बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको बुढीनन्दा आधारभूत विद्यालय नातिखोलाका शिक्षक तथा बालबालिकाले कक्षाकोठाबाहिर पठनपाठन गर्दै आएका छन् । साउन २८ गतेको अविरल वर्षाका कारण बिछ्याखोलामा आएको बाढीले यहाँका गाउँबस्ती, बाटो, सडक, पुल, बिछ्या माविलगायतका भौतिक संरचनामा ठुलो क्षति भएको थियो । पानी पर्न अझै रोकिएको छैन । कक्षाकोठामा बसेको बेला बाढी आउँछ कि भन्ने डरले यहाँका बालबालिका विद्यालयको कक्षाकोठाभन्दा बाहिर बसेर पठनपाठन गर्न थालेका हुन् ।
बुढीनन्दा आवासीय विद्यालय खोलाको किनारमा छ । २०७७ सालमा आएको भूकम्पले जमिन चिरा चिरा परेको छ । प्रधानाध्यापक अजमति विष्ट भन्नुहुन्छ, “भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि अहिले यहाँका बालबालिका तथा कर्मचारी सबै त्रसित छन् । हाम्रो विद्यालय पनि खोलाको नजिक छ । बाढी आएर विद्यालय बगाउँछ कि भन्ने त्रास सधैँ रहन्छ । त्यसैले बालबालिकालाई बाढी आएको बेलामा भाग्न सहज होस् भनेर बाहिरै राखेर पठनपाठन गर्ने गरेका छौँ ।” कक्षा १ देखि ३ सम्मको पढाइ हुने यो विद्यालयमा २८ जना बालबालिका अध्यनरत छन् । एक स्थायी, एक राहत, एक बालविकास र एक जना कार्यालय सहयोगी गरी चार जना कर्मचारी रहेको प्रधानाध्यापक विष्टले बताउनुभयो ।
हिमाली गाउँपालिकाका शिक्षा शाखा संयोजक पराम पाण्डेले भन्नहुन्छ, “विद्यालयको अवस्था नाजुक छ । विद्यालयलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्न जरुरी छ । त्यसका लागि ठुलो रकम आवश्यक पछ ।” हिमाली गाउँपालिकामा करिब २२ वटा विद्यालय सञ्चालनमा छन् । तीमध्ये अधिकांश विद्यालयको अवस्था उस्तै रहेको हिमाली गाउँपालिकाका शिक्षा शाखा संयोजक पाण्डेको भनाइ छ । गोरखापत्र अनलाइन
प्रतिक्रिया