प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले उठाएका गम्भीर प्रश्नहरू
कुनै राष्ट्रको भूमि, प्राकृतिक स्रोत, सुरक्षा र कूटनीतिक निर्णयमाथि बाह्य शक्तिको प्रभाव बढ्दै जानु त्यस राष्ट्रको स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न उठ्नु हो।
राष्ट्रको स्वतन्त्रता भूगोलको सीमारेखामा मात्र सीमित हुँदैन। यो राष्ट्रिय स्वाभिमान, सार्वभौमिक अधिकार, राजनीतिक निर्णय क्षमता र आफ्नो भविष्य आफैँ निर्धारण गर्न पाउने जनताको ऐतिहासिक अधिकारसँग जोडिएको हुन्छ। कुनै राष्ट्रको भूमि, प्राकृतिक स्रोत, सुरक्षा र कूटनीतिक निर्णयमाथि बाह्य शक्तिको प्रभाव बढ्दै जानु त्यस राष्ट्रको स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न उठ्नु हो। त्यसैले छिमेकीसँगको सम्बन्धको मूल्याङ्कन गर्दा भ्रमण, भेटघाट, आतिथ्य र सम्झौताका चाङ्हरु होइन, राष्ट्रिय हितको संरक्षण र पारस्परिक सम्मानको अवस्था मुख्य मापदण्ड बन्नुपर्छ।
यही सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई सामान्य कूटनीतिक आवतजावतका रूपमा मात्र हेर्न सकिँदैन। यस भ्रमणले नेपाल–भारत सम्बन्धका पुराना प्रश्नलाई फेरि सतहमा ल्याएको छ। केही आर्थिक तथा प्राविधिक सहमति भएका छन्, विकास सहयोगका प्रतिबद्धता व्यक्त भएका छन् र हवाई सम्पर्क विस्तार भएका विषयहरु आएका छन।तर यी बिषयहरुसंगै एउटा गम्भीर प्रश्न यथावत् छ,नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका विवादमा नेपालले आफ्नो स्पष्ट अडान किन स्थापित गर्न सकेन?कूटनीतिक सम्बन्धमा उपलब्धि र कमजोरी दुवैको लेखाजोखा हुनुपर्छ। आर्थिक सहयोग प्राप्त हुनु एउटा पक्ष हो, राष्ट्रिय अधिकारको संरक्षण अर्को पक्ष। यी दुईलाई एउटै तराजुमा राखेर राष्ट्रिय हितको प्रश्नलाई गौण बनाउन मिल्दैन।
राष्ट्रिय भूगोलमाथिको प्रश्न र प्रधानमन्त्रीको मौनता
नेपालको पश्चिमोत्तर सीमासँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुरा विवादित भूभागका नाम होइनन्। ती नेपालको ऐतिहासिक सीमा, राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतासँग गाँसिएका संवेदनशील विषय हुन्। सन् १८१६ को सुगौली सन्धि, महाकाली नदीको उद्गमसम्बन्धी ऐतिहासिक प्रमाण, नक्सा, अभिलेख र अन्य दस्तावेजका आधारमा नेपालले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। यी विषयमा भारतसँग नेपालको गम्भीर मतभेद रहँदै आएको छ।
यस्तो संवेदनशील विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणमा किन प्राथमिकताका साथ उठाइएन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। भारतको आधिकारिक भ्रमण वक्तव्यमा सीमासम्बन्धी बाँकी विषयलाई परराष्ट्र सचिवहरूले अगाडि बढाउने सामान्य प्रतिबद्धता उल्लेख छ। तर कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद समाधानका लागि कुनै नयाँ राजनीतिक सहमति वा ठोस समयसीमा सार्वजनिक भएको देखिँदैन। भ्रमणका क्रममा यी विषयमा छलफल नभएको भारतीय पक्षको सार्वजनिक भनाइले पनि प्रश्नलाई थप गम्भीर बनाएको छ।यसलाई नेपालको भूमि औपचारिक रूपमा भारतलाई हस्तान्तरण गरिएको निष्कर्षका रूपमा प्रस्तुत गर्नु तथ्यसम्मत हुँदैन। तर नेपालको स्थापित दाबीलाई उच्चस्तरीय द्विपक्षीय संवादमा प्रभावकारी रूपमा नउठाउनु र त्यसबारे जनतालाई स्पष्ट जानकारी नदिनु गम्भीर कूटनीतिक कमजोरीको विषय हो।राज्यको सार्वभौमिकता कुनै शासकको व्यक्तिगत रुचि वा सुविधाको विषय होइन। सरकार परिवर्तन हुन सक्छ, नेतृत्व परिवर्तन हुन सक्छ, तर राष्ट्रिय सीमासम्बन्धी दाबी र अधिकार क्षणिक राजनीतिक आवश्यकताअनुसार बदलिन सक्दैनन्। त्यसैले प्रधानमन्त्रीको मौनताको कारण, भ्रमणको पूर्वतयारी र सीमासम्बन्धी विषयलाई औपचारिक वार्ताको कार्यसूचीबाट बाहिर राखिएको हो भने त्यसको आधार जनतासमक्ष स्पष्ट हुनुपर्छ।
