कम्युनिष्ट पार्टीमा सामूहिक नेतृत्व, व्यक्तिगत उत्तरदायित्व र कार्यशैलीवारे

पार्टीभित्र देखिने एउटा गम्भीर समस्या पदमा सक्रिय तर जिम्मेवारीमा निष्क्रिय नेतृत्व हो। केही नेताहरू बैठकमा उपस्थित हुन्छन्, भाषण गर्छन्, निर्णयमा सहभागी हुन्छन् तर आफूलाई तोकिएको काममा सक्रिय हुँदैनन्

bimbonline लक्ष्मण उप्रेती
२०८३ कात्तिक २६ १९:३३ बजे
लक्ष्मण उप्रेती

कम्युनिष्ट पार्टीको जीवनमा सामुहिक नेतृत्व, त्यसको कार्यविभाजन, दायित्व र जिम्मेवारी अत्यन्त महत्त्वपूर्ण वैचारिक तथा सङ्गठनात्मक विषय हुन्। पार्टीको शक्ति त्यसको नेतृत्वमा रहेका व्यक्तिहरूको सङ्ख्या, पद वा प्रतिष्ठाबाट मात्र निर्धारित हुँदैन। नेतृत्वको वास्तविक शक्ति विचारको स्पष्टता, राजनीतिक दृष्टिकोण, सामूहिक निर्णय क्षमता, सङ्गठन सञ्चालनको दक्षता, कार्यान्वयन प्रतिको प्रतिबद्धता र जनतासँगको सम्बन्धबाट अभिव्यक्त हुन्छ। त्यसैले कम्युनिष्ट पार्टीमा नेतृत्वको प्रश्नलाई पद प्राप्ति वा पद धारणको विषयमा सीमित गर्नु हुँदैन। यो विचार, नीति, विधि, कार्यशैली र परिणामसँग जोडिएको जिम्मेवारीको प्रश्न हो।

सामुहिक नेतृत्वको अवधारणा र आवश्यकताःकम्युनिष्ट पार्टीमा सामुहिक नेतृत्व भन्नाले निश्चित तहमा रहेर पार्टीको राजनीतिक दिशा निर्धारण गर्ने, नीति तथा कार्यक्रम निर्माण गर्ने, सङ्गठन सञ्चालन गर्ने, निर्णय कार्यान्वयन गराउने र समग्र गतिविधिको अनुगमन तथा मूल्याङ्कन गर्ने सामूहिक नेतृत्व संरचनालाई बुझिन्छ।सामुहिक नेतृत्व  कुनै व्यक्तिको वरिपरि बनेको समूह होइन। यो पार्टीको नीति, विधान, राजनीतिक कार्यदिशा र सामूहिक निर्णयबाट निर्देशित संस्थागत संरचना हो। यसको मुख्य आधार जनवादी केन्द्रीयता हो। जनवादी केन्द्रीयताले विचारको स्वतन्त्र छलफल, आलोचना, फरक मतको अभिव्यक्ति र बहसलाई सुनिश्चित गर्दै सामूहिक निर्णयपछि एकीकृत कार्यान्वयनको अपेक्षा गर्छ।सामूहिक नेतृत्वको अर्थ सबैले सबै काम गर्ने वा कसैले पनि स्पष्ट जिम्मेवारी नलिने भन्ने होइन। सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी एकअर्काका परिपूरक हुन्। निर्णय सामूहिक हुनुपर्छ, तर त्यसको कार्यान्वयनका लागि जिम्मेवारी स्पष्ट रूपमा बाँडिएको हुनुपर्छ। यही सन्तुलनले नेतृत्वलाई प्रभावकारी बनाउँछ।

