सशस्त्रमा रिक्त १ एआईजीका लागि तीन डीआईजी प्रतिस्पर्धी
काठमाडौं । सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएपछि नयाँ नेतृत्वमा पुग्न तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा सुरु भएको छ । एआईजी वंशीराज दाहाल बर्खास्तीमा परेपछि रिक्त रहेको पदमा पहिलो ब्याचका तीन डीआईजीले दाबेदारी प्रस्तुत गरेका छन् ।
बढुवाको दौडमा डीआईजीहरू सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन् । तीनै जना २०५९ सालमा प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । उनीहरूमध्ये श्रेष्ठ ज्येष्ठता र मेरिट सूची दुवैमा अगाडि छन् ।
श्रेष्ठ हाल सीमा सुरक्षा विभागको प्रमुख छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पी–४ तहमा खुला प्रतिस्पर्धाबाट छनोट हुने पहिलो अधिकृतको परिचय बनाएका उनको व्यावसायिक अनुभवलाई बढुवाको बलियो आधार मानिएको छ । उनले काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी रहेको नम्बर–९ पशुपतिनाथ बाहिनीको कमान्डसमेत सम्हालिसकेका छन् ।
त्यस्तै, मेरिट सूचीको दोस्रो स्थानमा रहेका दीपेन्द्र शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो प्रमुखका रूपमा कार्यरत छन् । सूचना संकलन तथा सुरक्षा चुनौतीको विश्लेषणमा उनको अनुभवलाई महत्त्वपूर्ण मानिएको छ ।
अर्का प्रतिस्पर्धी पुरुषोत्तम थापा भने सशस्त्र प्रहरी एकेडेमीमा कार्यरत छन् । यसअघि संगठनको प्रवक्ता र पशुपतिनाथ बाहिनीको कमान्ड सम्हालिसकेका थापाको कार्यकालमा केन्द्रीय स्टोरमा भएको आगलागीको घटनाले उनको नेतृत्वमाथि प्रश्न उठाएको थियो । तर, उक्त घटनामा उनले विभागीय कारबाही भोग्नुपरेन ।
यसअघि सोही ब्याचका अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भइसकेका छन् । उनी डीआईजीको मेरिट सूचीमा श्रेष्ठभन्दा पछाडि थिए । यसले पनि अहिलेको बढुवा प्रक्रियामा ज्येष्ठता र कार्यसम्पादनको विषयलाई थप चासोका साथ हेरिएको छ ।
एआईजीको पद रिक्त हुनुको कारण भने वंशीराज दाहालको बर्खास्ती हो । संवेदनशील सूचना चुहाएको र संगठनको आचरणविपरीत काम गरेको आरोपमा मन्त्रिपरिषद्ले असोज २३ गते उनलाई सेवाबाट हटाउने निर्णय गरेको थियो । बिचौलिया इनम सापकोटासँगको सम्पर्क र प्रधानमन्त्री बालेन्द्र शाहको लोकेसन ह्वाट्सएपमार्फत चुहाएको विषय छानबिनबाट खुलेपछि सरकार उक्त निर्णयमा पुगेको थियो ।
दाहालले बर्खास्तीको निर्णय पुनर्विचार गर्न मन्त्रिपरिषद्मा निवेदन दिए पनि उनी सशस्त्र प्रहरी सेवामा फर्किने सम्भावना नरहेको उच्च स्रोत बताउँछ । चारवर्षे पदावधि पूरा गरेका उनी असोज २८ गतेदेखि अवकाशमा गइसकेका छन् ।
अब रिक्त पदमा कसलाई बढुवा गर्ने भन्ने निर्णय सरकारका लागि महत्त्वपूर्ण बनेको छ । कानुनी व्यवस्थाअनुसार एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्री कार्यालयका सचिव रहनेछन् भने गृह मन्त्रालयका सचिव र सशस्त्र प्रहरी महानिरीक्षक सदस्य रहने व्यवस्था छ ।
समितिले कार्यसम्पादन, व्यावसायिक अनुभव र ज्येष्ठतालाई आधार बनाएर बढुवा सिफारिस गर्नेछ । सिफारिसप्रति असन्तुष्ट उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्नेछन् । तीन प्रतिस्पर्धीमध्ये कसले एआईजीको जिम्मेवारी पाउँछ भन्ने निर्णयले सशस्त्र प्रहरीको भावी नेतृत्व संरचनामा समेत प्रभाव पार्ने देखिन्छ ।
प्रतिक्रिया