मानव इतिहासको सबैभन्दा ठूलो उपलब्धि आगोको आविष्कार, खेतीपातीको विकास, उद्योगको निर्माण वा विज्ञान–प्रविधिको उत्कर्ष हुन।तर यी सबै उपलब्धिको पछाडि एउटा मौलिक शक्ति निरन्तर सक्रिय थियो,संगठन। मानिसले प्रकृतिसँग संघर्ष गर्दा पनि संगठन निर्माण गर्यो, उत्पादन गर्दा पनि संगठन निर्माण गर्यो, राज्य निर्माण गर्दा पनि संगठन निर्माण गर्यो र अन्यायका विरुद्ध विद्रोह गर्दा पनि संगठन निर्माण गर्यो। त्यसैले संगठन मानव सभ्यताको आकस्मिक घटना होइन यो सामाजिक विकासको अनिवार्य परिणाम हो।
तर संगठन निर्माण गर्नु र संगठनलाई दीर्घकालसम्म जीवन्त राख्नु दुई फरक कुरा हुन्। संसारमा हजारौं संगठन जन्मिए, तर धेरैजसो हराए वा इतिहासमा मात्र छ्न। केही संगठन भने दशकौं र शताब्दीसम्म प्रभावशाली बने। यस भिन्नताको कारण के थियो? यसको उत्तर संगठनको आकारमा थिएन, धनसम्पत्तिमा थिएन, सदस्य सङ्ख्यामा पनि थिएन। यसको मूल कारण संगठनात्मक संस्कृति थियो। जहाँ साझा उद्देश्यलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखियो, जहाँ निर्णयलाई व्यक्तिको इच्छाभन्दा ठूलो मानियो, जहाँ जिम्मेवारीलाई अधिकारभन्दा अगाडि राखियो, त्यहाँ संगठन टिक्यो। जहाँ यसको उल्टो भयो, त्यहाँ संगठन क्रमशः कमजोर हुँदै गयो र विसर्जन भयो।
नेपालको कम्युनिष्ट आन्दोलनले पनि यही ऐतिहासिक नियमलाई पुष्टि गर्छ। यस आन्दोलनले अनेकौँ कठिन परिस्थितिमा उल्लेखनीय उपलब्धि हासिल गर्यो। निरङ्कुश शासनविरुद्ध संघर्ष गर्यो, जनतामा राजनीतिक चेतना फैलायो, सामाजिक न्यायका प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। तर यही आन्दोलन पटक–पटक विभाजित पनि भयो। कतिपय अवस्थामा वैचारिक मतभेद कारण बने, तर धेरै अवस्थामा संगठनात्मक संस्कृतिको कमजोरी, व्यक्तिवाद, अनुशासनको ह्रास, विधि–पद्धतिको उल्लङ्घन र नेतृत्वप्रतिको अविश्वासले आन्दोलनलाई गम्भीर क्षति पुर्यायो।
यस यथार्थबाट एउटा महत्त्वपूर्ण प्रश्न जन्मिन्छ,किन एउटै विचार बोकेका मानिसहरू पनि एउटै संगठनमा लामो समयसम्म एकताबद्ध रहन सक्दैन्न किन सक्षम कार्यकर्ता पनि कहिलेकाहीँ अनुशासनहीन बन्छन् किन व्यक्तिगत महत्त्वाकाङ्क्षाले सामूहिक उद्देश्यलाई पछि पार्छ? किन गोपनीयता कहिले आवश्यक जिम्मेवारी गम्भीर विषय बन्छ, त कहिले अविश्वासको कारण र किन नेतृत्वको नैतिक कमजोरीले सम्पूर्ण संगठनलाई असर गर्छ?
यी प्रश्नहरूको उत्तर कुनै एउटा व्यक्तिको चरित्रमा खोजेर पुगिँदैन। त्यसका लागि संगठनलाई एउटा जीवित सामाजिक प्रणालीका रूपमा बुझ्नुपर्छ। संगठन विचार, संरचना, व्यवहार, संस्कार, सम्बन्ध, विश्वास र जिम्मेवारीको एकीकृत रूप हो। यीमध्ये कुनै एउटा पक्ष कमजोर हुँदा त्यसको प्रभाव सम्पूर्ण संरचनामा पर्छ। जस्तै मानव शरीरमा मुटु, मस्तिष्क, फोक्सो वा रक्तसञ्चारमध्ये एउटा मात्र गम्भीर रूपमा प्रभावित भए सम्पूर्ण शरीरको सन्तुलन बिग्रन्छ, त्यसैगरी संगठनमा अनुशासन, विधि–पद्धति, विश्वास वा नेतृत्वमध्ये कुनै एउटा पक्ष कमजोर भए त्यसको असर सम्पूर्ण संगठनमा देखापर्छ।
यस लेखमा अनुशासनलाई दण्डको उपकरणका रूपमा होइन, आत्मनियन्त्रण र सामूहिक जिम्मेवारीको संस्कृतिका रूपमा उल्लेख गरिएको छ। विधि–पद्धतिलाई औपचारिक नियमहरूको सङ्ग्रहका रूपमा होइन, संगठनलाई व्यक्तिको इच्छाबाट संस्थागत प्रक्रियातर्फ रूपान्तरण गर्ने माध्यमका रूपमा व्याख्या गरिएको छ। गोपनीयतालाई रहस्यवाद वा अपारदर्शिताको पर्याय मानिएको छैन यसलाई जिम्मेवारी, विश्वास र संस्थागत मर्यादाको अपरिहार्य पक्षका रूपमा बुझिएको छ। नेतृत्वलाई अधिकारको स्रोत होइन, सेवाभाव, उत्तरदायित्व र नैतिक उदाहरणको रूपमा विश्लेषण गरिएको छ।
कम्युनिष्ट पार्टी सामान्य सामाजिक संस्था होइन। यसको उद्देश्य चुनाव जित्नु वा सरकार बनाउनुमा मात्र सीमित हुँदैन। यसको ऐतिहासिक दायित्व समाजलाई रूपान्तरण गर्ने हुन्छ। समाज परिवर्तनको दाबी गर्ने क्रान्तिकारी संगठनले आफ्नो आन्तरिक जीवनमा पनि परिवर्तनको संस्कृति स्थापित गर्नुपर्छ। यदि संगठनभित्र लोकतान्त्रिक व्यवहार छैन भने उसले समाजमा लोकतान्त्रिक संस्कृतिको नेतृत्व गर्न सक्दैन। यदि संगठनभित्र उत्तरदायित्व छैन भने उसले राज्यमा सुशासनको नेतृत्व गर्न सक्दैन। यदि संगठनभित्र अनुशासन छैन भने उसले समाजलाई व्यवस्थित परिवर्तनतर्फ डोर्याउन सक्दैन।
आज नेपालको कम्युनिष्ट आन्दोलनले विचारको मात्र होइन, संगठनात्मक संस्कृतिको पनि पुनर्निर्माण गर्नुपर्ने ऐतिहासिक आवश्यकता अनुभव गरिरहेको छ। यही आवश्यकताले यहाँ प्रस्तुत प्रत्येक खण्डको उद्देश्य आदेश दिनु होइन, प्रश्न उठाउनु होस निष्कर्ष थोपर्नु होइन, चिन्तनलाई गहिरो बनाउनु होस व्यक्तिको आलोचना गर्नु होइन, संगठनात्मक संस्कृतिको वैज्ञानिक अध्ययन गर्नु हो।
यस लेखको मूल मान्यता स्पष्ट छ,विचारले आन्दोलनलाई जन्म दिन्छ, तर संगठनात्मक संस्कृतिले त्यसलाई टिकाउँछ। नीति दिशा सूचक यन्त्र हो भने अनुशासन त्यसलाई अघि बढाउने शक्ति हो। नेतृत्व प्रेरणा हो भने विधि–पद्धति त्यस प्रेरणालाई संस्थागत रूप दिने आधार हो। जनविश्वास कुनै घोषणाबाट प्राप्त हुँदैन त्यो दीर्घकालीन आचरण, नैतिकता, उत्तरदायित्व र संगठनात्मक संस्कृतिबाट निर्माण हुन्छ।
अनुशासनको उत्पत्ति,मानव सभ्यताको विकास, उत्पादन र संगठनको ऐतिहासिक यात्रा-
अनुशासन कुनै राजा, धर्मगुरु वा राजनीतिक दलले आविष्कार गरेको अवधारणा होइन। यो मानव समाजको विकाससँगै जन्मिएको सामाजिक आवश्यकता हो। मानिसले एक्लै बाँच्न नसक्ने वास्तविकताले सामूहिक जीवनको आधार तयार गर्यो, र सामूहिक जीवनले नियमको आवश्यकता जन्मायो। यही नियमको परिपक्व रूप अनुशासन हो। त्यसैले अनुशासनको इतिहास मानव सभ्यताको इतिहासभन्दा अलग छैन।