नेतृत्वमा नीति प्रधान कि व्यक्ति प्रधानःकम्युनिष्ट पार्टीको नेतृत्वमा नीति प्रधान हुनुपर्छ, व्यक्ति प्रधान होइन। व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ, तर व्यक्ति पार्टीको नीति, सिद्धान्त, विधि र सामूहिक निर्णयभन्दा माथि हुन सक्दैन।जब पार्टीमा व्यक्तिको विचार नै नीति बन्न थाल्छ, व्यक्तिको इच्छा नै निर्णयको आधार बन्न पुग्छ र व्यक्तिको निकटता नै जिम्मेवारी प्राप्त गर्ने योग्यता ठानिन्छ, तब संस्थागत नेतृत्व कमजोर हुँदै जान्छ। यसले क्रमशः व्यक्तिवाद, गुटवाद, चाकरी प्रवृत्ति र सङ्गठनात्मक अराजकतालाई जन्म दिन्छ।

त्यसको विपरीत, नीति र विधिमा आधारित नेतृत्वले व्यक्तिको क्षमता र योगदानलाई उचित स्थान दिन्छ। नेतृत्वमा आलोचना र आत्मालोचनाको संस्कृति स्थापित गर्छ। कुनै पनि नेताको निर्णय वा कार्यशैलीमाथि प्रश्न उठाउनु अनुशासनहीनता होइन, बरु पार्टीको हितमा गरिने वैचारिक हस्तक्षेप हुन सक्छ। तर आलोचना तथ्य, तर्क, नीति र सङ्गठनात्मक मर्यादामा आधारित हुनुपर्छ।नेतृत्वको वास्तविक उचाइ आफूभन्दा फरक विचार राख्ने कमरेडलाई कति सम्मान गर्न सकिन्छ, सामूहिक निर्णयमा कति इमानदार हुन सकिन्छ र आफ्नो कमजोरी स्वीकार गरेर सुधार गर्न कति तयार हुन सकिन्छ भन्ने कुराबाट मापन हुन्छ।

सामुहिक नेतृत्व भित्र दायित्व र जिम्मेवारीको स्पष्ट विभाजनःसामुहिक नेतृत्वको प्रभावकारिता त्यसमा रहेका सदस्यहरूको सङ्ख्याले होइन, कार्यविभाजनको स्पष्टता र जिम्मेवारी निर्वाहको परिणामले निर्धारण गर्छ। नेतृत्वका प्रत्येक सदस्यले आफ्नो पदअनुसारको अधिकार मात्र होइन, त्यससँग सम्बन्धित दायित्व र जवाफदेहितासमेत बुझ्नुपर्छ। सामुहिक नेतृत्वभित्र मुख्यतः निम्न जिम्मेवारीहरू स्पष्ट हुनुपर्छ।

क- राजनीतिक तथा वैचारिक जिम्मेवारीःपार्टीको राजनीतिक कार्यदिशा, रणनीति, कार्यनीति र कार्यक्रमको विकास गर्नु नेतृत्वको प्रमुख दायित्व हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन, वर्गीय सम्बन्धको विश्लेषण, समाजका अन्तर्विरोधहरूको पहिचान र तिनको उचित सञ्चालनमार्फत राजनीतिक हस्तक्षेपको दिशा तय गर्नुपर्छ।वैचारिक जिम्मेवारी पाएका नेताहरूले पार्टीभित्र नियमित वैचारिक प्रशिक्षण, अध्ययन, अनुसन्धान र बहसको वातावरण निर्माण गर्नुपर्छ। विचारको विकासबिना सङ्गठनको विकास सम्भव हुँदैन। वैचारिक स्पष्टताबिना राजनीतिक आन्दोलन सही दिशामा अघि बढ्न सक्दैन।

ख- सङ्गठनात्मक जिम्मेवारी-पार्टीको सदस्यता विस्तार, कमिटीहरूको गठन तथा पुनर्गठन, नियमित बैठक, कार्यविभाजन, सङ्गठनात्मक एकीकरण र अधीनस्थ कमिटीहरूको परिचालन सङ्गठनात्मक नेतृत्वका मुख्य काम हुन्।सङ्गठन विभागको जिम्मेवारी सदस्य सङ्ख्या बढाउने वा कमिटीको सूची तयार गर्ने काममा मात्र सीमित हुनु हुँदैन। प्रत्येक कमिटीको क्रियाशीलता, सदस्यहरूको वैचारिक स्तर, कार्यक्षमता, अनुशासन र जनसम्बन्धको मूल्याङ्कन गर्नुपर्छ।कागजमा पूर्ण देखिने तर व्यवहारमा निष्क्रिय सङ्गठनले पार्टीको शक्ति निर्माण गर्न सक्दैन। कमिटीको अस्तित्व र कमिटीको क्रियाशीलता फरक कुरा हुन्।

