पाखण्डी शब्दको प्रयोग यत्रतत्र भइरहन्छ । बुझेर नबुझेर कसैलाई गाली गर्न र होच्याउन यो शब्दको प्रहार गरिन्छ । पाखण्ड शब्द जतिसुकै घृणित भए पनि अचेल पाखण्ड मान्छेहरु चाहिँ यति शक्तिशाली छन् कि तिनीहरु सर्वोच्च पदहरुमा आसिन छन् र हामी सबैलाई शासन गरिरहका छन् ।
वास्तवमा पाखण्डीहरु बाहिरबाट आफूलाई धार्मिक, नैतिकवान, सदाचारी वा सिद्धान्तनिष्ठ देखाउने गर्दछन् तर व्यवहारमा त्यसको ठिक विपरीत आचरण गर्ने ढोंगी, आडम्बरी, कपटी वा मिथ्याचारी हुन्छन् ।
पाखण्डीहरु जानीजानी आफ्नो वास्तविक आचरण र आफूले अरूसामु प्रस्तुत गर्ने आचरण बीच विरोधाभास देखाउँछन् । तिनीहरु अरुले यस्तो गल्ती गर्यो, उस्तो गल्ती गर्यो, यति लुटेर खाए, यति भ्रष्टाचार गरे, यति ठगे, यो गर्यो, त्यो गर्यो भनेर चर्को स्वर शब्द र भाषा मिलाएर, कलात्मक ढंगले मन्त्रमुग्ध पारेर विश्वास दिलाउँछन् । अरूलाई सत्य बोल्न उपदेश दिन्छन् तर आफू झूठको खेती गर्छन् । तिनीहरु बडो स्मार्ट भएर हिँड्छन्, ब्राण्डेड कपडा, टाई सुटमा सजिन सक्छन्, सुकिला मुकिला भएर हिँड्छन, समाजमा गन्नेमान्ने जस्तो भएर हिँड्छन्, आफुलाई पढेलेखेको विद्वान, असल, ज्ञानी भएको अभिनय गर्छन् । मिडियामा धाराप्रवाह बोल्न सक्छन् ।
पाखण्डीहरु टोलमा छन्, गाउँमा छन्, शहरमा छन्, स्कूल, कलेज र विश्वविद्यालयमा छन्, सरकारी कार्यालयमा छन्, अदालतमा छन्, स्वदेशमा छन्, विदेशमा छन्, हिमालमा छन्, पहाडमा छन्, तराईमा छन्, पार्टीमा छन्, संघ र संस्थामा छन् । तिनीहरु वडा कमिटीदेखि संसद र मन्त्रि परिषदसम्ममा छन् । तिनीहरु पिउनदेखि विशिष्ट अधिकारीसम्म छन । तिनीहरु कर्मचारी, पुलिस, डाक्टर, ईन्जिनीयर, वकिल, लेखन्दास, व्यापारी, ठेकेदार, सामाजिक अभियन्ता, सञ्चारकर्मी, मानव अधिकारवादी छन् । कोही कोही त माग्ने पनि छन् । कोही सहकारी सञ्चालक छन, मीटरब्याजी छन्, कोही गुण्डा छन्, जग्गा दलाल छन्, तस्करहरु छन । ती नेता, कार्यकर्ता र स्वकीय छन् । मन्त्री, प्रधानमन्त्री, अध्यक्ष, सभापति छन्, वरिष्ठ नेता छन् । केन्द्रका छन्, जिल्ला र ईलाकाका छन् ।
यसरी पाखण्डीहरुका अनेकानेक रुप छन् र ती व्यापक रूपमा समाजमा उपस्थित छन् । हुँदाहुँदा कुरुप पाखण्डीहरु अचेलतिर त राजनीतिमा छिरेका छन् । हिजो तिनले विभिन्न रुपहरुमा भूमिका खेलेर राजनीति गर्ने र शासन सत्तामा बसेकाहरुले भ्रष्टाचार गरे, ३५ वर्ष आफ्नालाई खुवाए, देश टाट पल्टाए, बिगारे, ऋणमा डुबाए, बेथिति बसाए, सुशासनको नारा दिएर कुशासन लादे भनेर चर्को विरोधको आवाज उठाए । आफूले यो गर्छु र त्यो गर्छु भने, नारा दिए, गीत गाए । एकथरिहरु समाजमा दास हुन्छन् जो आफु केही गर्न सक्दैनन्, ढोंगीहरुलाई मालिक र प्रभु मान्छन्, सबै कुराहरु अरुले नै गर्छन् र आफु ती ढोंगी पाखण्डीहरुले जे भन्यो त्यही हस् मालिक भनेर मान्दछन् । दासहरुमा मनोबल हुँदैन । साहस पनि हुँदैन । दासहरु संघर्ष गर्दैनन् र सम्झौता मात्र गर्छन् । त्यसैले उनीहरु सधैं शोषणमा पर्छन् । यसरी पाखण्डीहरु जाल फ्याँक्छन् र दासहरु चङ्गुलमा फसिरहन्छन् । राजनीतिमा पानि पाखण्डीहरुको भ्रमजालमा दासहरु परे । तर बिडम्बना, पाखण्डीहरु एकथोक भन्छन् र अर्कोथोक गर्छन्, गरिरहेका छन् । बस्, दासहरु ताली पड्काइरहेका छन् । फेरि एक खालका उच्च दासहरु संसददेखि सरकारसम्म पनि छन् । पाखण्डी र दासहरुका कारण दिनप्रतिदिन समाज संकटको भुमरीमा जाकिँदैछ, होशियार रहौं ।
(लेखक-अधिवक्ता एव वाम वुध्दिजिवि हुनुहुन्छ)
प्रतिक्रिया