मानिस प्रकृतिमा सबैभन्दा शक्तिशाली प्राणी भएर जन्मिएको थिएन। ऊसँग सिंहको जस्तो बल थिएन, चितुवाको जस्तो गति थिएन, चिलको जस्तो दृष्टि थिएन। तर उसँग एउटा असाधारण क्षमता थियो,
सोच्ने, सिक्ने र संगठित हुने। यही क्षमताले उसलाई अन्य प्राणीभन्दा फरक बनायो। प्रारम्भिक मानवले एक्लै शिकार गर्न सकेन, एक्लै प्राकृतिक विपत्तिसँग जुध्न सकेन, एक्लै उत्पादन गर्न सकेन। उसले समूह बनायो। समूह बनेपछि साझा नियमको आवश्यकता पैदा भयो। कसले पहरा दिने, कसले शिकार गर्ने, कसले आगो जोगाउने, कसले बालबालिकाको हेरचाह गर्ने भन्ने जिम्मेवारी बाँडफाँट भयो। यही जिम्मेवारीको पालना नै अनुशासनको प्रारम्भिक रूप थियो।
यस चरणमा अनुशासन लिखित थिएन, कानुनी थिएन, दण्डसंहितामा आधारित पनि थिएन। यो सामूहिक अस्तित्वको प्रश्न थियो। नियम तोड्ने व्यक्तिले आफूलाई मात्र होइन, सम्पूर्ण समूहलाई जोखिममा पार्थ्यो। त्यसैले अनुशासन कुनै नैतिक उपदेशभन्दा पहिले बाँच्ने आधार थियो।
जब मानिसले खेती गर्न सिक्यो, स्थायी बस्ती बसाल्यो र उत्पादन बढाउन थाल्यो, अनुशासनको स्वरूप पनि परिवर्तन भयो। खेती मौसमसँग जोडिएको थियो। समयमा रोपाइँ भएन भने उत्पादन घट्थ्यो। समयमा सिँचाइ भएन भने बाली सुक्थ्यो। समयमा भण्डारण भएन भने खाद्यान्न नष्ट हुन्थ्यो। उत्पादन प्रक्रियाले समयको अनुशासन, श्रमको अनुशासन र सामूहिक जिम्मेवारीको अनुशासनलाई अझ विकसित गर्यो। यसरी उत्पादनको विकाससँगै अनुशासनको आवश्यकता पनि विस्तार हुँदै गयो।
उत्पादन बढेसँगै निजी स्वामित्वको विकास भयो। समाज वर्गमा विभाजित भयो। त्यसपछि अनुशासनको स्वरूप पनि वर्गीय चरित्रबाट प्रभावित हुन थाल्यो। शासक वर्गले आफ्नो शासन टिकाउन नियम बनायो। राज्य निर्माण भयो। सेना, अदालत र प्रशासन खडा भए। अनुशासन अब समाज सञ्चालनको माध्यम मात्र रहेन धेरै अवस्थामा शासक वर्गको हित जोगाउने साधन पनि बन्यो। यस कारण इतिहासमा अनुशासनका दुई रूप देखिन्छन्,एउटा समाजलाई व्यवस्थित बनाउने अनुशासन, अर्को शोषणलाई स्थायी बनाउने अनुशासन।
यही ठाउँमा अनुशासनलाई वैज्ञानिक दृष्टिले बुझ्नु आवश्यक हुन्छ। सबै अनुशासन समान हुँदैनन्। अन्यायको रक्षा गर्ने अनुशासन र न्यायको स्थापना गर्ने अनुशासन एउटै होइनन्। दासलाई मालिकको आज्ञा पालन गराउने अनुशासन र स्वतन्त्र नागरिकले कानुनको सम्मान गर्ने अनुशासन एउटै होइनन्। त्यसैले अनुशासनको मूल्याङ्कन यसको उद्देश्य, चरित्र र सामाजिक परिणामका आधारमा गर्नुपर्छ।
नेपालको इतिहासले पनि यही तथ्य देखाउँछ। परम्परागत सामन्ती व्यवस्थामा अनुशासनको अर्थ शासकप्रति अन्ध निष्ठा मानिन्थ्यो। जनतालाई प्रश्न नगर्न सिकाइन्थ्यो। आदेश पालन गर्नु नै कर्तव्य मानिन्थ्यो। तर आधुनिक लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनले अनुशासनको अर्थ परिवर्तन गर्यो। यहाँ अनुशासन व्यक्ति विशेषप्रति होइन, सिद्धान्त, नीति, सामूहिक निर्णय र जनहितप्रति उत्तरदायित्वका रूपमा बुझियो। यही परिवर्तनले अनुशासनलाई डरको संस्कृतिबाट जिम्मेवारीको संस्कृतितर्फ उन्मुख गरायो।
कम्युनिष्ट आन्दोलनले अनुशासनलाई विशेष महत्व दिनुको कारण पनि यही हो। समाज परिवर्तन गर्ने उद्देश्य बोकेको संगठन सामान्य सामाजिक क्लबजस्तो हुन सक्दैन। त्यसलाई विचारमा स्पष्टता, व्यवहारमा एकरूपता, निर्णयमा सामूहिकता र कार्यान्वयनमा जिम्मेवारी आवश्यक पर्छ। यदि प्रत्येक सदस्यले आफ्नो व्यक्तिगत इच्छाअनुसार संगठन सञ्चालन गर्न खोज्यो भने संगठन होइन, भीड मात्र बाँकी रहन्छ।
तर अनुशासनलाई सही रूपमा नबुझ्दा दुई प्रकारका विचलन देखापर्छन्। एउटा, अनुशासनका नाममा प्रश्न गर्ने अधिकार नै समाप्त गर्ने प्रवृत्ति। अर्को, स्वतन्त्रताको नाममा कुनै नियम नमान्ने प्रवृत्ति। यी दुवै अतिवाद हुन्। पहिलोले संगठनलाई जड बनाउँछ, दोस्रोले विघटनतर्फ लैजान्छ। स्वस्थ संगठनले विचारको स्वतन्त्रता र कार्यको जिम्मेवारीबीच सन्तुलन कायम गर्छ। छलफलमा खुलापन हुन्छ, निर्णयपछि जिम्मेवारी हुन्छ। यही संगठनात्मक परिपक्वताको मापदण्ड हो।
नेपालको कम्युनिष्ट आन्दोलनका धेरै अनुभवले एउटा गम्भीर शिक्षा दिएका छन्। विचारमा मतभेद हुनु स्वाभाविक हो, तर मतभेदलाई संगठनात्मक प्रक्रियाबाट समाधान गर्न नसक्दा विभाजन जन्मिन्छ। व्यक्तिगत असन्तुष्टिलाई वैचारिक विवादको रूप दिइँदा अनुशासन कमजोर हुन्छ। विधि–पद्धतिभन्दा व्यक्ति ठूलो बन्न थालेपछि संगठन क्रमशः व्यक्तिनिर्भर बन्छ। व्यक्तिनिर्भर संगठन केही समय चम्किए पनि दीर्घकाल टिक्न सक्दैन।
यसैले अनुशासनलाई आदेशको परिणाम होइन, चेतनाको विकासको परिणामका रूपमा बुझ्नुपर्छ। जति चेतना परिपक्व हुन्छ, त्यति अनुशासन आत्मअनुशासनमा रूपान्तरण हुन्छ। जहाँ आत्मअनुशासन हुन्छ, त्यहाँ बाह्य नियन्त्रण कम आवश्यक पर्छ। जहाँ आत्मअनुशासन हुँदैन, त्यहाँ नियम थपिँदै जान्छन्, तर अव्यवस्था पनि बढ्दै जान्छ।
इतिहासको लामो यात्राले यही शिक्षा दिएको छ,अनुशासन मानिसको स्वतन्त्रताको विरोधी होइन स्वतन्त्रतालाई अर्थपूर्ण बनाउने सामाजिक आधार हो। नियमविहीन समाज टिक्दैन, तर विवेकविहीन नियम पनि टिक्दैन। दुवैको सन्तुलनबाट मात्र सुदृढ संगठन, उत्तरदायी नेतृत्व र दीर्घकालीन सामाजिक परिवर्तन सम्भव हुन्छ। यही आधारबाट अब हामी कम्युनिष्ट पार्टीको संगठनात्मक चरित्र र त्यसको विशिष्ट अनुशासनबारे अध्ययन गर्नेछौँ।
कम्युनिष्ट पार्टी किन सामान्य संगठन होइन?
