जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ७ १८:३१ बजे

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरणका लागि आयोग गठन गर्ने भएको छ । यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न तयार पारिएको अध्यादेश आइतबार राष्ट्रपति कार्यालयमा पुगेको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानअनुसार संघीय संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ । जारी भएपछि यस्तो अध्यादेश ऐनसरह मान्य हुन्छ । २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त आन्दोलनमा संलग्न भएको आरोपमा हाल मुद्दा खेपिरहेकाहरूको माग सम्बोधन गर्न आयोग गठन गर्ने गरी अध्यादेश सिफारिस गरिएको हो ।

सरकारी अधिकारीहरूका अनुसार अध्यादेश जारी भएपछि आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित मुद्दाहरूको थप छानबिन गर्ने, पीडित र सरोकारवाला पक्षबीच मेलमिलापको वातावरण बनाउने तथा क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने बाटो खुल्नेछ । साथै, यसले गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुंग्याउने कानुनी आधारसमेत तयार गर्नेछ ।

२०८३ मंसिर ७ १८:३१ बजे

प्रतिक्रिया