै गए। क्रान्तिकारी रूपान्तरणको लक्ष्यलाई चुनावी सफलता, सरकारमा सहभागिता र पद प्राप्तिको राजनीतिले विस्थापित गर्दै गयो। वर्गीय राजनीति कमजोर हुँदै गयो। मजदुर, किसान, सुकुम्बासी, बेरोजगार युवा र उत्पीडित समुदायका वास्तविक समस्याहरू राजनीतिक प्राथमिकताबाट पछाडि पर्दै गए। क्रान्तिको लक्ष्य र व्यवहारबीच दूरी बढयो।संसदीय राजनीतिक प्रक्रियामा सहभागिता आफैँमा संशोधनवाद होइन। सवाल त्यसको प्रयोग कसरी गरिन्छ भन्ने हो। संसद्को भण्डाफोर र जनताको राजनीतिक चेतना अभिवृद्धि गर्ने, संघर्षका मुद्दा स्थापित गर्ने र जनपक्षीय परिवर्तनका लागि उपयोग गर्ने कि त्यसैलाई राजनीतिको अन्तिम गन्तव्य बनाउनेरु यहीँनेर क्रान्तिकारी राजनीति र संशोधनवादी राजनीतिबीचको आधारभूत अन्तर स्पष्ट हुन्छ। जब वर्गसंघर्षको स्थान संसदीय पूजीवादी सत्ताको भागबन्डाले लिन्छ, जब विचारको स्थान व्यक्तिपूजाले लिन्छ, जब जनताको संगठन निर्माणको स्थान चुनावी गठजोडले लिन्छ र जब क्रान्तिको लक्ष्यलाई संसदीय सत्ताको स्थायित्वसँग साटिन्छ, तब दक्षिणपन्थी अवसरवादले जरा गाड्न थाल्छ।
अर्कोतर्फ, आज क्रान्ति सम्भव छैन, समाजवाद असफल भइसक्यो, कम्युनिष्ट विचारधारा पुरानो भइसक्यो भन्ने प्रचार पनि व्यापक छ। यस्ता धारणाले साम्राज्यवादी प्रचार, पुँजीवादी वैचारिक प्रभावले कम्युनिष्ट आन्दोलनभित्रका कमजोरीबाट बल प्राप्त गरेका छन्। तर कुनै ऐतिहासिक क्रान्तिको पराजय, समाजवादी निर्माणका क्रममा देखिएका समस्या वा कम्युनिष्ट पार्टीहरूको राजनीतिक विचलनलाई आधार बनाएर मार्क्सवादको वैज्ञानिकता र समाजवादको ऐतिहासिक आवश्यकतालाई अस्वीकार गर्न मिल्दैन। पुँजीवादले विश्वव्यापी रूपमा सिर्जना गरेका आर्थिक असमानता, बेरोजगारी, युद्ध, वातावरणीय संकट, श्रम शोषण र आर्थिक एकाधिकारले नै यसको अन्तर्निहित अन्तर्विरोधलाई उजागर गरिरहेका छन्।
क्रान्ति असम्भव भएको होइन, क्रान्तिप्रतिको विश्वास कमजोर बनाइएको हो। क्रान्तिको आवश्यकता समाप्त भएको होइन, त्यसलाई सही वैचारिक दिशा, वस्तुगत विश्लेषण, क्रान्तिकारी संगठन र जनताको सक्रिय सहभागितासँग जोड्न नसकिएको हो। त्यसैले आजको आवश्यकता निराशा र पलायन होइन, वैचारिक पुनर्जागरण, राजनीतिक स्पष्टता र संगठनात्मक पुनर्निर्माण हो।मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारारवादको मार्गदर्शनमा नेपालको विशिष्ट परिस्थितिको ठोस अध्ययन गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार र वैज्ञानिक समाजवाद निर्माणको दिशालाई स्पष्ट गर्नुपर्छ। क्रान्तिको कार्यदिशा कुनै अमूर्त कल्पना वा नाराबाट निर्माण हुँदैन। यो समाजको वस्तुगत अवस्था, उत्पादन सम्बन्ध, वर्गीय शक्ति सन्तुलन, जनताको चेतना र राजनीतिक परिस्थितिको वैज्ञानिक विश्लेषणबाट निर्माण हुन्छ। संघर्षका स्वरूप, कार्यनीति र राजनीतिक पहलकदमी समयअनुसार परिवर्तन हुन सक्छन्, तर सामाजिक मुक्ति र शोषणमुक्त समाज निर्माणको मूल उद्देश्य परिवर्तन हुनु हुँदैन। जनताको व्यापक सहभागिता, संगठित राजनीतिक चेतना र वैध जनआधार नै दिगो सामाजिक रूपान्तरणका आधार हुन्।