मानव समाजमा अनेक प्रकारका संगठन हुन्छन्। कुनै संस्था व्यापारका लागि स्थापना हुन्छ, कुनै धार्मिक आस्थाका लागि, कुनै सांस्कृतिक गतिविधिका लागि, कुनै सेवामूलक कामका लागि, कुनै पेशागत हितका लागि। यस्ता संगठनहरूको उद्देश्य सीमित हुन्छ र तिनको कार्यक्षेत्र पनि निश्चित हुन्छ। तर कम्युनिष्ट पार्टीको जन्म र अस्तित्वको आधार यी संगठनहरूको भन्दा गुणात्मक रूपमा भिन्न छ। यसको उद्देश्य कुनै निश्चित समूहको तात्कालिक हितको प्रतिनिधित्व गर्नु मात्र होइन, समाजको आर्थिक, राजनीतिक र सांस्कृतिक संरचनामा आमूल परिवर्तन ल्याउने ऐतिहासिक जिम्मेवारी पूरा गर्नु हो। यही कारण कम्युनिष्ट पार्टीलाई सामान्य संगठनसँग तुलना गर्न सकिँदैन।
कुनै व्यापारिक संस्थाले घाटा बेहोरे पनि अर्को व्यापार सुरु गर्न सक्छ। कुनै सामाजिक संस्था निष्क्रिय भए अर्को संस्था जन्मन सक्छ। तर समाज परिवर्तनको ऐतिहासिक जिम्मेवारी बोकेको पार्टी आफ्नै कमजोरीका कारण दिशाहीन भयो भने त्यसको असर एउटा संगठनमा मात्र सीमित रहँदैनस त्यसले जनआन्दोलन, जनविश्वास र परिवर्तनको सम्भावनामै असर पार्छ। त्यसैले कम्युनिष्ट पार्टीका लागि संगठनात्मक संस्कृतिको प्रश्न निकै महत्त्वपूर्ण छ र राजनीतिक अस्तित्वको प्रश्न हो।
कम्युनिष्ट पार्टीको पहिलो विशेषता यसको वैचारिक एकता हो। एउटै झण्डामुनि उभिनु मात्र एकता होइन। एउटै नारा लगाउनु मात्र पनि एकता होइन। वास्तविक एकता भनेको साझा उद्देश्य, साझा कार्यक्रम, साझा जिम्मेवारी र साझा आचरणमा प्रकट हुन्छ। विचारमा स्पष्टता नभएको संगठन बाहिरबाट एक देखिए पनि भित्रभित्रै विभाजित हुन्छ। विचारमा एकता भयो भने मतभेद पनि संगठनलाई बलियो बनाउने माध्यम बन्न सक्छस विचारमा अस्पष्टता भयो भने सामान्य मतभेद पनि विभाजनको कारण बन्छ।
दोस्रो विशेषता संगठनात्मक एकता हो। विचारले दिशा दिन्छ, तर संगठनले त्यस दिशालाई व्यवहारमा रूपान्तरण गर्छ। संगठन बिना विचार पुस्तकका पानामा सीमित रहन्छ। त्यसैले कम्युनिष्ट पार्टीमा संगठनलाई विचारको भौतिक रूप मानिन्छ। पार्टीको विधान, निर्णय प्रक्रिया, जिम्मेवारीको बाँडफाँट, सामूहिक नेतृत्व, समीक्षा र आत्मसमीक्षा,यी सबै एउटै उद्देश्यका लागि हुन्छन्, संगठनलाई व्यक्तिको इच्छाभन्दा माथि उठाउन।
यही सन्दर्भमा नेतृत्वको प्रश्न आउँछ। कम्युनिष्ट पार्टीमा नेतृत्व पद ठूलो हुँदैनस जिम्मेवारी ठूलो हुन्छ। पदले अधिकार दिन सक्छ, तर नेतृत्वले विश्वास कमाउनुपर्छ। विश्वास आदेशबाट प्राप्त हुँदैनस आचरणबाट प्राप्त हुन्छ। कार्यकर्ताले नेताको भाषणभन्दा पहिले उसको जीवन हेर्छ। उसले आफ्ना लागि छुट र अरूका लागि नियम खोज्छ कि खोज्दैनरु उसले आलोचना सुन्न सक्छ कि सक्दैनरु उसले गल्ती स्वीकार्न सक्छ कि सक्दैनरु यिनै प्रश्नहरूले नेतृत्वको वास्तविक उचाइ निर्धारण गर्छन्।
इतिहासले देखाएको छ,जब नेतृत्व संगठनभन्दा महत्त्वपूर्ण बनाइन्छ, संगठन कमजोर हुन थाल्छ। जब संगठन नेतृत्वभन्दा महत्त्वपूर्ण हुन्छ, नेतृत्व पनि जिम्मेवार बन्छ। त्यसैले कम्युनिष्ट पार्टीमा व्यक्तिपूजा होइन, सिद्धान्त र संगठनप्रतिको निष्ठा निर्णायक हुन्छ। व्यक्तिको सम्मान हुन सक्छ, तर व्यक्तिलाई संगठनको विकल्प बनाउन खोजियो भने त्यहीँबाट व्यक्तिवादको सुरुआत हुन्छ।
कम्युनिष्ट पार्टीको अर्को विशेषता सामूहिक नेतृत्व हो। सामूहिक नेतृत्वको अर्थ सबैले समान काम गर्ने भन्ने होइन। यसको अर्थ निर्णय प्रक्रियामा साझा जिम्मेवारी र कार्यान्वयनमा स्पष्ट उत्तरदायित्व हो। जहाँ निर्णय सामूहिक हुन्छ तर जिम्मेवारी कसैले लिँदैन, त्यहाँ अराजकता जन्मिन्छ। जहाँ सबै निर्णय एउटै व्यक्तिले गर्छ, त्यहाँ स्वेच्छाचारिता जन्मिन्छ। यी दुवै अवस्थाले संगठनलाई कमजोर बनाउँछन्। स्वस्थ संगठनले सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई एकसाथ विकास गर्छ।
यसैसँग जोडिएको अर्को पक्ष हो,आलोचना र आत्मालोचना। कम्युनिष्ट आन्दोलनको शक्ति गल्ती नगर्नुमा होइन, गल्ती सच्याउने क्षमतामा हुन्छ। आलोचना प्रतिशोध होइन, सुधारको माध्यम हो। आत्मालोचना आत्महीनता होइन, आत्मविकासको प्रक्रिया हो। जहाँ आलोचना शत्रुतामा बदलिन्छ र आत्मालोचना औपचारिक कर्मकाण्डमा सीमित हुन्छ, त्यहाँ संगठन सिक्ने क्षमता गुमाउन थाल्छ।
नेपालको कम्युनिष्ट आन्दोलनको अनुभवले पनि यही शिक्षा दिएको छ। आन्दोलन कमजोर भएका धेरै समयमा विचारको अभावभन्दा बढी संगठनात्मक संस्कृतिको अभाव देखिन्छ। व्यक्तिगत सम्बन्धले संस्थागत प्रक्रियालाई विस्थापित गरेको, भावनाले विवेकलाई ढाकेको, पदले जिम्मेवारीलाई ओझेलमा पारेको र गुटीय निष्ठाले साझा उद्देश्यलाई कमजोर बनाएको अनुभव पटक–पटक दोहोरिएको छ। यसबाट भविष्यका कार्यकर्ताले एउटा गम्भीर शिक्षा लिनुपर्छ,संगठनलाई बाहिरबाट भन्दा भित्रबाट जोगाउन बढी कठिन हुन्छ।
कम्युनिष्ट पार्टीमा अनुशासनको अर्थ अन्धआज्ञापालन होइन। त्यसको अर्थ सामूहिक निर्णयप्रति जिम्मेवारी हो। छलफलका क्रममा आफ्नो विचार स्पष्ट रूपमा राख्नु अधिकार हो। निर्णय भएपछि त्यसको इमानदारीपूर्वक कार्यान्वयन गर्नु कर्तव्य हो। अधिकार र कर्तव्यको यही सन्तुलनले संगठनलाई गतिशील बनाउँछ। अधिकार मात्र खोज्ने र जिम्मेवारीबाट टाढा रहने प्रवृत्तिले अन्ततः संगठनलाई खोक्रो बनाउँछ।
त्यसैगरी गोपनीयतालाई पनि सही अर्थमा बुझ्नुपर्छ। पार्टीभित्रको विश्वास, सदस्यहरूको मर्यादा र संगठनात्मक जिम्मेवारीसँग सम्बन्धित संवेदनशील विषयलाई जिम्मेवारीपूर्वक संरक्षण गर्नु संगठनप्रतिको निष्ठाको अभिव्यक्ति हो। तर गोपनीयताको नाममा गल्ती लुकाउने, आलोचनालाई दबाउने वा विधि–पद्धतिलाई निष्क्रिय बनाउने प्रवृत्ति पनि उत्तिकै हानिकारक हुन्छ। गोपनीयता संगठनको सुरक्षा होस अपारदर्शिता होइन।
कम्युनिष्ट पार्टीको वास्तविक शक्ति त्यसका नारामा होइन, कार्यकर्ताको चरित्रमा हुन्छ। चरित्र व्यक्तिगत नैतिकताको प्रश्न मात्र होइनस त्यो संगठनात्मक संस्कृतिको प्रतिबिम्ब हो। समयको सम्मान गर्ने, जिम्मेवारी पूरा गर्ने, जनतासँग विनम्र रहने, सहकर्मीप्रति इमानदार रहने, व्यक्तिगत स्वार्थलाई सामूहिक हितभन्दा तल राख्ने र कठिन परिस्थितिमा पनि आफ्नो प्रतिबद्धताबाट पछि नहट्ने कार्यकर्ताले नै पार्टीलाई बलियो बनाउँछन्।
