मदिरा सेवनले बालबालिका हिंसामा

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २ १३:५२ बजे

नेपालमा मदिराको कारण सबैभन्दा बढी बालबालिकामा असर परिरहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । धनगढीमा बिहीबार आयोजना गरिएको मदिरा नियमन र नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रमका सहभागीले मदिरा सेवनको दुष्प्रभाव सबैभन्दा बढी बालबालिकामा परेको बताएका छन् । मदिरा सेवनपछि बालबालिकासहित महिलामाथि विभिन्न हिंसा भइरहेको सहभागीको भनाइ छ । 

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सिविन नेपालका सागर भण्डारीले परिवारका ठुला मान्छेले मदिरा सेवन गर्ने गरेका कारण बालबालिकालाई विभिन्न जोखिममा पारिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “न्यून आम्दानी भएका, अशिक्षित वा कम पढेलेखेकाले बढी मदिरा सेवन गर्ने गरेका देखिएको छ । त्यस्ता व्यक्तिका परिवारमा महिला र बालबालिकामाथि हिंसा बढी हुने गरेको छ ।” मादक पदार्थ सेवन गरेको अवस्थामा महिला, बालबालिका तथा घरेलु कामदारमाथि बढी यौनजन्य हिंसा भइरहेको अध्ययनका क्रममा पाइएको अधिवक्तासमेत रहेका भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “असी प्रतिशत यौनजन्य हिंसा मादक पदार्थ सेवन गरेको अवस्था भएको पाइन्छ ।”

नेपालमा ४२ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गरेको जनाइएको छ । त्यसमध्येबाट पनि २० प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले दैनिक रूपमा नै मदिरा सेवन गर्ने गरेको नेपाल सरकारको तथ्याङ्क छ । यसै गरी आवधिक रूपमा तर अत्यधिक मदिरा सेवन गर्नेमा १२।४ प्रतिशत पुरुष र १।७ प्रतिशत महिला रहेको तथ्याङ्कमा उल्लेख छ । 

सिविन नेपालको २०२५ को तथ्याङ्क अनुसार १८४ बालबालिकामाथि यौन दुव्र्यवहार हुँदा ८१ जना ९४४ प्रतिशत० बालबालिकामाथि मदिरा सेवनपछि यौनजन्य हिंसा भएको थियो । कतिपय अवस्थामा बालबालिकालाई नै मदिरा सेवन गराएर यौन हिंसा गरिएको सो संस्थाले जनाएको छ । त्यस्तै १८ बालबालिकामाथि घरेलु हिंसा भएको, १२ बालबालिकाको बेचबिखन गरिएको तथ्याङ्कमा उल्लेख छ । 

मदिराका कारण बालबालिकाले बिचमै विद्यालय छोड्ने र जोखिमपूर्ण क्षेत्रमा काम गर्न बाध्य हुने कार्यक्रममा जनाइएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको विवरण अनुसार कैलालीमा बालबालिकाले गर्भपतन गराउने क्रम बढ्दो छ । उहाँ भन्नुहुन्छ, “यो सबै मदिराले निम्त्याएको समस्या हो ।”मदिरा सेवन प्राणघातक रोग क्यान्सरको प्रमुख कारकमध्ये एक हो । मदिराकै कारण ५८ प्रतिशत व्यक्तिलाई क्यान्सर लाग्ने गरेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले एक थोपा मदिराले पनि मान्छेको स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको उल्लेख गरेको छ । मदिराले मानव स्वास्थ्यमा असर गर्नुका साथै बालबालिका, महिलालाई असर गरिरहेको भए पनि यसको प्रभावकारी नियमन वा नियन्त्रण हुन सकेको छैन । 

मदिराको उपलब्धता र यसले गर्ने असरलाई बहसको विषय बनाउनुपर्ने सिविन नेपालकै भगवती श्रेष्ठले बताउनुभयो । कार्यक्रममा पत्रकारले कतिपय समुदायको पूजाआजा र सांस्कृतिक परम्परासँगै मदिरा जोडिएकाले नियन्त्रणभन्दा पनि नीति नियम बनाएर नियमन गर्न सकिने बताएका छन् । यद्यपि यसतर्फ स्थानीय सरकारका ध्यान पुग्न नसकेको उहाँहरूको भनाइ छ ।    गोरखापत्र अनलाइन


२०८३ असोज २ १३:५२ बजे

प्रतिक्रिया