काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट विभिन्न जिल्लामा फैलिएको विपद्का कारण मानवीय क्षतिको संख्या १ हजार ३४४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन्।
प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार बाढी तथा अन्य विपद्का घटनापछि विभिन्न जिल्लामा ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन्।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६० वटा छन्। त्यस्तै नवलपरासी पश्चिममा २३०, नवलपरासी पूर्वमा २२२, नुवाकोटमा १९२, रसुवामा १६०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ।
विपद्का घटनामा परी घाइते भएका ५ हजार ६६३ जनाको हालसम्म उपचार गरिएको छ। उद्धार कार्यलाई निरन्तरता दिइरहेको प्राधिकरणका अनुसार विभिन्न प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै बेपत्ताको खोजी, शव पहिचान तथा राहत वितरणको काम जारी रहेको छ। ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले मानवीय क्षति थप बढ्न सक्ने सम्भावना रहेको छ।प्राधिकरणले प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।
प्रतिक्रिया