यसैले कम्युनिष्ट पार्टीलाई सामान्य संगठनसँग तुलना गर्न सकिँदैन। यसको ऐतिहासिक दायित्व ठूलो छ, त्यसैले यसको नैतिक मापदण्ड पनि उच्च हुनुपर्छ। यसको उद्देश्य व्यापक छ, त्यसैले यसको संगठनात्मक संस्कृति पनि उच्च हुनुपर्छ। विचार, संगठन, नेतृत्व, अनुशासन, विधि–पद्धति, गोपनीयता र जनविश्वास,यीमध्ये कुनै एउटा पक्ष कमजोर भयो भने सम्पूर्ण संरचनामा असर पर्छ। तर यी सबै पक्ष एकअर्कालाई सुदृढ बनाउँदै अघि बढे भने मात्र इतिहास बदल्ने शक्तिमा रूपान्तरण हुन सक्छ। यही कम्युनिष्ट पार्टीको विशिष्टता हो, यही यसको चुनौती हो, र यही यसको ऐतिहासिक जिम्मेवारी पनि हो।
खुलापन, सरलता, सहजता, गोपनीयता, दृढता र अनुशासन-
संगठनात्मक संस्कृतिको सन्तुलन संगठनको जीवन सिद्धान्तले मात्र चल्दैन, व्यवहारले चल्छ। विचारले दिशा दिन्छ, तर व्यवहारले विश्वास निर्माण गर्छ। धेरै संगठनहरू विचारका कारण समाप्त भएका हुँदैनन्स व्यवहारका कारण कमजोर भएका हुन्छन्। कतिपय संगठनमा अनुशासनको नाममा कठोरता यति धेरै बढ्छ कि कार्यकर्ताको आत्मीयता हराउँछ। कतिपय संगठनमा खुलापनको नाममा सीमा यति धेरै भत्काइन्छ कि अनुशासन नै कमजोर बन्छ। यही कारण खुलापन, सरलता, सहजता, गोपनीयता, दृढता र अनुशासनबीचको सन्तुलन बुझ्नु संगठन निर्माणको अत्यन्तै महत्वपूर्ण प्रश्न हो।
खुलापनको अर्थ सीमा नभएको स्वतन्त्रता होइन। खुलापन भनेको सत्यप्रति इमानदार हुनु, आफ्ना विचार स्पष्ट रूपमा राख्न सक्नु, आलोचना स्वीकार गर्न सक्नु, जनताप्रति उत्तरदायी हुनु र संगठनभित्र स्वस्थ संवादको वातावरण निर्माण गर्नु हो। जहाँ खुलापन हुँदैन, त्यहाँ शङ्का जन्मिन्छ। शङ्काले विश्वासलाई कमजोर बनाउँछ, विश्वास कमजोर भएपछि संगठनको आत्मा नै कमजोर हुन्छ।
तर खुलापनको पनि एउटा सीमा हुन्छ। प्रत्येक संगठनमा केही विषय तत्काल सार्वजनिक गरिनु उचित हुँदैन। बैठकमा भएका प्रारम्भिक छलफल, सदस्यहरूको व्यक्तिगत मूल्याङ्कन, संवेदनशील आन्तरिक प्रक्रिया वा विश्वासमा आधारित जिम्मेवारीका विषयलाई जथाभावी सार्वजनिक गर्नु खुलापन होइन, अपरिपक्वता हो। विवेकविहीन खुलापनले संगठनको शक्ति बढाउँदैनस बरु विश्वासको जग हल्लाउँछ।
यसको ठीक विपरीत, गोपनीयताको अर्थ सबै कुरा लुकाउनु पनि होइन। जहाँ सबै कुरा गोप्य बनाइन्छ, त्यहाँ प्रश्न गर्ने अधिकार कमजोर हुन्छ, आलोचना हराउँछ, र नेतृत्व उत्तरदायित्वबाट टाढा जान थाल्छ। यस्तो अवस्थामा गोपनीयता संगठनको सुरक्षाको माध्यम रहँदैनस अधिकारको आवरण बन्छ। त्यसैले गोपनीयताको सही अर्थ हो,जुन विषय सार्वजनिक हुँदा संगठन, व्यक्ति वा संस्थागत मर्यादामा अनावश्यक क्षति पुग्न सक्छ, त्यसलाई जिम्मेवारीपूर्वक सुरक्षित राख्नु। गोपनीयताको आधार डर होइन, विश्वास होस यसको उद्देश्य छल होइन, संरक्षण हो।
सरलता पनि संगठनात्मक संस्कृतिको एउटा महत्त्वपूर्ण पक्ष हो। सरल व्यक्ति सबैसँग सहज रूपमा घुलमिल हुन्छ। ऊ पदको घमण्ड गर्दैन, भाषाको आडम्बर देखाउँदैन, सम्बन्धलाई औपचारिकताले बाँध्दैन। तर सरल हुनु र हल्का हुनु एउटै कुरा होइन। धेरैपटक मानिसहरूले सरलतालाई कमजोरी ठान्ने गल्ती गर्छन्। वास्तविक सरलता आत्मविश्वासबाट जन्मिन्छ, असुरक्षाबाट होइन। जसलाई आफ्नो विचार, आफ्नो जिम्मेवारी र आफ्नो चरित्रमाथि विश्वास हुन्छ, उसलाई कृत्रिम कठोरताको आवश्यकता पर्दैन।
सहज व्यवहारको पनि गहिरो अर्थ छ। सहज व्यवहारले संगठनभित्र आत्मीयता बढाउँछ। कार्यकर्ता आफ्ना समस्या खुला रूपमा राख्न सक्छन्। नेतृत्वसँग संवाद गर्न डर मान्दैनन्। तर सहजताको नाममा मर्यादा भत्किन थाल्यो भने अनुशासन कमजोर हुन्छ। साथीपन आवश्यक छ, तर संगठनलाई व्यक्तिगत मित्रताको घेरामा सीमित गर्न मिल्दैन। आत्मीयता आवश्यक छ, तर त्यसले विधि–पद्धतिलाई प्रतिस्थापन गर्न सक्दैन।
दृढता र कठोरतालाई पनि प्रायः एउटै अर्थमा लिने गरिन्छ। वास्तवमा यी दुई फरक गुण हुन्। कठोर व्यक्ति आफ्ना निर्णय परिवर्तन गर्नै नचाहने हुन सक्छ, तर दृढ व्यक्ति प्रमाण, अनुभव र सत्यका आधारमा आफ्नो निर्णय पुनर्विचार गर्न पनि तयार हुन्छ। कठोरता प्रायः अहङ्कारबाट जन्मिन्छस दृढता भने सिद्धान्तप्रतिको प्रतिबद्धताबाट जन्मिन्छ। कठोरताले सम्बन्ध तोड्न सक्छ, दृढताले सम्बन्धलाई सही आधारमा टिकाइराख्छ।
अनुशासन यी सबै गुणहरूलाई जोड्ने केन्द्रबिन्दु हो। अनुशासन नभए खुलापन छाडापनमा बदलिन्छ। अनुशासन नभए सरलता लापरवाहीमा रूपान्तरण हुन्छ। अनुशासन नभए सहजता औपचारिकताको विघटनमा पुग्छ। अनुशासन नभए गोपनीयता पनि टिक्दैन, किनभने गोपनीयता जोगाउने पहिलो आधार आत्मअनुशासन नै हो। त्यसैले अनुशासन कुनै अलग गुण होइनस यसले अन्य सबै गुणलाई सही सन्तुलनमा राख्ने काम गर्छ।
नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका धेरै अनुभवहरूले यही शिक्षा दिएका छन्। कतिपय अवस्थामा कार्यकर्तासँग दूरी बढाउनु नै अनुशासन ठानियो। परिणामस्वरूप नेतृत्व र कार्यकर्ताबीच विश्वासको दूरी बढ्दै गयो। अर्कोतर्फ कतिपय अवस्थामा अत्यधिक अनौपचारिक सम्बन्धले संगठनात्मक मर्यादालाई कमजोर बनायो। व्यक्तिगत सम्बन्धले संस्थागत निर्णयलाई प्रभाव पार्न थाल्यो। दुवै प्रवृत्तिले अन्ततः संगठनलाई नै हानि पुर्यायो।
सुदृढ संगठनले यी दुवै अतिवादबाट आफूलाई जोगाउँछ। नेतृत्व कार्यकर्तासँग आत्मीय हुन्छ, तर पक्षपाती हुँदैन। कार्यकर्ता नेतृत्वको सम्मान गर्छ, तर अन्धभक्त बन्दैन। संगठनभित्र खुला छलफल हुन्छ, तर निर्णय भएपछि अनावश्यक विवादलाई निरन्तरता दिइँदैन। आवश्यक विषय गोप्य राखिन्छ, तर गोपनीयताको नाममा गल्ती ढाकछोप गरिँदैन। यही सन्तुलन नै परिपक्व संगठनात्मक संस्कृति हो।
संगठन अन्ततः मानिसहरूको सम्बन्धबाट निर्माण हुन्छ। सम्बन्धको आधार विश्वास हो। विश्वासको आधार सत्यनिष्ठा हो। सत्यनिष्ठाको आधार चरित्र हो। चरित्रको आधार आत्मअनुशासन हो। यसैले आत्मअनुशासनबाट सुरु भएको यात्रा नै संगठनात्मक संस्कृतिमा पुगेर टुङ्गिन्छ। बाहिरी नियमले केही समय व्यवहार नियन्त्रण गर्न सक्छ, तर दीर्घकालीन अनुशासन मानिसको चेतना र चरित्रबाट मात्र निर्माण हुन्छ।
