कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु , सावधानी अप्नाउन आग्रह

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १६ ०९:४९ बजे

धनगढी। कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

बिहीबार बिहान च्याउ टिप्न जंगल गएका गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने करिब ४० वर्षीय कृष्ण चौधरीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ५ बजे च्याउ टिप्ने क्रममा चौधरीमाथि बाघले आक्रमण गरेको थियो। घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो।

जानकारी पाएलगत्तै प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थलमा पुगेको जनाइएको छ।घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्ने प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। वन क्षेत्रमा बाघको गतिविधि देखिन थालेपछि स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ।


२०८३ असोज १६ ०९:४९ बजे

प्रतिक्रिया