महेन्द्रनगर- काठमाडौ साइकल यात्रा २०४९ को सँस्मरण-६
कृष्णदेव पन्त मेरो नजिक आएर शान्त स्वरमा भने, पुल भास्सिनु हाम्रो यात्रामा नौलो कुरा होइन, यहाँ त व्यवस्था नै भित्रैदेखि भास्सिएको छ। मैले उत्तर दिएँ— पुल भास्सिएला, तर आवाज भास्सिँदैन। महाकालीको बहिरहेको पानी जस्तै हाम्रो यात्रा पनि रोकिँदैन।
इतिहास सधैँ ठूलो आवाजसँग मात्र डराउँदैन, कहिलेकाहीँ शान्त अक्षरहरूले पनि उसलाई असहज बनाइदिन्छन्। त्यो दिन त्यही भयो। एउटा निर्जीव ब्यानर राज्यको नजरमा अपराधी बन्यो। न त्यसले कसैलाई उक्साएको थियो, न अपमान गरेको। त्यसमा लेखिएको मात्र थियो।
“महाकाली साझा हो, पानी आधा–आधा हो।”
तर ती शब्दहरू नै शायद त्यस्ता थिए, जसले सत्ताको आत्मविश्वासलाई प्रश्न गरिरहेका थिए।
प्रहरीको आदेश आयो— ब्यानर हटाउनू। किन ? के का लागि? अपराध के हो? भनेर बुझ्न खोज्यौँ, तर आदेश बाहेक कुनै उत्तर आएन। जब जुलुसमा सहभागी जनता त्यस आदेशको प्रतिकारमा उभिए, त्यही क्षण प्रहरीको कठोरता अकस्मात् मौनतामा बदलियो। त्यो मौनता स्वीकृति पनि थिएन, अस्वीकार पनि होइन। केही समयपछि हामीलाई अघि बढ्न दिइयो। पछि बुझियो— त्यो मौनता डरको उपज थियो, जनदबाबको अगाडि टिक्न नसकेको राज्यसम्यन्त्रको क्षणिक हार।
तर त्यसले यात्रालाई सहज बनाएको थिएन। सरकार र त्यसका संयन्त्रहरूको उद्देश्य स्पष्ट थियो— र्यालीलाई काठमाडौँसम्म पुग्न नदिने। कञ्चनपुरमै रोक्ने प्रयास अन्तर्गत डि. एस.पी.को नेतृत्वमा प्रहरीको डफ्फा हाम्रो पछि पछि लाग्यो। तर यात्राको लय कहिलेकाहीँ योजनाभन्दा छिटो हुँदो रहेछ। हामीले कञ्चनपुर सजिलै पार गर्यौँ। प्रहरीहरू पछि छुटे।
कञ्चनपुर कटे पछि पनि अवरोधको श्रृंखला सकिएको थिएन। अब षड्यन्त्र कैलालीतर्फ सरेको थियो। त्यसको पहिलो संकेत अत्तरिया थियो। अत्तरिया पार गरेपछि हाम्रो गति सामान्य नै रह्यो, तर मनभित्र एउटा आशंका पलाइरहेको थियो ।त्यो भय थिएन, बरु राज्ययन्त्रबाट हुन सक्ने सम्भावित हस्तक्षेपको चेतना थियो। हामी मानसिक रूपमा त्यसका लागि तयार थियौँ।
अत्तरिया केही पर खैराना नदी आयो। नदीको कटान फराकिलो भए पनि पानी कम थियो। नदीको बीचबाट सिमेन्टको पक्की सतह देखिने एउटा बाटो देखिन्थ्यो, जुन टाढाबाट हेर्दा सामान्य सडक जस्तै लाग्थ्यो। हामी त्यही बाटो समातेर अघि बढ्यौँ। त्यही बेला महरा भाइले बोले— आफूले पक्की सडक ठानेको बाटो वास्तवमा भास्सिएको पुलको सतह रहेछ। वर्षौँअघि भत्किएको पुल नै अस्थायी बाटो बनेको रहेछ, जसको सतहका कतिपय भागमा पानी बगिरहेको थियो र कतै लेउ चिप्लो भएर बसेको थियो।
अचानक पछाडिबाट ठूलो आवाज आयो। फर्केर हेर्दा अत्तरियाबाट सँगै हिँडेका साथी ओम प्रकाश लम्साल, भास्सिएको पुलको सतहमा चिप्लिएर उत्तानो परेका थिए। साइकिल उनीमाथि थियो। सबैजना हतारिँदै त्यतैतिर दौडियौँ। चोट लागेको हो कि भनेर सोध्दा उनले मुस्कान झुण्ड्याउँदै भने अलि भिजियो मात्र, चोट लागेन। त्यो मुस्कान यात्राको आत्मा जस्तै लाग्यो, पीडालाई सामान्य बनाउँदै अघि बढ्ने साहसको प्रतीक।
त्यही क्षण कृष्णदेव पन्त मेरो नजिक आएर शान्त स्वरमा भने, पुल भास्सिनु हाम्रो यात्रामा नौलो कुरा होइन, यहाँ त व्यवस्था नै भित्रैदेखि भास्सिएको छ। मैले उत्तर दिएँ— पुल भास्सिएला, तर आवाज भास्सिँदैन। महाकालीको बहिरहेको पानी जस्तै हाम्रो यात्रा पनि रोकिँदैन।
खुटिया नदी पार गरेपछि पक्की सडक सुरु भयो। हामी फेरि लहरै अघि बढ्यौँ। बाहिरबाट हेर्दा हामी मौन थियौँ, तर त्यो मौनताभित्र प्रतिरोध बोलिरहेको थियो। हामी केवल नदी र पुल पार गरिरहेका थिएनौँ, हामी इतिहासको एउटा कठिन, तर आवश्यक अध्याय पार गरिरहेका थियौँ।
प्रतिक्रिया