यस खण्डको निष्कर्ष स्पष्ट छ कि खुलापन र गोपनीयता एकअर्काका विरोधी होइनन्स तिनीहरू विश्वासका दुई आधार हुन्। सरलता र दृढता एकअर्काका विकल्प होइनन्स तिनीहरू परिपक्व व्यक्तित्वका दुई पक्ष हुन्। सहजता र अनुशासन परस्पर विरोधी होइनन्स तिनीहरू स्वस्थ संगठनात्मक जीवनका पूरक हुन्। यी सबै गुणहरूको सन्तुलित विकासबाट मात्र यस्तो संगठन निर्माण हुन्छ, जहाँ विचारले दिशा दिन्छ, अनुशासनले गति दिन्छ, विश्वासले एकता दिन्छ र नैतिक नेतृत्वले भविष्य निर्माण गर्छ।
व्यक्तिवाद, महत्त्वाकाङ्क्षा, कुण्ठा, आग्रह, पूर्वाग्रह र गुटबन्दी-
संगठनभित्र देखिने मानसिक तथा वैचारिक विचलनहरूको अध्ययन गर्दा कुनै पनि संगठन बाहिरबाट अचानक कमजोर हुँदैन। संगठनको क्षय प्रायः भित्रबाट सुरु हुन्छ। रूखलाई बाहिरबाट काटिएर मात्र ढल्दैनस कहिलेकाहीँ भित्र लागेको किराले पनि त्यसलाई खोक्रो बनाउँछ। संगठनको जीवन पनि यस्तै हुन्छ। बाहिरी आक्रमणभन्दा पहिले भित्री कमजोरीहरूले त्यसलाई कमजोर बनाउँछन्। ती कमजोरीहरू बन्दुक बोकेर आउँदैनन्, नारा लगाएर पनि आउँदैनन्। तिनीहरू मानिसको मनभित्र जन्मिन्छन्, व्यवहारमा देखापर्छन् र विस्तारै संगठनात्मक संस्कृतिमा फैलिन थाल्छन्।
यस प्रक्रियाको पहिलो रूप व्यक्तिवाद हो।व्यक्तिवाद भनेको व्यक्तिको अस्तित्व स्वीकार गर्नु होइन। प्रत्येक व्यक्तिको सम्मान, विचार र व्यक्तित्वको विकास आवश्यक छ। व्यक्तिवाद तब जन्मिन्छ, जब व्यक्तिले आफूलाई संगठनभन्दा ठूलो ठान्न थाल्छ। उसलाई लाग्न थाल्छ,ूमेरो विचार नै अन्तिम होू, ूम नभए संगठन चल्दैनू, ूमेरो निर्णय नै सही हो।ू यही मानसिकताबाट सामूहिकता कमजोर हुन्छ।
क्रान्तिकारी संगठनमा व्यक्ति आवश्यक हुन्छ, तर संगठनभन्दा ठूलो व्यक्ति कहिल्यै हुँदैन। किनभने संगठन हजारौँ मानिसको सामूहिक अनुभवबाट बनेको हुन्छ। एउटा व्यक्तिले गल्ती गर्न सक्छ, तर सामूहिक प्रक्रियाले त्यो गल्ती सच्याउने सम्भावना राख्छ। यही कारण विधि–पद्धतिलाइ व्यक्तिभन्दा माथि राखिन्छ।
व्यक्तिवादको अर्को रूप पदकेन्द्रित सोच हो। जब जिम्मेवारीभन्दा पद महत्त्वपूर्ण बन्न थाल्छ, तब संगठन सेवा गर्ने माध्यम नभएर व्यक्तिगत प्रतिष्ठाको माध्यम बन्छ। यस्तो अवस्थामा व्यक्तिले संगठनलाई आफ्नो विकासको साधन ठान्छ, समाज परिवर्तनको साधन होइन। पद पाएसम्म ऊ अनुशासित देखिन्छ, पद नपाएपछि असन्तुष्ट बन्छ। यसरी अनुशासन सिद्धान्तमा होइन, पदमा निर्भर हुन पुग्छ।
महत्त्वाकाङ्क्षा मानिसको स्वाभाविक गुण हो। प्रगति गर्ने इच्छा, अध्ययन गर्ने आकाङ्क्षा, नेतृत्व गर्ने क्षमता विकास गर्ने प्रयास, समाजका लागि ठूलो योगदान दिने चाहना, यी सबै सकारात्मक महत्त्वाकाङ्क्षा हुन्। यिनले मानिसलाई अगाडि बढाउँछन्।तर महत्त्वाकाङ्क्षाले जब आफ्नो केन्द्र परिवर्तन गर्छ, त्यहीँबाट समस्या सुरु हुन्छ। समाजभन्दा आफू ठूलो देखिनुपर्ने इच्छा, जिम्मेवारीभन्दा अधिकार बढी खोज्ने प्रवृत्ति, योगदानभन्दा मान–सम्मानको अपेक्षा, सेवाभन्दा पदप्रतिको आकर्षण—यिनले स्वस्थ महत्त्वाकाङ्क्षालाई पदलोलुपतामा रूपान्तरण गर्छन्।
महत्त्वाकाङ्क्षा नियन्त्रण नभए आगोजस्तै हुन्छ। चुलोभित्रको आगोले खाना पकाउँछ, घर उज्यालो पनि बनाउँछ। त्यही आगो नियन्त्रण बाहिर गयो भने घर नै जलाउँछ। त्यसैले महत्त्वाकाङ्क्षा पनि उद्देश्यद्वारा निर्देशित हुनुपर्छ। उद्देश्य हराएपछि महत्त्वाकाङ्क्षाले संगठनलाई जलाउन थाल्छ।
व्यक्तिगत कुण्ठा पनि संगठनलाई भित्रैबाट कमजोर बनाउने अर्को गम्भीर समस्या हो। कुण्ठा प्रायः तत्काल जन्मिँदैन। यो लामो समयसम्म सङ्कलित असन्तुष्टि, अपेक्षा, तुलना र आत्मकेन्द्रित सोचको परिणाम हो। आफूले चाहेको जिम्मेवारी नपाउनु, आफ्ना सुझाव स्वीकार नहुनु, आफूलाई पर्याप्त मूल्याङ्कन नगरिएको अनुभव हुनु, वा अरूको सफलतालाई सहज रूपमा स्वीकार गर्न नसक्नु ,यस्ता अवस्थाबाट कुण्ठा विस्तारै बढ्न थाल्छ।
कुण्ठित व्यक्तिले समस्याको समाधान खोज्दैन, दोषी खोज्न थाल्छ। ऊ आफ्ना कमजोरीभन्दा अरूका कमजोरी देख्न थाल्छ। आलोचना सुधारका लागि होइन, चोट पुर्याउनका लागि गर्न थाल्छ। उसको बोलीमा तर्कभन्दा कटाक्ष बढी हुन्छ। व्यवहारमा जिम्मेवारीभन्दा असन्तुष्टि बढी देखिन्छ। यहींबाट संगठनभित्र नकारात्मक वातावरण निर्माण हुन थाल्छ।
आग्रह र पूर्वाग्रहबीचको अन्तर बुझ्नु पनि अत्यन्त आवश्यक छ। आग्रह भनेको कुनै विचारप्रतिको दृढ प्रतिबद्धता हो। यस्तो प्रतिबद्धता अध्ययन, अनुभव र व्यवहारबाट निर्माण हुन्छ। आग्रह भएको मानिसले आफ्नो विचारको रक्षा गर्छ, तर नयाँ तथ्य भेटिएमा त्यसलाई पुनर्विचार पनि गर्छ।पूर्वाग्रह भने त्यसको ठीक विपरीत हो। पूर्वाग्रहले पहिले निष्कर्ष बनाउँछ, त्यसपछि त्यसलाई पुष्टि गर्ने तर्क खोज्छ। यसले सत्यभन्दा आफ्नो अहम् बचाउन खोज्छ। त्यसैले आग्रहले ज्ञान बढाउँछ, पूर्वाग्रहले ज्ञान बन्द गर्छ।
संगठनभित्र बहस आवश्यक हुन्छ। मतभेद पनि आवश्यक हुन्छ। तर जब बहसको उद्देश्य सत्यको खोजी नभएर व्यक्तिको पराजय हुन्छ, त्यहाँबाट पूर्वाग्रह जन्मिन्छ। त्यसपछि तर्कको ठाउँ भावनाले लिन्छ, प्रमाणको ठाउँ हल्लाले लिन्छ, र संगठनात्मक संस्कृतिको ठाउँ गुटीय संस्कृतिले लिन थाल्छ।
गुटबन्दी कुनै सिद्धान्तबाट सुरु हुँदैन। यसको सुरुआत विश्वासको संकटबाट हुन्छ। जब व्यक्ति संस्थाभन्दा व्यक्तिगत सम्बन्धमा बढी निर्भर हुन थाल्छ, जब निर्णय सिद्धान्तका आधारमा होइन ूमेरो मान्छेू र ूतिम्रो मान्छेू को आधारमा हुन थाल्छ, त्यहीँबाट गुट निर्माण हुन्छ। गुटबन्दीले संगठनलाई दुई भागमा मात्र विभाजन गर्दैनस यसले सत्यलाई पनि दुई भागमा विभाजन गर्छ। एउटै घटना आफ्ना लागि ठीक र अर्काका लागि बेठीक देखिन थाल्छ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास पढ्दा एउटा गम्भीर शिक्षा प्राप्त हुन्छ। धेरै विभाजनहरू सैद्धान्तिक बहसबाट सुरु भएजस्तो देखिए पनि तिनको गहिराइमा नेतृत्वप्रतिको अविश्वास, व्यक्तिवाद, असहिष्णुता, संगठनात्मक प्रक्रियाको कमजोरी र गुटीय मनोविज्ञानले ठूलो भूमिका खेलेको पाइन्छ। यसबाट एउटा स्पष्ट शिक्षा लिनुपर्छ,संगठनलाई नष्ट गर्ने सबैभन्दा ठूलो शत्रु सधैँ बाहिर हुँदैनस ऊ कहिलेकाहीँ हाम्रो आफ्नै सोच, व्यवहार र संस्कृतिभित्र लुकेको हुन्छ।
