गणेश नेपालीको हत्यारा को ? आत्मदाहको बहुआयाम तथा ऐतिहासिकता

गणेश नेपालीहरूको प्रमुख हत्यारा हाम्रो देशको दलाल पुजीवादी सत्ता हो । त्यो सत्तामा हिजो देउवा, केपि, प्रचण्ड नामका पात्रहरू थिए आज वालेन नामको पात्र छ

bimbonline उदय चलाउने दिपक
२०८३ कात्तिक १० १५:५७ बजे
गणेश नेपाली

नवयुवा भाइ गणेश नेपालीको आत्मदाह वारे विभिन्न कोण प्रतिकोणबाट बहस र प्रतिक्रियाहरू भैरहेकाछन् । संसदमा यो बहस सत्तापक्ष र प्रतिपक्षबीच भैरहेको छ । राजनीतिमा रास्वपा र ईतर पक्षबीच भईरहेको छ । समाजमा यो बहस हुनेखाने र हुँदाखानेबीच भैरहेको छ । कानुनमा यो बहस नियमको पालना र अवहेलनाकोरूपमा भैरहेको छ । हो, यसका बहुपक्षहरू छन् । सबैले आआफ्नो रक्षा र प्रतिरक्षाको लागि यावत् तर्कहरूको खोजि र प्रयोग गरिरहेकाछन् ।  

कुनै पनि घटनाको कारण हुन्छ । कारण बिना कुनै पनि घटना परिणाम असम्भव हुन्छ । हामी हाम्रो देशको सामाजिक जिवनका केही परिणामहरू वारे ध्यान दियौं ।आत्मदाहमा  किन श्रमिक वर्गका मानिसहरू सबै भन्दा ज्यादा छन्?  किन महिलाहरूको संख्या वढि छ ?  किन दलित र उत्पिडित समुदायको संख्या अधिक छ?  

पहिलो परिणामको कारण हो आर्थिक अभाव । यो विश्वव्यापी परिणाम हो । आर्थिक अभावले मानिसलाई अवसरबाट वञ्चित गरिरहेको छ । आजको विश्वमा सिमित मानिसहरू वैभवको जीवन बाँचिरहेकाछन् भने झण्डै ८० प्रतिशत मानिसहरू कठोर श्रम गरेर पनि मुस्किलले जीवन बाँचिरहेकाछन् । अझ संसारभरका २० प्रतिशत मानिसहरू अति अभावको जीवन बाँचिरहेकाछन् । नेपालमा अति अभावमा बाँच्ने संख्या धेरै छ । आफ्ना परिवारका सामान्य माग समेत पूरा गर्न नसक्दा यो तब्काका मानिसहरूमा ठुलो मानसिक पीडा सञ्चित हुन जान्छ । जब अभावको जाँतोले उनिहरू पिसिदै जान्छन् तब आत्मदाह जस्तो कठोर विकल्प रोज्न पुग्छन् ।  

दोस्रो परिणामको कारण हो  पितृसत्तात्मक उत्पिडन । यो उत्पिडन पनि विश्वभर कायम छ । नेपाल जस्ता विकासोन्मुख देशहरूमा महिलामाथिको विभेद, ज्यादति र हिंसा चरम छ । उस्तैखाले क्रियाकलापमा सरिक पुरूष सामान्य ठानिन्छ, जबकि महिलाहरूमाथि अपमानको भार थोपरिन्छ । अतः महिलाहरू परिवार र समाजका हर क्षेत्रमा पुरूषवादी व्यवहारको ज्यादतिमा पलपल बाँचिरहेकाछन् । परिणामतः उनिहरू कहिलेकाहिँ अकल्पनीय निर्णय लिन पुग्छन् ।

तेस्रो परिणामको कारण हो हिन्दु ब्राह्मणवादी संस्कृतिको जंगली विभेद । दलित समुदायमाथिको विभेदकारी सँस्कृति र व्यवहारले नेपाली समाज र दक्षिण एशियाली समाज नराम्ररी डुबेको छ । आज पनि थर सोधेर कोठा दिने देशको राजधानीका हामी जनता हौं, गाउँको त कुरै नगरौं । प्रत्येक बाहुन, ठकुरी र खस समुदायका मानिसहरूको सोंच, चिन्तन र व्यवहारहरूमा जातीय अहंकारले क्याम्प जमाएर बसेको छ । जनजाति समुदायमा समेत यसको उल्लेख्य प्रभाव छ । अतः अमानवियताको हद सहनुको पिडाले पनि कैयौं अकल्पनीय घटनाहरू भईरहेका छन् । 

यो सबै कुरीति र अत्याचारको संरक्षक हो?वर्तमान विश्व पुँजीवादी प्रणाली, अर्को अर्थमा निजत्व प्रणाली  धेरैको पसिनामाथि थोरै मानिसहरूको राईदाई हुने यो प्रणाली यदि समाप्त हुने हो भने यसखाले विभेद र अत्याचारहरू क्रमशः विलुप्त हुँदै जानू अनिवार्य हुन्छ । जबसम्म एउटा बलियो देशले कमजोर देशलाई, बलियो जातिले कमजोर जातिलाई, पैशावाल मानिसले गरीव मानिसलाई, पुरूषले महिलालाई कज्याउने प्रथाको उन्मुलन हुदैन त्यसको जगमा हुने विभेद र अत्याचारको समेत अन्त्य असम्भव छ । 

अतः गणेश नेपालीहरूको प्रमुख हत्यारा हाम्रो देशको दलाल पुजीवादी सत्ता हो । त्यो सत्तामा हिजो देउवा, केपि, प्रचण्ड नामका पात्रहरू थिए आज वालेन नामको पात्र छ । हिजोकाले आजकालाई र आजकाले हिजोकालाई आरोप-प्रत्यारोप गरेर केवल जनतालाई अल्झाईरहेकाछन्, झुक्याईरहेकाछन् । उनिहरू एउटै ड्याङका तर,  फरक समयका फरक मुलाहरू मात्र हुन् । कोहि सिजनका र कोहि अपसिजनका बस? 

हामीले पोषिरहेको पुजिवादी प्रणाली र विभेदकारी सँस्कृति यी र यस्तैखाले घटनाको दोषि हो। हाम्रो मौनता र निहित स्वार्थ त्यसको मतियार हो । दाजुभाइ दिदीबहिनीहरू, युवा मित्रहरू कुरा बुझ्नुस्  पुजीवाद यो दुनियाँको हिंस्रक अत्याचारी प्रणाली हो । हाम्रो देशको दलाल पुँजीवाद त्यसकै एउटा हिस्सा मात्र हो । आउनुस् समानताको नयाँ युग, वैज्ञानिक समाजवादी युग स्थापना गरौं ।

जहाँ प्रत्येक वेरोजगारलाई रोजगारीको सुनिश्चितता, वेरोजगारलाई जीवन निर्बाह भत्ताको व्यवस्था, दलित र महिला हिंसाका अपराधिहरूलाई कठोर सजायँको व्यवस्था, शिक्षा र स्वास्थ्यमा निजिकरणको अन्त्य, किसानलाई निःशुल्क जमिन, राज्य नेतृत्वको उद्योग प्रणाली स्थापित हुनेछ । हामी हत्यारो समय र प्रणालीबाट सदाका लागि छुटकारा पाउने छौं ।

(लेखक- नेकपा(वहुमत)का महासचिव हुनुहुन्छ)

२०८३ कात्तिक १० १५:५७ बजे

प्रतिक्रिया