ग- जनवर्गीय तथा मोर्चा सङ्गठनको जिम्मेवारीःकिसान, मजदुर, विद्यार्थी, युवा, महिला, बुद्धिजीवी तथा विभिन्न उत्पीडित समुदायका बीच पार्टीको राजनीतिक सम्बन्ध विस्तार गर्नु नेतृत्वको महत्त्वपूर्ण दायित्व हो।जनवर्गीय सङ्गठनहरू पार्टीका निर्णय सुनाउने माध्यम मात्र होइनन्। ती सम्बन्धित वर्ग तथा समुदायका वास्तविक समस्या, आवश्यकता र आकाङ्क्षालाई सङ्गठित गर्ने, आन्दोलन उठाउने र राजनीतिक चेतना विकास गर्ने माध्यम हुन्।जनवर्गीय सङ्गठनलाई पार्टीको मातहतको औपचारिक संरचनाका रूपमा मात्र हेर्नु हुँदैन। तिनको आफ्नै कार्यक्षेत्र, नेतृत्व क्षमता, जनसम्बन्ध र आन्दोलन सञ्चालन गर्ने पहिचान हुनुपर्छ। पार्टीले राजनीतिक दिशा र आवश्यक समन्वय प्रदान गर्नुपर्छ।

घ- प्रचार, प्रकाशन तथा सञ्चारको जिम्मेवारीःपार्टीका विचार, निर्णय, कार्यक्रम र राजनीतिक दृष्टिकोण जनतासम्म पुर्‍याउने जिम्मेवारी प्रचार तथा प्रकाशन विभागको हो। यसले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने, वैचारिक सामग्री उत्पादन गर्ने, सञ्चार माध्यमसँग सम्बन्ध स्थापित गर्ने र समसामयिक राजनीतिक घटनाक्रममा पार्टीको दृष्टिकोण प्रस्तुत गर्ने काम गर्नुपर्छ।प्रचारको अर्थ विज्ञप्ति निकाल्नु र सामाजिक सञ्जालमा सामग्री राख्नु मात्र होइन। जनताले बुझ्ने भाषामा राजनीतिक विचार प्रस्तुत गर्नु, जनमत निर्माण गर्नु र पार्टीको विचारलाई व्यवहारसँग जोड्नु यसको मूल उद्देश्य हो।

ङ-आर्थिक तथा व्यवस्थापकीय जिम्मेवारीःपार्टी सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको पारदर्शी व्यवस्थापन, नियमित लेखापरीक्षण, आयव्ययको अभिलेख र स्रोत परिचालनको जिम्मेवारी पनि नेतृत्वकै हो।आर्थिक अनुशासनबिना राजनीतिक तथा सङ्गठनात्मक अनुशासन पूर्ण हुन सक्दैन। पार्टीको आर्थिक स्रोत व्यक्तिगत स्वार्थ, अपारदर्शिता वा अनियमितताको माध्यम बन्न दिनु हुँदैन।

च-अनुगमन, मूल्याङ्कन तथा समन्वयको जिम्मेवारीःनेतृत्वको अर्को महत्त्वपूर्ण काम निर्णय कार्यान्वयनको अवस्था बुझ्नु, अधीनस्थ कमिटीहरूको गतिविधि अनुगमन गर्नु, समस्या पहिचान गर्नु र आवश्यक निर्देशन तथा सहयोग प्रदान गर्नु हो।बैठकमा निर्णय गर्ने तर त्यसको कार्यान्वयनबारे जानकारी नलिने नेतृत्व प्रभावकारी हुन सक्दैन। निर्णयको कार्यान्वयन, उपलब्धि, कमजोरी र बाधाबारे नियमित समीक्षा हुनुपर्छ।