यसको समाधान दमन होइन, चेतनाको विकास हो। व्यक्तिलाई चुप लगाएर संगठन बलियो हुँदैन। व्यक्तिलाई सही विधि–पद्धति, आत्मसमीक्षा, अध्ययन, जिम्मेवारी र सामूहिक संस्कृतितर्फ उन्मुख गराएर मात्र संगठन सुदृढ हुन्छ। जहाँ विचारले व्यक्तिवादलाई नियन्त्रण गर्छ, विधि–पद्धतिले महत्त्वाकाङ्क्षालाई मर्यादित बनाउँछ, आत्मसमीक्षाले कुण्ठालाई रूपान्तरण गर्छ, र सामूहिकताले गुटबन्दीलाई निष्प्रभावी बनाउँछ, त्यहाँ संगठन दीर्घकालसम्म जीवन्त रहन्छ।
यस खण्डको मूल निष्कर्ष यही हो कि व्यक्तिवाद, पदलोलुपता, कुण्ठा, पूर्वाग्रह र गुटबन्दी कुनै आकस्मिक घटना होइनन्। तिनीहरू संगठनात्मक संस्कृतिको कमजोरीका लक्षण हुन्। स्वस्थ संगठनले मानिसलाई काम गर्ने सीप मात्र सिकाउँदैनस उसलाई आफ्नो अहम् नियन्त्रण गर्न, सत्य स्वीकार गर्न, सामूहिकताको सम्मान गर्न र व्यक्तिगत स्वार्थलाई साझा उद्देश्यमा रूपान्तरण गर्न पनि सिकाउँछ। यही शिक्षा बिना अनुशासन अधुरो रहन्छ, नेतृत्व अस्थिर हुन्छ र समाज परिवर्तनको सपना कमजोर बन्दै जान्छ।
नेतृत्वको निर्माण, चरित्र र नैतिक अनुशासन-
नेतृत्व पदले होइन, आचरणले स्थापित हुन्छ।इतिहासले कहिल्यै पदलाई महान् बनाएको छैनस महान् आचरणले पदलाई सम्मानित बनाएको छ। पद पाउँदैमा मानिस नेता हुँदैन। नेतृत्व कुनै नियुक्तिपत्रले दिने अधिकार होइन, जनविश्वासले प्रदान गर्ने नैतिक जिम्मेवारी हो। पद संगठनले दिन सक्छ, तर नेतृत्व जनताले र कार्यकर्ताले मात्र स्वीकार गर्छन्। यही कारण नेतृत्वको प्रश्न संगठनको सबैभन्दा संवेदनशील प्रश्न हो।
कम्युनिष्ट आन्दोलनमा नेतृत्वको अर्थ आदेश दिने व्यक्ति होइन, दिशा देखाउने व्यक्ति हो। सबैभन्दा अगाडि उभिने व्यक्ति मात्र नेता होइनस कठिन परिस्थितिमा पनि सबैभन्दा पछिसम्म जिम्मेवारी बहन गर्ने व्यक्ति नेता हो। भाषणले नेता बनाउँदैन, व्यवहारले बनाउँछ। नाराले नेता बनाउँदैन, त्यागले बनाउँछ। पदले नेता बनाउँदैन, चरित्रले बनाउँछ।
नेतृत्व जन्मजात गुण होइन। केही व्यक्तिमा निश्चित क्षमता जन्मदेखि हुन सक्छ, तर नेतृत्व आफैँ निर्माण हुने प्रक्रिया हो। अध्ययन, श्रम, संघर्ष, अनुशासन, आत्मसमीक्षा, जनतासँगको सम्बन्ध, सफलता र असफलताबाट सिक्ने क्षमताले नेतृत्वलाई परिपक्व बनाउँछ। आफूलाई पूर्ण ठान्ने व्यक्ति कहिल्यै पूर्ण नेता बन्न सक्दैन। सिक्न छोडेको दिनदेखि नेतृत्वको विकास पनि रोकिन्छ।
नेताको पहिलो गुण सत्यप्रतिको निष्ठा हो।
संगठनलाई खुसी पार्न, भीडलाई ताली बजाउन वा पद जोगाउन सत्य लुकाउने व्यक्ति अस्थायी रूपमा सफल देखिन सक्छ, तर दीर्घकालीन नेतृत्व निर्माण गर्न सक्दैन। सत्य कहिलेकाहीँ अप्रिय हुन्छ, तर असत्य सधैँ विनाशकारी हुन्छ। जनताले ढिलो वा चाँडो सत्य र असत्यबीचको अन्तर छुट्याउँछन्।
दोस्रो गुण हो, आत्मअनुशासन। आफूले पालना नगरेको नियम अरूलाई पालना गराउन खोज्ने नेतृत्वको नैतिक अधिकार टिक्दैन। बैठकमा समयको कुरा गर्ने नेता आफैँ ढिलो पुग्छ भने उसको भाषणभन्दा उसको व्यवहारले शिक्षा दिन्छ।आर्थिक शुद्धताको कुरा गर्ने नेतृत्व आफैँ अपारदर्शी भयो भने संगठनभित्र विश्वास घट्न थाल्छ। त्यागको कुरा गर्ने व्यक्ति सुविधाको खोजीमा लाग्यो भने कार्यकर्ताको मनमा प्रश्न उठ्न थाल्छ। नेतृत्वको सबैभन्दा प्रभावकारी प्रशिक्षण भाषण होइन, उदाहरण हो।
तेस्रो गुण हो, सुन्न सक्ने क्षमता। धेरै मानिस बोल्न सिक्छन्, थोरैले मात्र सुन्न सिक्छन्। सुन्न नसक्ने नेतृत्व विस्तारै आफ्नै विचारको बन्दी बन्छ। कार्यकर्ताको अनुभव, जनताको पीडा, सहकर्मीको सुझाव र आलोचकको प्रश्न सुन्न सक्ने नेतृत्वले आफ्नो दृष्टि निरन्तर फराकिलो बनाउँछ। सुन्नु कमजोरी होइनस परिपक्वताको चिन्ह हो।
चौथो गुण हो, निर्णय गर्ने साहस। धेरै समयसम्म अन्योलमा बस्ने नेतृत्वले संगठनलाई दिशाहीन बनाउँछ। तर हतारमा गरिएको निर्णय पनि त्यत्तिकै हानिकारक हुन सक्छ। त्यसैले सही नेतृत्वले पहिले तथ्य सङ्कलन गर्छ, साथीहरूसँग छलफल गर्छ, परिणामको मूल्याङ्कन गर्छ र त्यसपछि निर्णय लिन्छ। निर्णय भएपछि त्यसको जिम्मेवारीबाट भाग्दैन। गल्ती भए स्वीकार गर्छ, सही भए पनि घमण्ड गर्दैन।
नेतृत्व र लोकप्रियता एउटै कुरा होइनन्। लोकप्रिय व्यक्ति सबैलाई खुसी बनाउन खोज्न सक्छ। नेता भने आवश्यक पर्दा अप्रिय निर्णय गर्न पनि तयार हुन्छ। यदि संगठनको दीर्घकालीन हितका लागि तत्काल केही असुविधा सहनुपर्छ भने नेतृत्व त्यसबाट भाग्दैन। उसले क्षणिक प्रशंसाभन्दा ऐतिहासिक जिम्मेवारीलाई महत्त्व दिन्छ।
यही सन्दर्भमा नैतिक अनुशासनको प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ। नैतिक अनुशासन कानुनी बाध्यता होइनस आत्मिक प्रतिबद्धता हो। कसैले नहेरेको अवस्थामा पनि सही काम गर्न सक्नु नै नैतिक अनुशासन हो। पदको दुरुपयोग नगर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, महिलाप्रति सम्मानजनक व्यवहार गर्नु, आर्थिक विषयमा पारदर्शी रहनु, व्यक्तिगत सम्बन्धलाई संगठनात्मक निर्णयमाथि हावी हुन नदिनु, यी सबै नैतिक अनुशासनका अभिन्न पक्ष हुन्।
नेपालको कम्युनिष्ट आन्दोलनमा जनताले नेताबाट धेरै ठूलो अपेक्षा गरेका थिए। त्याग, सादगी, इमानदारी र जनपक्षधरता कम्युनिष्ट नेतृत्वको पहिचान मानिन्थ्यो। यही नैतिक आधारले आन्दोलनले कठिन परिस्थितिमा पनि जनविश्वास प्राप्त गर्यो। तर जहाँ–जहाँ नेतृत्व र व्यवहारबीच दूरी बढ्यो, त्यहाँ–त्यहाँ जनविश्वास पनि कमजोर हुँदै गयो। इतिहासले यसबाट एउटा स्पष्ट शिक्षा दिएको छ, वैचारिक विचलनभन्दा पहिले धेरैपटक नैतिक विचलन सुरु हुन्छ।
नेतृत्वको अर्को परीक्षा आलोचनाको समयमा हुन्छ। प्रशंसाले धेरैलाई खुसी बनाउँछ, आलोचनाले वास्तविक चरित्र देखाउँछ। आलोचना सुन्नासाथ रिसाउने, प्रश्न उठाउनेलाई शत्रु ठान्ने, असहमतिलाई दमन गर्न खोज्ने नेतृत्व विस्तारै वास्तविकताबाट टाढा जान्छ। तर आलोचनाभित्र लुकेको सत्य पहिचान गर्न सक्ने नेतृत्वले आफ्नो कमजोरीलाई शक्तिमा बदल्न सक्छ।
सामूहिक नेतृत्व पनि नैतिक अनुशासनसँग जोडिएको विषय हो। सामूहिक नेतृत्व भनेको जिम्मेवारी बाँड्ने संस्कृति हो, जिम्मेवारीबाट भाग्ने उपाय होइन। जहाँ सबैले अधिकार खोज्छन् तर कसैले उत्तरदायित्व लिन चाहँदैनन्, त्यहाँ सामूहिक नेतृत्व होइन, सामूहिक गैरजिम्मेवारी जन्मिन्छ। स्वस्थ नेतृत्वले सफलता साझा गर्छ, असफलताको जिम्मेवारी आफ्नो काँधमा लिन्छ। यही नै नेतृत्वको नैतिक उचाइ हो।