राष्ट्रवादको अभिव्यक्ति र सत्ताको व्यवहारबीचको दूरी
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा राष्ट्रिय अखण्डताको नक्सा आफ्नो कार्यकक्षमा राख्ने र लिपुलेक नेपालको भूमि भएको विषयमा सार्वजनिक रूपमा आवाज उठाउने व्यक्तिका रूपमा परिचित थिए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा लिपुलेक नेपालको भूभाग भएको विषय उठाउन आग्रहसमेत गरेका थिए। त्यसबेला उनको अभिव्यक्तिले राष्ट्रिय सीमासम्बन्धी प्रश्नमा राजनीतिक नेतृत्वको जिम्मेवारीबारे सार्वजनिक बहस सिर्जना गरेको थियो।तर अहिले प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गर्दा त्यही विषयले उच्चस्तरीय वार्तामा अपेक्षित स्थान नपाउनु राजनीतिक व्यवहार र विगतको सार्वजनिक अभिव्यक्तिबीचको अन्तर हो। यो अन्तरलाई सामान्य संयोग भनेर पन्छाउन मिल्दैन।राजनीतिमा व्यक्तिको मूल्याङ्कन उसले विगतमा के बोलेको थियो भन्ने आधारमा मात्र हुँदैन उसले अधिकार र जिम्मेवारी प्राप्त गरेपछि के गर्यो भन्ने आधारमा पनि हुन्छ। नाराले राष्ट्रको रक्षा गर्दैन, नक्सा प्रदर्शनले मात्रै सीमा सुरक्षित हुँदैन। राष्ट्रिय हितको रक्षा गर्न आवश्यक पर्दा कूटनीतिक दृढता, ऐतिहासिक तथ्य, कानुनी आधार र राजनीतिक साहस चाहिन्छ।कुनै पनि नेताको राष्ट्रवाद भाषणमा कति तीव्र छ भन्नेभन्दा पनि राष्ट्रिय हितमा कति निरन्तर र जिम्मेवार छ भन्ने कुराले प्रमाणित हुन्छ। सत्तामा पुगेपछि अघिल्ला अडानहरू किन कमजोर भएरु त्यसको उत्तर प्रधानमन्त्रीले दिनुपर्छ।
प्रबुद्ध समूहको प्रतिवेदन
नेपाल–भारत सम्बन्धमा लामो समयदेखि उठ्दै आएको अर्को महत्त्वपूर्ण विषय प्रबुद्ध व्यक्ति समूह अर्थात् ईपीजीको प्रतिवेदन हो। दुवै देशका विज्ञ सम्मिलित समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित द्विपक्षीय सम्बन्धका विभिन्न पक्षको अध्ययन गरी सुधार र पुनरावलोकनका सुझाव तयार गरेको थियो।यस प्रतिवेदनको महत्त्व एउटा पुरानो सन्धि संशोधन गर्ने विषयमा मात्र सीमित छैन। यसले दुई देशबीचको सम्बन्धलाई समानता, पारस्परिक सम्मान, सार्वभौमिकता र बदलिएको समयको आवश्यकताअनुसार पुनर्संरचना गर्ने सवाल उठाउँछ।तर प्रतिवेदन तयार भएको लामो समय बितिसक्दा पनि त्यसलाई दुवै देशका सरकार प्रमुखको तहबाट स्वीकार गरी कार्यान्वयनको प्रक्रियामा लैजान सकिएको छैन। प्रधानमन्त्रीको भारत भ्रमणमा पनि यसबारे कुनै ठोस प्रगति सार्वजनिक भएन।कुनै पनि स्वतन्त्र राष्ट्रले आफ्नो ऐतिहासिक असमानता र असन्तुलनलाई सधैँ बोकेर हिँड्न सक्दैन। मित्रता समानतामा टिक्छ, अधीनस्थतामा होइन। दुई देशबीचको सम्बन्ध जति पुरानो भए पनि त्यसको पुनरावलोकन र सुधारको आवश्यकता समाप्त हुँदैन। त्यसैले ईपीजी प्रतिवेदनलाई बेवास्ता गर्नु नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको प्रश्नलाई अनिर्णयमा राखिरहनु हो।
हवाई मार्ग सहमतिवारे
नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा भारतको आकाश प्रयोग गर्न पाउने विषय लामो समयदेखि महत्त्वपूर्ण अवरोधका रूपमा रहेको छ। विशेषतः पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि थप हवाई प्रवेश मार्ग आवश्यक छ।प्रधानमन्त्रीको भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई एकतर्फीबाट दुवैतर्फी बनाउने समझदारी भएको छ। यसलाई नेपालको हवाई यातायात, पर्यटन र क्षेत्रीय सम्पर्कका दृष्टिले सकारात्मक उपलब्धि मान्न सकिन्छ।तर यहाँ इतिहासबाट शिक्षा लिन आवश्यक छ। विगतमा पनि नेपालले थप हवाई मार्गको माग गर्दा विभिन्न चरणमा सहमति र आश्वासन प्राप्त गरेको थियो। तर तीमध्ये कतिपय प्रतिबद्धता कार्यान्वयनमा जान सकेनन्। त्यसैले यसपटकको समझदारी पनि प्राविधिक छलफल र प्रक्रियाको नाममा अनिश्चितकालसम्म अल्झिने त होइन भन्ने प्रश्न उठ्छ।पोखराका लागि अपेक्षित हवाई प्रवेश मार्गको विषयमा ठोस सहमति नहुनु पनि ध्यान दिनुपर्ने पक्ष हो। कुनै पनि विकास परियोजना निर्माण सम्पन्न गरेर मात्र सफल हुँदैन। त्यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक बाह्य सम्पर्क, बजार, यातायात र प्राविधिक सुविधा पनि सुनिश्चित हुनुपर्छ।हामीले एउटा आधारभूत कुरा बुझ्नुपर्छ,अन्तर्राष्ट्रिय सम्बन्धमा सहमति आफैँ उपलब्धि होइन, सहमतिको कार्यान्वयन नै वास्तविक उपलब्धि हो।
दुई छिमेकी र नेपालको स्वतन्त्र परराष्ट्र नीति
नेपालको भूराजनीतिक अवस्थिति विशिष्ट छ। एकातिर चीन र अर्कोतिर भारत रहेका छन्। यी दुवै राष्ट्रसँग नेपालको ऐतिहासिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्ध छ। नेपालको राष्ट्रिय हितले दुवै छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न, पारस्परिक सहयोग विस्तार गर्न र कुनै पनि बाह्य शक्तिको रणनीतिक प्रतिस्पर्धाको साधन नबन्न माग गर्छ।तटस्थता भनेको सबै विषयमा मौन बस्नु होइन। यसको अर्थ आफ्नो राष्ट्रिय हित र सार्वभौमिक निर्णय क्षमताका आधारमा स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्नु हो। कुनै एउटा शक्तिसँगको निकटता अर्को शक्तिप्रतिको शत्रुतामा परिणत हुनु हुँदैन। त्यस्तै, सहयोग प्राप्त गर्ने नाममा आफ्नो राष्ट्रिय निर्णय क्षमता कमजोर बनाउनु पनि हुँदैन।भारतको सुरक्षा परिषद्मा स्थायी सदस्यता र भिटो अधिकारसहितको स्थानसम्बन्धी प्रस्तावप्रति प्रधानमन्त्रीले समर्थन व्यक्त गरेको विषयलाई पनि यही दृष्टिकोणबाट हेर्नुपर्छ। अन्तर्राष्ट्रिय संस्थाहरूको सुधार र प्रतिनिधित्व विस्तारबारे नेपालले स्वतन्त्र धारणा राख्न सक्छ। तर नेपालको समर्थन कुनै एउटा राष्ट्रसँगको सम्बन्धको निकटताबाट निर्देशित नभई विश्व शान्ति, बहुपक्षीयता, समान प्रतिनिधित्व र नेपालको राष्ट्रिय हितको वस्तुगत विश्लेषणमा आधारित हुनुपर्छ।नेपालले आफ्नो विदेश नीति कुनै छिमेकीको प्रशंसा वा अर्को छिमेकीको आलोचनामा सीमित गर्नु हुँदैन। हाम्रो नीति नेपालको सार्वभौमिकता, स्वतन्त्रता, आर्थिक समृद्धि र राष्ट्रिय सुरक्षाको आधारमा तय हुनुपर्छ।
विकास सहयोग र राष्ट्रिय स्वाधीनताको सवाल
