किन उठेन सीमाको मुद्दा ? किन हटाइयो ?

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ७ २०:२४ बजे

काठमाडौं । प्रधानमन्त्री वालेन शाह भारत भ्रमण सकेर नेपाल फर्किएका छन् । उनको भारत भ्रमणमा सीमा विवादको विषय औपचारिक छलफल हुने ठानीएको थियो तर, सो विषय  औपचारिक एजेन्डाबाट हटाइयो । भ्रमण तयारीका क्रममा यो मुद्दा छलफलमा राख्ने योजना भए पनि अन्तिम समयमा प्रधानमन्त्रीकै निर्देशनमा हटाइएको बताइएको छ ।

सीमा विवाद उठाउँदा समग्र भ्रमण प्रभावित हुन सक्ने आकलनपछि तत्कालका लागि यसलाई प्राथमिकता नदिइएको बताइएको छ । नेपाल–भारतबीचको सीमा विवादमा कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता क्षेत्र प्रमुख छन् ।

सन् २०२० मा नेपालले यी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरी संसद्बाट संविधान संशोधनसमेत गरेको थियो । तर,भारतले नेपालको दाबी स्वीकार गरेको छैन । ववालेनलाई भ्रमणअघि प्रतिपक्षी दल, सीमाविद् र परराष्ट्र मामिलाका जानकारहरूले सीमा विवाद, व्यापार घाटा र जलस्रोतजस्ता विषय उठाउन सुझाव दिएका थिए ।

वालेनले भ्रमणका क्रममा सन् २०१४ मा बनेको परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाउने अवसर पनि उपयोग नगरिएको भन्दै अहिले उनको आलोचना  भइरहेको छ । प्रधानमन्त्री बालेनले मेयर हुँदा ग्रेटर नेपालको नक्सा राखेका र संसद्मा सीमा विवाद तथ्यका आधारमा समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

तर, यसपटक औपचारिक छलफलमा यो मुद्दा परेन । मोदीसँगको व्यक्तिगत भेटमा उठे–नउठेको स्पष्ट जानकारी सरकारले दिनुपर्ने माग उठेको छ ।ऊर्जा, व्यापार, पूर्वाधारलगायतका सहकार्यका विषय प्राथमिकतामा परे पनि राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको मुद्दालाई पन्छाएको भन्दै प्रश्न उठेको छ । सम्बन्ध सुधार आवश्यक भए पनि राष्ट्रिय हितका विषय सधैँ पछि धकेल्न नहुने विश्लेषकहरूको भनाइ छ ।

२०८३ मंसिर ७ २०:२४ बजे

प्रतिक्रिया