नेतृत्वको अन्तिम परीक्षा कठिन समयमा हुन्छ। अनुकूल परिस्थितिमा धेरै मानिस नेता देखिन्छन्। प्रतिकूल परिस्थितिमा पनि संयम, विवेक, साहस र अनुशासन कायम राख्न सक्ने व्यक्ति मात्र वास्तविक नेता सिद्ध हुन्छ। संकटको समयमा नेतृत्वको बोलीभन्दा उसको धैर्य, निर्णयभन्दा उसको नैतिकता र शक्तिभन्दा उसको चरित्र बढी महत्वपूर्ण हुन्छ।
यस खण्ड्स्कोको निष्कर्ष स्पष्ट छ। नेतृत्व कुनै विशेषाधिकार होइन, निरन्तर आत्मनिर्माणको प्रक्रिया हो। पदले अधिकार दिन्छ, चरित्रले विश्वास दिन्छ। नियमले अनुशासन कायम गर्न सक्छ, तर नैतिक अनुशासनले मात्र प्रेरणा दिन सक्छ। संगठनलाई दीर्घकालसम्म बलियो बनाउने शक्ति नेताको पदमा होइन, उसको सत्यनिष्ठा, आत्मअनुशासन, उत्तरदायित्व, सादगी र जनताप्रतिको इमानदार प्रतिबद्धतामा निहित हुन्छ। यही नै नेतृत्वको वास्तविक उचाइ हो, यही क्रान्तिकारी संगठनको नैतिक मेरुदण्ड हो।
नेपालको कम्युनिष्ट आन्दोलन ः उपलब्धि, कमजोरी र संगठनात्मक शिक्षा
नेपालको कम्युनिष्ट आन्दोलन राजनीतिक दलहरूको इतिहास मात्र होइनस यो नेपाली समाजमा परिवर्तनको चेतना, वर्गीय संघर्ष, लोकतान्त्रिक अधिकार र सामाजिक न्यायको खोजीको इतिहास पनि हो। यस आन्दोलनले देशको राजनीतिक विकासमा गहिरो प्रभाव पारेको छ। तर यस आन्दोलनको यात्रा उपलब्धिहरुको मात्र कथा होइनस यसमा सफलता, असफलता, एकता, विभाजन, त्याग, विचलन र पुनःसंगठनका अनेक अध्याय छन्। इतिहासको मूल्याङ्कन गर्दा भावनाले होइन, तथ्य र अनुभवले मार्गदर्शन गर्नुपर्छ। किनभने इतिहासको उद्देश्य कसैको प्रशंसा वा निन्दा गर्नु होइनस भविष्यका लागि शिक्षा दिनु हो।
नेपालमा कम्युनिष्ट आन्दोलनको विकास अत्यन्त कठिन परिस्थितिमा भयो। प्रतिबन्ध, गिरफ्तारी, भूमिगत जीवन, निर्वासन, आर्थिक अभाव र राज्यको दमनका बीच पनि हजारौँ कार्यकर्ताले आफ्नो जीवन आन्दोलनमा समर्पित गरे। यही त्यागका कारण कम्युनिष्ट विचार गाउँ–गाउँसम्म पुग्यो, किसान, मजदुर, विद्यार्थी, महिला, बुद्धिजीवी र युवामाझ नयाँ राजनीतिक चेतना फैलियो। यो आन्दोलनले नेपाली समाजमा समानता, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र जनअधिकारका प्रश्नलाई स्थापित गर्यो। यो यसको ऐतिहासिक योगदान हो।
तर उपलब्धिसँगै एउटा अर्को यथार्थ पनि समानान्तर रूपमा विकसित भयो। आन्दोलन विस्तार हुँदै जाँदा संगठन विस्तार भयो, नेतृत्वको तह बढ्यो, प्रभाव बढ्यो। तर संगठनात्मक संस्कृतिलाई त्यही अनुपातमा सुदृढ बनाउन सकिएन। विचारको विकासभन्दा छिटो पदको विस्तार भयो। जिम्मेवारीभन्दा अधिकारको आकर्षण बढ्न थाल्यो। यहीँबाट अनेक अन्तर्विरोधहरू सतहमा देखिन थाले।
नेपालको कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो संगठनात्मक समस्या बारम्बार हुने विभाजन रह्यो। सबै विभाजन एउटै कारणले भएका थिएनन्। कतिपय अवस्थामा नीति, कार्यक्रम र रणनीतिका गम्भीर मतभेद थिए। तर धेरै अवस्थामा वैचारिक मतभेद समाधान गर्ने संगठनात्मक संस्कृतिको अभावले मतभेदलाई विभाजनमा रूपान्तरण गरिदियो। जहाँ छलफल हुनुपर्थ्यो, त्यहाँ आरोप–प्रत्यारोप भयो। जहाँ आत्मसमीक्षा हुनुपर्थ्यो, त्यहाँ आत्मरक्षा भयो। जहाँ विधि–पद्धतिले काम गर्नुपर्थ्यो, त्यहाँ व्यक्तिगत सम्बन्ध र गुटीय प्रभाव हावी भए।
इतिहासले देखाएको अर्को पक्ष नेतृत्व र संगठनबीचको सम्बन्ध हो। जबसम्म नेतृत्वले आफूलाई संगठनको सेवक ठान्यो, संगठन बलियो भयो। जब नेतृत्व संगठनभन्दा माथि उठ्न खोज्यो, त्यहीँबाट असन्तुलन सुरु भयो। व्यक्तिको योगदान महत्त्वपूर्ण हुन्छ, तर संगठनलाई व्यक्तिको प्रभावमा सीमित गर्न खोज्दा संस्थागत संस्कृति कमजोर बन्छ। इतिहासले बारम्बार पुष्टि गरेको यही नियमलाई बेवास्ता गर्दा आन्दोलनले अनावश्यक मूल्य चुकाएको छ।
कार्यकर्ताको भूमिकामा पनि परिवर्तन आयो। प्रारम्भिक चरणका धेरै कार्यकर्ताका लागि आन्दोलन जीवनको उद्देश्य थियो। कठिनाइ, अभाव र जोखिमलाई उनीहरूले स्वाभाविक रूपमा स्वीकार गरे। पछि आन्दोलनको प्रभाव बढ्दै जाँदा नयाँ पुस्ता पनि जोडियो। यो सकारात्मक परिवर्तन थियो। तर त्यहीसँगै केही ठाउँमा आन्दोलनलाई सेवा र त्यागको विद्यालयभन्दा अवसरको माध्यमका रूपमा हेर्ने प्रवृत्ति पनि देखा पर्न थाल्यो। संगठनले समयमै यस्तो प्रवृत्तिलाई वैचारिक प्रशिक्षण र नैतिक संस्कृतिबाट रूपान्तरण गर्न नसक्दा समस्या गहिरिँदै गयो।
आन्दोलनले अर्को महत्त्वपूर्ण शिक्षा पनि दिएको छ। जनतासँगको सम्बन्ध कमजोर भयो भने ठूलो संगठन पनि भित्रैबाट कमजोर हुन थाल्छ। जनताको विश्वास भाषणले टिक्दैन। त्यो व्यवहारबाट टिक्छ। कार्यकर्ताको जीवनशैली, नेताको सादगी, निर्णयको पारदर्शिता, जनताको समस्याप्रतिको संवेदनशीलता र संगठनको उत्तरदायित्वले मात्र जनविश्वास निर्माण हुन्छ। जनताको जीवनबाट टाढिँदै गएको संगठन विस्तारै आफ्नै संरचनाभित्र सीमित हुन पुग्छ।
नेपालको कम्युनिष्ट आन्दोलनको अनुभवले आलोचना र आत्मालोचनाको संस्कृतिबारे पनि गहिरो शिक्षा दिएको छ। जहाँ आलोचना शत्रुता बन्यो, त्यहाँ एकता कमजोर भयो। जहाँ आत्मालोचना औपचारिक कर्मकाण्डमा सीमित रह्यो, त्यहाँ गल्ती दोहोरिरह्यो। तर जहाँ आलोचना सुधारका लागि प्रयोग भयो, त्यहाँ संगठनले नयाँ ऊर्जा प्राप्त गर्यो। त्यसैले आलोचना र आत्मालोचना संगठनको कमजोरी होइनस त्यसको जीवन्तताको प्रमाण हो।
संगठनात्मक अनुशासनको प्रश्न पनि यही अनुभवसँग जोडिन्छ। अनुशासन आदेशले केही समय कायम रहन सक्छ, तर दीर्घकालसम्म चेतनाले मात्र टिक्छ। विधि–पद्धति सबैका लागि समान रूपमा लागू भए मात्र त्यसप्रति सम्मान पैदा हुन्छ। नियम कार्यकर्ताका लागि मात्र र अपवाद नेतृत्वका लागि भयो भने अनुशासन होइन, असन्तुष्टि बढ्छ। संगठनको नैतिक शक्ति त्यतिबेला बढ्छ, जब नेतृत्वले आफूलाई नियमभन्दा माथि होइन, नियमभित्र राख्छ।