भारतले भूकम्प, बाढीपहिरो तथा अन्य विपत्तिका बेला नेपाललाई सहयोग गर्दै आएको छ। यसपटक पनि भोटेकोशी क्षेत्रलगायत विपद्पीडित जनताको पुनर्निर्माण र विभिन्न विकास परियोजनाका लागि अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोगको प्रतिबद्धता व्यक्त भएको छ। यस्तो सहयोगलाई सकारात्मक रूपमा लिनुपर्छ।तर विकास सहयोगको वास्तविक मूल्य त्यसले राष्ट्रिय अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, उत्पादन क्षमता कति बढाउँछ, रोजगारी कति सिर्जना गर्छ र दीर्घकालीन आर्थिक आत्मनिर्भरतालाई कति बलियो बनाउँछ भन्ने आधारमा मापन हुनुपर्छ।ऋण र अनुदानबीचको अन्तर बुझ्नुपर्छ। ऋणको उपयोग, सर्त, ब्याज, भुक्तानी क्षमता र परियोजनाको प्रतिफलको गम्भीर अध्ययन हुनुपर्छ। विकासको नाममा आर्थिक निर्भरता बढ्दै जाने अवस्था आउनु हुँदैन। कुनै पनि सहायता राष्ट्रिय प्राथमिकता र जनताको आवश्यकताअनुसार हुनुपर्छ।सहयोग गर्ने मित्र राष्ट्रको सम्मान गर्नुपर्छ, तर राष्ट्रिय हितको मूल्य चुकाएर सहयोग स्वीकार गर्नु हुँदैन। मित्रता र आत्मसमर्पण एउटै कुरा होइनन्। आर्थिक सहकार्य र राजनीतिक अधीनस्थता पनि एउटै कुरा होइनन्।नेपालले सबै मित्र राष्ट्रसँग सहयोग लिनुपर्छ, तर आफ्नो निर्णय आफैँ गर्ने सामर्थ्य पनि विकास गर्नुपर्छ। उत्पादन, कृषि, उद्योग, ऊर्जा, पर्यटन, प्रविधि र मानवीय क्षमताको विकासबिना आर्थिक स्वतन्त्रता सम्भव हुँदैन।
शक्तिको पूजा होइन, राष्ट्रिय हितको रक्षाको सवाल
अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रहरूबीचको सम्बन्ध भावनाले मात्र सञ्चालन हुँदैन। त्यहाँ शक्ति, स्वार्थ, अर्थतन्त्र, भूगोल र रणनीतिक आवश्यकताले महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैले साना राष्ट्रले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न भावनात्मक नाराभन्दा बढी अध्ययन, तयारी, संस्थागत क्षमता र स्पष्ट राष्ट्रिय दृष्टिकोण आवश्यक हुन्छ।नेपालले आफ्नो भौगोलिक अवस्थालाई कमजोरीका रूपमा होइन, कूटनीतिक सम्भावनाका रूपमा उपयोग गर्न सक्नुपर्छ। भारत र चीनबीचको भौगोलिक अवस्थिति नेपालको लागि चुनौती मात्र होइन, सन्तुलित आर्थिक सहकार्य र क्षेत्रीय सम्पर्क विस्तारको अवसर पनि हो।तर अवसरलाई उपलब्धिमा बदल्न राष्ट्रिय नीति स्पष्ट हुनुपर्छ। सरकार परिवर्तन हुँदा पनि परराष्ट्र नीतिका आधारभूत राष्ट्रिय हित परिवर्तन हुनु हुँदैन। सीमा, जलस्रोत, व्यापार, पारवहन, सुरक्षा र प्राकृतिक स्रोतसम्बन्धी विषयमा राज्यको संस्थागत निरन्तरता कायम रहनुपर्छ।कूटनीतिमा मौनता कहिलेकाहीँ रणनीति हुन सक्छ, तर त्यसको औचित्य स्पष्ट हुनुपर्छ। राष्ट्रिय हितसँग सम्बन्धित विषय उठाइएन भने किन उठाइएन, कहिले उठाइन्छ र समाधानका लागि के योजना छ भन्ने कुरा जनतालाई जानकारी दिनुपर्छ। जनताबाट तथ्य लुकाएर राष्ट्रिय सहमति निर्माण हुन सक्दैन।
अबको प्रश्न : सरकारको जवाफदेहिता र राष्ट्रिय नीति
प्रधानमन्त्रीको भारत भ्रमणपछि उठेका प्रश्नको जवाफ कुनै दलगत आग्रह वा व्यक्तिविशेषको समर्थन र विरोधबाट खोजिनु हुँदैन। यसको मूल्याङ्कन राष्ट्रिय हितको कसौटीमा हुनुपर्छ।सरकारले स्पष्ट पार्नुपर्ने विषयहरू छन्। कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपालको स्थापित अडानलाई भारतसमक्ष कुन तहमा प्रस्तुत गरियोरु भ्रमणको कार्यसूचीमा यो विषय किन परेन? ईपीजी प्रतिवेदनको भविष्य के हुन्छ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई मार्गको विषयमा के प्रगति भयो? भैरहवा हवाई मार्गसम्बन्धी सहमति कार्यान्वयन गर्ने समयसीमा के हो? विकास सहयोगका ऋण तथा अनुदानका सर्तहरू के हुन्रु नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई व्यवहारमा कसरी सुनिश्चित गरिन्छ?