पदाधिकारी र नेतृत्व सदस्यहरूको भूमिकाःपार्टीमा अध्यक्ष, संयोजक, महासचिव, सचिव, सचिवालय सदस्य, विभागीय प्रमुख तथा अन्य केन्द्रीय सदस्यहरूको जिम्मेवारी फरक–फरक हुन सक्छ। तर पदको भिन्नताले पार्टीप्रतिको राजनीतिक दायित्व र सामूहिक उत्तरदायित्वलाई समाप्त गर्दैन।अध्यक्ष वा संयोजकले नेतृत्व टोलीको सामूहिक कार्यदिशा र निर्णय प्रक्रियालाई व्यवस्थित गर्नुपर्छ। महासचिव वा संगठनात्मक कार्यकारी जिम्मेवारीमा रहेका नेताले निर्णय कार्यान्वयन, कमिटी सञ्चालन र समग्र सङ्गठनात्मक गतिशीलतामा विशेष भूमिका निर्वाह गर्नुपर्छ।सचिवालय सदस्यहरूले आफूलाई सुम्पिएको क्षेत्र, विभाग वा राजनीतिक कार्यभारमा सक्रिय भूमिका खेल्नुपर्छ। केन्द्रीय सदस्यहरू केन्द्रीय समितिको बैठकमा उपस्थित हुने प्रतिनिधि मात्र होइनन्। उनीहरू पार्टीका नीति तथा निर्णयलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा कार्यान्वयन गराउने राजनीतिक प्रतिनिधि हुन्।यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ  कुनै नेता केन्द्रीय समितिमा निर्वाचित वा मनोनीत भएपछि उसको जिम्मेवारी केन्द्रीय बैठकमा सहभागी हुने र निर्णयमा हस्ताक्षर गर्नेमा मात्र सीमित हुन्छ कि पार्टीको राजनीतिक तथा सङ्गठनात्मक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने पनि हुन्छ?निश्चय नै दोस्रो कुरा सही हो। पद प्राप्त गर्नु जिम्मेवारीको सुरुवात हो, उपलब्धिको प्रमाण होइन।

 सामूहिक नेतृत्व र व्यक्तिगत जवाफदेहिताःकम्युनिष्ट पार्टीमा सामूहिक नेतृत्वको सिद्धान्तलाई व्यवहारमा लागू गर्दा एउटा सामान्य कमजोरी देखिन्छ। निर्णय गर्दा सबै सहभागी हुने तर कार्यान्वयनमा कसैको निश्चित जिम्मेवारी नहुने। असफलता हुँदा सामूहिक निर्णयको नाममा जिम्मेवारी पन्छाउने र सफलता प्राप्त हुँदा व्यक्तिगत श्रेय लिन खोज्ने प्रवृत्ति पनि देखिन्छ।यस्तो कार्यशैलीले सामूहिक नेतृत्वको मर्मलाई कमजोर बनाउँछ।सामूहिक नेतृत्वको अर्थ जिम्मेवारीविहीन सामूहिकता होइन। प्रत्येक निर्णयसँग कार्यान्वयनको जिम्मेवारी, समयसीमा र मूल्याङ्कनको आधार जोडिनुपर्छ।उदाहरणका लागि, कुनै बैठकले तीन महिनाभित्र जिल्ला कमिटीहरू सक्रिय बनाउने निर्णय गर्छ भने त्यसको संयोजन गर्ने जिम्मेवार नेता, सहयोग गर्ने विभाग, सम्बन्धित प्रदेश तथा जिल्ला कमिटी र मूल्याङ्कन गर्ने निकाय स्पष्ट हुनुपर्छ। तीन महिनापछि निर्णयको प्रगति समीक्षा हुनुपर्छ। काम नभएको अवस्थामा कारण खोजिनुपर्छ र आवश्यक सुधार गर्नुपर्छ।यसरी सामूहिक निर्णयलाई व्यक्तिगत जवाफदेहितासँग जोड्न सकियो भने मात्र नेतृत्व संस्थागत र परिणाममुखी बन्न सक्छ।

