नारायणी नदीमा भोटेकोशी बाढीले वगाएका ७२ शव भेटिए

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ १५ १९:५६ बजे

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले बगाएका ७२ जनाको शव चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने नारायणी नदीबाट नेपाली सेनाले निकालेको छ।

१० भदौमा बाढी आएपछि उद्धार तथा शव खोजीमा खटिएको श्री नयाँ गोरख गणले निकुञ्ज क्षेत्रभित्रबाट ७२ शव फेला पारेर निकालेको हो। सेनाले शव निकालेर आवश्यक मुचुल्काका लागि प्रहरीलाई जिम्मा लगाउँदै आएको जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको क्षेत्रमा सर्वसाधारणको सहज प्रवेश नहुने भएकाले शव खोजी तथा उद्धारको जिम्मेवारी सेनाले नै सम्हाल्दै आएको हो।

सेनाका अनुसार बोटमार्फत नारायणी नदी वारपार गरेर शव निकाल्ने क्रममा जोखिमसमेत मोल्नुपरेको थियो। पछिल्लो बाढीका कारण नदीमा पानीको बहाव बढेपछि वारपार गर्न कठिनाइ हुँदा उद्धार कार्य केही प्रभावित भएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएका मानिसहरू नारायणी नदीसम्म पुगेकाले नदीको वारीपारी ठूलो संख्यामा शव फेला परिरहेका छन्। 


२०८३ भदौ १५ १९:५६ बजे

प्रतिक्रिया