यी प्रश्न सरकारको विरोधका लागि उठाइएका प्रश्न होइनन्। यी सार्वभौम राष्ट्रका नागरिकले आफ्नो सरकारसँग राख्न पाउने आधारभूत प्रश्न हुन्।लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुन्छ। प्रधानमन्त्री राष्ट्रको कार्यकारी नेतृत्वकर्ता हुन्, राष्ट्रको सार्वभौमिक अधिकारका व्यक्तिगत मालिक होइनन्। राष्ट्रिय हितसँग जोडिएका निर्णयमा पारदर्शिता र जवाफदेहिता अनिवार्य हुन्छ।
निष्कर्ष
इतिहासले सिकाएको एउटा महत्त्वपूर्ण सत्य के हो भने कुनै पनि राष्ट्रको स्वतन्त्रता अरू कसैले उपहारस्वरूप दिएको हुँदैन। त्यसको रक्षा जनताको चेतना, राजनीतिक दृढता, आर्थिक आत्मनिर्भरता र जिम्मेवार राज्यव्यवस्थाले गर्छ। भूगोलको रक्षा नक्साले मात्र गर्दैन त्यसका लागि राष्ट्रिय नीति, संस्थागत क्षमता र जनताको सचेत पहरेदारी आवश्यक हुन्छ।नेपालले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्नुपर्छ। चीनसँग पनि पारस्परिक सम्मान र सहयोगको सम्बन्ध विस्तार गर्नुपर्छ। विश्वका सबै राष्ट्रसँग नेपालको हितअनुकूल सम्बन्ध विकास गर्नुपर्छ। तर कुनै पनि सम्बन्धले नेपालको स्वतन्त्र निर्णय क्षमता, भौगोलिक अखण्डता र सार्वभौमिक अधिकारलाई कमजोर बनाउने ठाउँ पाउनु हुँदैन।
हामीले छिमेकी बदल्न सक्दैनौँ, तर छिमेकीसँगको सम्बन्ध सञ्चालन गर्ने आफ्नो नीति आफैँ तय गर्न सक्छौँ। हामीले आफ्नो भूगोल बदल्न सक्दैनौँ, तर त्यसको रक्षा गर्ने राजनीतिक इच्छाशक्ति र आर्थिक सामर्थ्य निर्माण गर्न सक्छौँ।
नेपाललाई कसैको विरुद्ध उभिने राष्ट्र होइन, आफ्नो राष्ट्रिय हितमा दृढतापूर्वक उभिन सक्ने राष्ट्र बनाउनु आवश्यक छ। विकास चाहिन्छ, तर स्वाधीनतासहितको विकास। सहयोग चाहिन्छ, तर आत्मनिर्णयको अधिकार सुरक्षित राखेर। मित्रता चाहिन्छ, तर समानताको आधारमा। कूटनीति चाहिन्छ, तर राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर।
अन्ततः राष्ट्रको सार्वभौमिकता कुनै प्रधानमन्त्रीको व्यक्तिगत लोकप्रियता, कुनै दलको चुनावी नारा वा कुनै विदेशी शक्तिको सद्भावमा निर्भर हुँदैन। त्यो जनताको ऐतिहासिक अधिकार हो। त्यसको रक्षा गर्नु राज्यको कर्तव्य र प्रत्येक सचेत नागरिकको जिम्मेवारी हो।नेपालको भूमि नेपालको हो, नेपालको निर्णय नेपाली जनताकै अधिकार हो। मित्रता समानतामा हुनुपर्छ, सहयोग पारस्परिक सम्मानमा आधारित हुनुपर्छ र नेपालको परराष्ट्र नीति नेपालको राष्ट्रिय हितद्वारा निर्देशित हुनुपर्छ।र राष्ट्रको स्वाधीनता सुरक्षित राख्दै समृद्धि निर्माण गर्नु नै आजको नेपालको ऐतिहासिक आवश्यकता हो।
प्रतिक्रिया