आजको मुख्य आवश्यकता जनताको बीचमा फर्कनु, मजदुर र किसानका वास्तविक समस्या उठाउनु, उत्पादन र रोजगारीका प्रश्नमा संघर्ष गर्नु, राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु र राज्यसत्तालाई जनपक्षीय बनाउने राजनीतिक आन्दोलन सञ्चालन गर्नु हो। कम्युनिष्ट पार्टी जनताको दैनिक जीवनसँग जोडिनुपर्छ। मजदुरको ज्याला, किसानको उत्पादन र बजार, युवाको रोजगारी, श्रमिकको सामाजिक सुरक्षा, सुकुम्बासीको आवास, शिक्षा र स्वास्थ्यको अधिकारजस्ता विषय पार्टीका प्राथमिक राजनीतिक मुद्दा बन्नुपर्छ। जनताको दुःख र संघर्षबाट अलग रहेको पार्टी नामले मात्र कम्युनिष्ट हुन सक्छ, व्यवहारले हुन सक्दैन।
यसका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी वैचारिक रूपमा स्पष्ट, राजनीतिक रूपमा हस्तक्षेपकारी, संगठनात्मक रूपमा अनुशासित र व्यवहारमा जनतासँग घनिष्ठ रूपमा जोडिएको हुनुपर्छ। पार्टीभित्र जनवादी केन्द्रीयता, आलोचना–आत्मालोचना, एकता–संघर्ष र क्रान्तिकारी रूपान्तरणको मान्यता स्थापित हुनुपर्छ। पार्टी कुनै व्यक्ति, गुट वा पदको संरक्षण गर्ने संस्था होइनस यो श्रमजीवी वर्गको राजनीतिक अग्रदस्ता हुनुपर्छ। नेता होइन, नीति प्रधान हुनुपर्छ। संगठनको शक्ति जनतासँगको सम्बन्ध, संघर्षप्रतिको प्रतिबद्धता र विचारप्रतिको निष्ठाबाट निर्माण हुनुपर्छ।जनमुक्ति सेना दिवसको अर्को महत्वपूर्ण पक्ष पूर्वजनमुक्ति सेनाका सदस्यहरूको वर्तमान अवस्था हो। जनयुद्धमा जीवनको महत्वपूर्ण समय खर्चेका, घाइते भएका, अपाङ्गता भोगेका, परिवार र सामाजिक जीवनमा ठूलो क्षति व्यहोरेका योद्धाहरूको उचित सम्मान, संरक्षण र न्यायको प्रश्न अझै सम्बोधन हुन बाँकी छ। राज्यले उनीहरूको योगदान र पीडालाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्छ। राजनीतिक दलहरूले पनि उनीहरूलाई विगतको संघर्षको स्मृतिमा सीमित गर्ने होइन, समाजको सम्मानित र सक्रिय सदस्यका रूपमा स्थापित गर्न आवश्यक वातावरण बनाउनुपर्छ।
पूर्वजनमुक्ति सेनाका योद्धाहरूको अनुभव, ज्ञान, त्याग र राजनीतिक चेतना नयाँ पुस्ताका लागि महत्वपूर्ण ऐतिहासिक सम्पत्ति हुन्। उनीहरूको सम्मान भाषण र औपचारिक कार्यक्रमबाट मात्र पूरा हुँदैन। उनीहरूको जीवनयापन, उपचार, सामाजिक सुरक्षा, पुनःस्थापना र सम्मानजनक जीवनको सुनिश्चितता पनि आवश्यक छ। उनीहरूले बोकेको परिवर्तनको आकाङ्क्षालाई वर्तमान पुस्तासम्म हस्तान्तरण गर्नु आजको राजनीतिक जिम्मेवारी हो।