नेतृत्वमा आलोचना, आत्मालोचना र रूपान्तरणःकम्युनिष्ट पार्टीको नेतृत्व स्थिर र अपरिवर्तनीय संरचना होइन। समय, परिस्थिति, वर्गीय सम्बन्ध र राजनीतिक आवश्यकताअनुसार नेतृत्वको सोच, क्षमता, कार्यशैली र संरचनामा विकास हुनुपर्छ।यसका लागि आलोचना र आत्मालोचनाको पद्धति अत्यन्त आवश्यक छ। आलोचना अरूको कमजोरी देखाउने माध्यम मात्र होइन, सामूहिक कमजोरी सच्याउने प्रक्रिया हो। आत्मालोचना आफ्नो गल्ती स्वीकार गर्ने औपचारिक अभिव्यक्ति मात्र होइन, व्यवहारमा सुधार ल्याउने प्रतिबद्धता पनि हो।नेतृत्वमा रहेका व्यक्तिहरूले आफ्नो निर्णयको समीक्षा गर्न, गलत निष्कर्ष सच्याउन, फरक मतलाई सुन्न र आवश्यकताअनुसार आफ्नो कार्यशैली बदल्न सक्नुपर्छ।तर आत्मालोचना भाषण र दस्तावेजमा सीमित हुने, व्यवहारमा पुरानै कमजोरी दोहोरिने अवस्था रह्यो भने त्यसले कुनै रूपान्तरण ल्याउँदैन। आलोचना–आत्मालोचनाको वास्तविक सार व्यवहारको सुधार र सामूहिक क्षमताको विकास हो।

 नेतृत्व निर्माण र उत्तराधिकारी विकासःकम्युनिष्ट पार्टीको अर्को गम्भीर प्रश्न नेतृत्व निर्माण हो। नेतृत्व भनेको केही व्यक्तिले लामो समयसम्म पद ओगटिरहने व्यवस्था होइन। नयाँ नेतृत्व विकास गर्ने, युवा तथा नयाँ पुस्तालाई राजनीतिक जिम्मेवारी दिने, अनुभव हस्तान्तरण गर्ने र नेतृत्व क्षमताको विस्तार गर्ने निरन्तर प्रक्रिया हो।नेतृत्व निर्माणका लागि वैचारिक अध्ययन, राजनीतिक प्रशिक्षण, जनताका बीचको काम, आन्दोलनको अनुभव, सङ्गठनात्मक अभ्यास र जिम्मेवारी निर्वाहको अवसर आवश्यक हुन्छ।नयाँ नेतृत्वलाई जिम्मेवारी नदिने, निर्णय प्रक्रियामा सहभागी नगराउने र पुरानै व्यक्तिहरूमा सम्पूर्ण अधिकार केन्द्रित गर्ने प्रवृत्तिले पार्टीको भविष्य कमजोर बनाउँछ।त्यसैगरी अनुभव र योगदानको अवमूल्यन गरेर नयाँ पुस्तालाई अगाडि ल्याउने नाममा मनोगत निर्णय गर्नु पनि उचित हुँदैन। पुस्तान्तरण अनुभव र नवीनताको संयोजनबाट हुनुपर्छ।

 निष्क्रिय नेतृत्व र सङ्गठनात्मक जडताको समस्याःपार्टीभित्र देखिने एउटा गम्भीर समस्या पदमा सक्रिय तर जिम्मेवारीमा निष्क्रिय नेतृत्व हो। केही नेताहरू बैठकमा उपस्थित हुन्छन्, भाषण गर्छन्, निर्णयमा सहभागी हुन्छन् तर आफूलाई तोकिएको काममा सक्रिय हुँदैनन्। कतिपय अवस्थामा लामो समयसम्म बैठक बस्दैन, विभागहरू क्रियाशील हुँदैनन्, जनवर्गीय सङ्गठनहरू निष्क्रिय रहन्छन् र पार्टीका निर्णय कार्यान्वयन हुँदैनन्।यस्तो अवस्थामा नेतृत्वको अस्तित्व कागजमा रहन्छ, तर राजनीतिक प्रभाव व्यवहारमा कमजोर हुँदै जान्छ।

