दुई पूर्वमन्त्रीसहित छ जनालाई दुई दिनको थुना म्याद

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ८ १८:२२ बजे

काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने श्रमिकसँग ठगी गरी रकम संकलन गरेर गैरकानुनी रूपमा मलेसिया पठाउने कार्यमा संलग्नता रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध दुई दिन म्याद थप भएको छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई दुई दिन थुना म्याद थप भएको जानकारी काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले बाह्रखरीलाई दिए ।
जिल्ला अदालतका न्यायाधीश उपेन्द्र केशर खनालको इजलासमा भएको बहसपछि उनीहरूलाई दुई दिन थुना म्याद थप भएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
सीआईबीबाट उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ । यसअघि उनीहरूलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपिएको थियो

२०८३ मंसिर ८ १८:२२ बजे

प्रतिक्रिया