जनमुक्ति सेना दिवस मनाइरहँदा हामीले अर्को महत्वपूर्ण तथ्य पनि आत्मसात् गर्नुपर्छ,इतिहासको गौरवमा रमाएर वर्तमानको जिम्मेवारीबाट भाग्न मिल्दैन। विगतको संघर्षलाई आजको परिस्थितिमा जस्ताको तस्तै दोहोर्‍याउनु पनि सही होइन। इतिहासबाट शिक्षा लिँदै नयाँ परिस्थितिको वस्तुगत विश्लेषण गरेर राजनीतिक संघर्षका उपयुक्त रूप र कार्यदिशा निर्माण गर्नु नै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोण हो। क्रान्तिकारी हुनु भनेको विगतको घटनाको नक्कल गर्नु होइन, वर्तमानका अन्तर्विरोध पहिचान गरेर परिवर्तनको वैज्ञानिक बाटो निर्माण गर्नु हो।जनमुक्ति सेनाको इतिहासलाई सम्मान गर्ने हो भने त्यसले उठाएका वर्गीय मुक्ति, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र शोषणमुक्त समाज निर्माणका प्रश्नलाई आजको राजनीतिक कार्यभारसँग जोड्नुपर्छ। बलिदानको सम्मान संघर्षको निरन्तरतामा हुन्छ, इतिहासको सम्मान त्यसबाट सही शिक्षा ग्रहण गर्नमा हुन्छ र क्रान्तिको सम्मान जनताको वास्तविक मुक्ति प्राप्त गर्ने प्रतिबद्धतामा हुन्छ।
हामीले न त इतिहासलाई अतिरञ्जित गर्नु छ, न त त्यसलाई अवमूल्यन गरेर समाप्त भएको अध्यायका रूपमा बुझ्नु छ। जनयुद्धका उपलब्धिको रक्षा गर्दै त्यसका कमजोरी र सीमाहरूको निर्मम समीक्षा गर्नुपर्छ। शान्ति प्रक्रियाका उपलब्धिलाई संस्थागत गर्दै त्यसले अधुरै छाडेका वर्गीय तथा सामाजिक रूपान्तरणका कार्यभार पूरा गर्ने राजनीतिक संकल्प गर्नुपर्छ। यही नै आजको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको ऐतिहासिक जिम्मेवारी हो।
जनमुक्ति सेना दिवसले हामीलाई स्मरण गराउछ,राजनीतिक परिवर्तनको सपना देख्ने पुस्ताले ठूलो मूल्य चुकाएको थियो। उनीहरूको सपना र बलिदानलाई सत्ताको लेनदेन, पदको भागबन्डा र व्यक्तिगत स्वार्थको विषय बनाउनु इतिहासप्रतिको अन्याय हो। त्यसैले आजको आवश्यकता निराशा होइन, वैचारिक स्पष्टता होस आत्मसमर्पण होइन, क्रान्तिकारी प्रतिबद्धता होस व्यक्तिपूजा होइन, विचार र नीतिको प्रधानता होस जनताबाट अलग्गिनु होइन, जनतासँगको घनिष्ठ सम्बन्ध हो।सपना अधुरो रहनु र सपना त्याग्नु एउटै कुरा होइन। जनमुक्ति सेनाको इतिहास विगतको एउटा अध्याय अवश्य हो, तर त्यसले उठाएका मुक्ति, समानता, स्वाधीनता र सामाजिक रूपान्तरणका सवालहरू आज पनि जीवित छन्। ती सवालको समाधानका लागि वर्तमान परिस्थितिको सही विश्लेषण, वैचारिक स्पष्टता, क्रान्तिकारी संगठन र जनताको संगठित पहलकदमी आवश्यक छ। इतिहासले दिएको जिम्मेवारीबाट विमुख भएर भविष्य निर्माण गर्न सकिँदैन।
यस ऐतिहासिक सन्दर्भमा ,
 जनमुक्ति सेना दिवसको ऐतिहासिक योगदानप्रति- उच्च सम्मान गरौ। सम्पूर्ण शहीदहरूप्रति -भावपूर्ण श्रद्धाञ्जली अर्पण गरौ।घाइते, अपाङ्ग तथा सम्पूर्ण पूर्वजनमुक्ति सेनाका योद्धाहरूप्रति -उच्च सम्मान व्यक्त गरौ।
 राष्ट्रिय स्वाधीनता,जनताको मुक्ति र वैज्ञानिक समाजवाद निर्माणको लक्ष्यप्रति दृढ प्रतिबद्धता जाहेर गरौ।धन्यवाद 


२०८३ मंसिर १० १८:४० बजे

प्रतिक्रिया