सिगापुरमा पुस्तक पढ्नेको खातामा रुपिया प्रदान

“छोटो आकारका सामग्रीले तत्काल सूचना प्राप्त गर्न मद्दत गरे पनि लामो समयसम्म पढ्ने बानीले मात्र ध्यान केन्द्रित गर्ने क्षमता, आलोचनात्मक सोच र कल्पनाशक्तिको विकास गर्छ। यसले मानिसलाई जिज्ञासु, विचारशील र विवेकशील बनाउँदै जटिल बन्दै गएको विश्वलाई बुझ्न सक्षम बनाउँछ।

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ ३१ १६:४७ बजे

काठमाण्डौ।  सिंगापुरले आफ्ना नागरिकलाई पुस्तक पढेबापत पैसा दिने निर्णय गरेको छ। तेस्रो विश्वबाट पहिलो विश्वमा फड्को मारेको सानो सिटी स्टेट (काठमाडौँ उपत्यकाभन्दा ७० वर्ग किमीमात्रै ठूलो) सिंगापुरले आफ्ना नागरिकलाई पढ्ने बानी बसाल्न पढेबापत पैसा दिने निर्णय गरेको हो।

सिंगापुरले रेल कुर्दा होस् वा क्याफेमा एक्लै बसेका बेला नागरिकहरूलाई पढ्ने बानी फर्काउने उद्देश्यले पाँच वर्षे राष्ट्रिय अभियान सुरु गरेको छ। यसअन्तर्गत सरकारले सञ्चालन गर्ने वेबसाइटमा आफूले पढेको समय अभिलेख गर्ने नागरिकलाई केही रकमसमेत दिइनेछ। यसमा पढ्ने बानीलाई अङ्क प्रणालीमार्फत अभिलेख गर्ने, त्यसबापत सामान्य पुरस्कार दिने तथा सार्वजनिक सहभागिता बढाउने व्यवस्था गरिएको छ।

यसले सामाजिक सञ्जालमा सतही सामग्री हेर्दै समय बिताउने र ‘ब्रेन रोट’ अर्थात् मानसिक क्षमतामा ह्रास ल्याउने भनिएको निरन्तर स्क्रोलिङको ठाउँमा पढ्ने बानीलाई पुनर्जीवित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। “छोटो आकारका सामग्रीले तत्काल सूचना प्राप्त गर्न मद्दत गरे पनि लामो समयसम्म पढ्ने बानीले मात्र ध्यान केन्द्रित गर्ने क्षमता, आलोचनात्मक सोच र कल्पनाशक्तिको विकास गर्छ। यसले मानिसलाई जिज्ञासु, विचारशील र विवेकशील बनाउँदै जटिल बन्दै गएको विश्वलाई बुझ्न सक्षम बनाउँछ।” यही उद्देश्यले पाठकहरूको राष्ट्र निर्माण गर्न सिंगापुर सरकारले उक्त अभियान अघि सारेको भनिएको छ । 

यद्यपि यस योजनाले पुस्तकप्रेमीहरूलाई धनी भने बनाउने छैन। पढेर सिंगापुर १ डलर कमाउन ५० दिनसम्म पढ्नुपर्नेछ। १५ मिनेट वा त्यसभन्दा बढी समय पढेमा २० वटा भर्चुअल सिक्का प्राप्त हुन्छन् र एक सिंगापुर डलर पाउन १,००० सिक्का जम्मा गर्नुपर्छ। एक दिनमा एउटा मात्र पढाइ सत्र अभिलेख गर्न सकिने बताइएको छ।

ध्यान केन्द्रित गर्ने क्षमता घट्दै गएको र विश्वभर पढ्ने बानीमा ह्रास आइरहेको समयमा सिंगापुर सरकारले आफ्ना नागरिकहरूका लागि उल्लिखित योजना अघि सारेको हो। मोबाइल, कम्प्युटरलगायतका ग्याजेटमा उपलब्ध सतही अनलाइन सामग्रीको अत्यधिक उपभोग र सामाजिक सञ्जालमा निरन्तर स्क्रोल गरिरहने बानीले व्यक्तिको संज्ञानात्मक क्षमतामा ह्रास ल्याउन सक्ने भएकाले त्यसलाई जनाउने ‘ब्रेन रोट’ प्रवृत्तिविरुद्ध पढ्ने बानीलाई पुनर्जीवित गर्ने उद्देश्यले उक्त योजना अघि सारिएको हो। 


२०८३ भदौ ३१ १६:४७ बजे

प्रतिक्रिया