यसका केही प्रमुख कारण छनः जिम्मेवारी र अधिकारको स्पष्ट विभाजन नहुनु। पदलाई प्रतिष्ठाको विषय ठान्नु, कार्यभारको विषय नठान्नु। नेतृत्वमा व्यक्तिगत स्वार्थ र गुटगत सोच हाबी हुनु। नियमित बैठक, समीक्षा र मूल्याङ्कनको अभाव हुनु। निर्णय कार्यान्वयन नगर्दा जवाफदेही बनाउन नसक्नु। नयाँ नेतृत्व विकास र जिम्मेवारी हस्तान्तरणमा उदासीनता देखिनु। जनतासँगको सम्बन्ध कमजोर हुनु र पार्टीको गतिविधि औपचारिकतामा सीमित हुनु।यी कमजोरीलाई व्यक्तिविशेषको आलोचनामा मात्र सीमित गर्नु पर्याप्त हुँदैन। यसको संस्थागत र वैचारिक कारण पहिचान गरेर समाधान खोज्नुपर्छ।

 प्रभावकारी नेतृत्वका लागि आवश्यक कार्यपद्धतिःकम्युनिष्ट पार्टीको नेतृत्वलाई प्रभावकारी बनाउन केही आधारभूत पद्धति स्थापित गर्न आवश्यक छ।पहिलो, प्रत्येक नेतृत्व तहमा स्पष्ट कार्यविभाजन हुनुपर्छ। कुन नेताले कुन क्षेत्र, विभाग वा कार्यभार सम्हाल्ने भन्ने कुरा लिखित रूपमा निर्धारण गर्नुपर्छ।दोस्रो, नियमित बैठक र समीक्षा अनिवार्य हुनुपर्छ। बैठकको उद्देश्य निर्णय गर्नु मात्र नभई अघिल्लो निर्णयको कार्यान्वयन समीक्षा गर्नु पनि हुनुपर्छ।तेस्रो, प्रत्येक जिम्मेवारीको निश्चित कार्ययोजना र समयसीमा हुनुपर्छ। कामको परिणामलाई मापन गर्ने आधार तयार गर्नुपर्छ।चौथो, नेतृत्वको मूल्याङ्कन पद, निकटता र व्यक्तिगत सम्बन्धका आधारमा होइन, वैचारिक क्षमता, कार्यसम्पादन, इमानदारी, जनसम्बन्ध र जिम्मेवारी निर्वाहका आधारमा गर्नुपर्छ।पाँचौँ, अधिकारको प्रयोगसँगै जवाफदेहिताको व्यवस्था हुनुपर्छ। जिम्मेवारी पूरा गर्न नसक्ने वा निरन्तर निष्क्रिय रहने नेतृत्वलाई आवश्यकताअनुसार सचेत गराउने, जिम्मेवारी पुनर्विभाजन गर्ने वा नेतृत्व संरचनामा सुधार गर्ने विधि अपनाउनुपर्छ।छैटौँ, पार्टीभित्र फरक मत, स्वस्थ बहस र आलोचनाको वातावरण सुरक्षित हुनुपर्छ। अनुशासनको नाममा विचारमाथि नियन्त्रण गर्ने र स्वतन्त्र छलफललाई निरुत्साहित गर्ने प्रवृत्तिले पार्टीलाई वैचारिक रूपमा कमजोर बनाउँछ।

नेतृत्वको सफलता कसरी मापन गर्नेःकम्युनिष्ट पार्टीमा नेतृत्वको सफलता पदको अवधि, बैठकको सङ्ख्या वा सार्वजनिक भाषणको प्रभावबाट मात्र मापन गर्न सकिँदैन। त्यसको मूल्याङ्कन वास्तविक राजनीतिक तथा सङ्गठनात्मक उपलब्धिबाट गर्नुपर्छ।नेतृत्वको मूल्याङ्कन गर्दा निम्न प्रश्नहरू महत्त्वपूर्ण हुन्छनःके नेतृत्वले पार्टीको वैचारिक तथा राजनीतिक दिशा स्पष्ट बनाउन सकेको छ? के सङ्गठनका सबै तहलाई क्रियाशील बनाउन सकेको छ?के पार्टीका निर्णयहरू व्यवहारमा कार्यान्वयन भएका छन्र?के जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध स्थापित भएको छ? के जनवर्गीय सङ्गठनहरू आफ्ना वर्गीय मुद्दामा सङ्घर्षशील छन्र? के नेतृत्वले नयाँ नेता तथा कार्यकर्ता उत्पादन गर्न सकेको छ?के पार्टीभित्र सामूहिकता, अनुशासन र आलोचना–आत्मालोचनाको संस्कृति विकास भएको छ? के नेतृत्वले आफ्ना कमजोरी स्वीकार गरेर सुधार गर्न सकेको छ?यी प्रश्नको उत्तरबाट नेतृत्वको वास्तविक कार्यक्षमता र राजनीतिक योगदान पहिचान गर्न सकिन्छ।

निष्कर्ष ; पद होइन, जिम्मेवारी व्यक्ति होइन, नीति औपचारिकता होइन, परिणाम

कम्युनिष्ट पार्टीको नेतृत्व कुनै प्रशासनिक पद बाँडफाँटको संरचना मात्र होइन। यो विचारलाई व्यवहारमा रूपान्तरण गर्ने, पार्टीलाई जनतासँग जोड्ने, सङ्गठनलाई गतिशील बनाउने र राजनीतिक परिवर्तनको दिशामा अघि बढाउने सामूहिक जिम्मेवारी हो।सामुहिक नेतृत्वका प्रत्येक सदस्यले आफ्नो दायित्व स्पष्ट रूपमा बुझ्नुपर्छ। सामूहिक निर्णयमा सहभागी हुने, व्यक्तिगत जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने र त्यसको परिणामप्रति जवाफदेही हुने राजनीतिक संस्कार विकास गर्नुपर्छ।पार्टीमा पदाधिकारी धेरै भएर मात्र नेतृत्व बलियो हुँदैन। सबै पदाधिकारी र सदस्यहरू सक्रिय, जिम्मेवार र उत्तरदायी भए मात्र नेतृत्व बलियो हुन्छ। नेतृत्वको काम अरूलाई निर्देशन दिनु मात्र होइन, आफैँ उदाहरण प्रस्तुत गर्नु पनि हो। नेतृत्वको उचाइ अधिकार प्रयोग गर्ने क्षमताले मात्र होइन, जिम्मेवारी वहन गर्ने इमानदारीले निर्धारण गर्छ।

अन्ततः कम्युनिष्ट पार्टीले स्थापित गर्नुपर्ने नेतृत्व संस्कृति यस्तो हुनुपर्छ, जहाँ नीति व्यक्तिभन्दा माथि होस्, सामूहिक निर्णय व्यक्तिगत स्वार्थभन्दा माथि होस्, जिम्मेवारी पदको प्रतिष्ठाभन्दा महत्त्वपूर्ण होस् र जनताको हित नेतृत्वको व्यक्तिगत महत्त्वाकाङ्क्षाभन्दा सर्वोपरि होस्।नेतृत्व पद प्राप्त गर्ने प्रतिस्पर्धा होइन, जिम्मेवारी वहन गर्ने प्रतिबद्धता हो। सामूहिक नेतृत्वको अर्थ सबैको सहभागिता र व्यक्तिगत जवाफदेहिताको अर्थ प्रत्येकको सक्रियता हो। जब यी दुई पक्षबीच उचित एकता स्थापित हुन्छ, तब मात्र कम्युनिष्ट पार्टीको नेतृत्व वास्तविक अर्थमा क्रान्तिकारी, संस्थागत, गतिशील र जनउत्तरदायी बन्न सक्छ। 


२०८३ कात्तिक २६ १९:३३ बजे

प्रतिक्रिया