नेपालको कम्युनिष्ट आन्दोलनले यो पनि देखाएको छ कि संगठनलाई बाहिरी शत्रुभन्दा आन्तरिक आत्मसन्तुष्टिले बढी कमजोर बनाएकोछ। आन्दोलनले विगतका उपलब्धिलाई सम्मान गर्नुपर्छ, तर त्यसैमा रमाउन ठिक हुदैन। इतिहास गौरवको विषय हो, तर भविष्य निर्माणको विकल्प होइन। प्रत्येक पुस्ताले आफ्नो जिम्मेवारी आफैँ पूरा गर्नुपर्छ। पुरानो त्याग नयाँ पुस्ताका लागि प्रेरणा हुन सक्छ।
आजको पुस्ताका लागि सबैभन्दा ठूलो शिक्षा यही हो कि विचार र संगठनलाई अलग गर्न सकिँदैन। विचारले दिशा दिन्छ, संगठनले त्यसलाई जीवन दिन्छ। संगठनात्मक संस्कृति बलियो भए विचारले जनतासम्म पुग्ने बाटो बनाउँछ। संस्कृति कमजोर भयो भने सही विचार पनि प्रभावहीन हुन सक्छ।
यस खण्डको निष्कर्ष स्पष्ट छ, नेपालको कम्युनिष्ट आन्दोलन उपलब्धि र कमजोरी दुवैबाट भरिएको एउटा समृद्ध अनुभव हो। उपलब्धिबाट आत्मविश्वास लिनुपर्छ, कमजोरीबाट शिक्षा लिनुपर्छ। इतिहासलाई पूजा गर्ने होइन, बुझ्ने विषय बनाउनु पर्छ। किनभने इतिहासको सम्मान भनेको त्यसका सफलतालाई दोहोर्याउनु मात्र होइनस त्यसका कमजोरीहरू पुनः नदोहोर्याउने संकल्प गर्नु पनि हो। यही चेतनाबाट मात्र भविष्यको क्रान्तिकारी संगठन अझ परिपक्व, उत्तरदायी र जनविश्वासको आधारमा विकसित हुन सक्छ।
वर्तमान नेपालको राजनीतिक परिस्थिति र क्रान्तिकारी संगठन निर्माणका चुनौती
समाज स्थिर हुँदैन। उत्पादन, प्रविधि, शिक्षा, सञ्चार, अर्थतन्त्र, संस्कृति र राजनीतिक सम्बन्धमा आउने परिवर्तनसँगै समाजको सोच, व्यवहार र सङ्घर्षका स्वरूप पनि बदलिन्छन्। त्यसैले हिजोको अनुभव आज पनि उपयोगी हुन सक्छ, तर हिजोको विधिले मात्र आजका सबै समस्या समाधान गर्न सकिँदैन। यही यथार्थलाई नबुझ्दा आन्दोलन समयभन्दा पछाडि पर्न सक्छ।
नेपाल अहिले तीव्र परिवर्तनको चरणमा छ। संविधान निर्माणपछि राजनीतिक संरचना फेरिएको छ। सङ्घीय व्यवस्था लागू भएको छ। स्थानीय सरकारदेखि केन्द्रसम्म नयाँ संस्थागत संरचना बनेका छन्। सूचना–प्रविधिको विस्तारले समाजलाई नयाँ ढङ्गले जोडेको छ। विश्व अर्थतन्त्रसँग नेपालको सम्बन्ध पहिलेभन्दा धेरै गहिरिएको छ। लाखौँ युवा वैदेशिक रोजगारीमा छन्। सामाजिक सञ्जालले सूचना प्रवाहलाई अत्यन्त तीव्र बनाएको छ। यी सबै परिवर्तनले राजनीतिक संगठनको कार्यशैलीलाई पनि पुनर्विचार गर्न बाध्य बनाएका छन्।
आजको कार्यकर्ताले पहिलेभन्दा धेरै सूचना प्राप्त गर्छ, तर सूचना धेरै हुनु र सही चेतना हुनु एउटै कुरा होइन। अपुष्ट सूचना, अफवाह, आधा–सत्य र नियोजित प्रचारले पनि समाजलाई प्रभाव पारिरहेका छन्। कुनै समय एउटा हल्ला गाउँबाट गाउँ पुग्न हप्तौँ लाग्थ्योस अहिले केही मिनेटमै देशभर फैलिन्छ। यस्तो अवस्थामा संगठनात्मक गोपनीयता, सूचना अनुशासन र तथ्यको जिम्मेवार प्रयोग पहिलेभन्दा धेरै महत्त्वपूर्ण बनेको छ।
सामाजिक सञ्जालले अभिव्यक्तिको नयाँ अवसर दिएको छ। यसले जनतासँग प्रत्यक्ष संवाद गर्ने माध्यम पनि उपलब्ध गराएको छ। तर यही माध्यमले आवेगलाई तर्कभन्दा अगाडि राख्ने, प्रतिक्रियालाई विचारभन्दा ठूलो बनाउने र व्यक्तिगत लोकप्रियतालाई संगठनात्मक जिम्मेवारीभन्दा माथि राख्ने जोखिम पनि बढाएको छ। कुनै कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेको एउटा गैरजिम्मेवार अभिव्यक्तिले वर्षौँ लगाएर निर्माण भएको संगठनको प्रतिष्ठामा क्षति पुर्याउन सक्छ। त्यसैले डिजिटल युगमा अनुशासनको अर्थ बैठकमा मात्र सीमित रहँदैनस सार्वजनिक अभिव्यक्तिमा पनि समान रूपमा लागू हुन्छ।
युवापुस्ताको मनोविज्ञान पनि परिवर्तन भएको छ। आजका युवाले प्रश्न गर्छन्, प्रमाण खोज्छन् र व्यवहारलाई भाषणसँग तुलना गर्छन्। उनीहरूलाई नाराले आकर्षित गर्न सकिँदैन। उनीहरूले नेतृत्वको जीवनशैली, इमानदारी, पारदर्शिता र कार्यक्षमता हेर्छन्। यसैले आजको क्रान्तिकारी संगठनले युवालाई आदेश दिने होइन, उनीहरूसँग संवाद गर्ने संस्कृतिको विकास गर्नुपर्छ। प्रश्नलाई अनुशासनहीनता होइन, चेतनाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्छ।आर्थिक क्षेत्रमा पनि नयाँ चुनौतीहरू देखा परेका छन्। बेरोजगारी, वैदेशिक पलायन, कृषि संकट, बढ्दो असमानता, बजारको दबाब र उपभोक्तावादी संस्कृतिले सामाजिक सम्बन्धमा गहिरो प्रभाव पारेका छन्। जब समाजमा सफलता सम्पत्ति र उपभोगबाट मात्र मापन हुन थाल्छ, त्यतिबेला त्याग, सादगी र सामूहिकताको संस्कृति कमजोर हुने खतरा बढ्छ। क्रान्तिकारी संगठनले यही परिवेशमा आफ्ना कार्यकर्तालाई वैचारिक रूपमा दृढ र नैतिक रूपमा सुदृढ बनाउनु आवश्यक हुन्छ।
आज संगठनले अर्को चुनौती पनि सामना गरिरहेको छ,व्यक्तिको ब्रान्ड र संगठनको पहिचानबीचको असन्तुलन। सञ्चारका आधुनिक माध्यमले व्यक्तिलाई छिट्टै लोकप्रिय बनाउन सक्छन्। लोकप्रियता उपयोगी हुन सक्छ, तर यदि त्यो संगठनभन्दा माथि पुग्यो भने व्यक्तिकेन्द्रित राजनीति बलियो हुन्छ। स्वस्थ संगठनले व्यक्तिको क्षमता विकास गर्छ, तर त्यस क्षमतालाई संस्थागत उद्देश्यसँग जोडेर प्रयोग गर्छ।
यसका साथै, राजनीतिक प्रतिस्पर्धा पनि पहिलेभन्दा जटिल भएको छ। जनताले विचार मात्र सुन्न चाहँदैनन्स परिणाम पनि हेर्न चाहन्छन्। त्यसैले संगठनले आफ्ना कार्यक्रम, निर्णय र व्यवहारलाई जनताको दैनिक जीवनसँग जोड्न सक्नुपर्छ। जनताको दुःख–सुखबाट टाढा रहेको संगठनले जतिसुकै राम्रो दस्तावेज बनाए पनि जनविश्वास प्राप्त गर्न सक्दैन।
यस्ता चुनौतीबीच क्रान्तिकारी संगठनको सबैभन्दा ठूलो शक्ति फेरि पनि संगठनात्मक संस्कृति नै हो। स्पष्ट विचार, विधि–पद्धतिको सम्मान, अनुशासन, नैतिक नेतृत्व, जनतासँग जीवित सम्बन्ध, अध्ययनशील कार्यकर्ता र निरन्तर आत्मसमीक्षाको संस्कृतिले मात्र संगठनलाई बदलिँदो परिस्थितिमा प्रभावकारी बनाउन सक्छ।
आजको नेपालले नयाँ उत्तर खोजिरहेको छ। ती उत्तर पुराना अनुभवलाई अस्वीकार गरेर पनि प्राप्त हुँदैनन्, र नयाँ परिस्थितिलाई बेवास्ता गरेर पनि प्राप्त हुँदैनन्। इतिहासको शिक्षालाई वर्तमानको यथार्थसँग जोडेर भविष्यको बाटो निर्माण गर्नु नै क्रान्तिकारी संगठनको परिपक्वता हो।
यस खण्डको निष्कर्ष यही हो कि बदलिएको समयसँगै कार्यशैली परिवर्तन हुन सक्छ, प्रविधि परिवर्तन हुन सक्छ, प्रचारका माध्यम परिवर्तन हुन सक्छन्, तर संगठनलाई टिकाइराख्ने आधारभूत मूल्यहरू परिवर्तन हुँदैनन्। सत्यनिष्ठा, अनुशासन, जनउत्तरदायित्व, सामूहिक नेतृत्व, विधि–पद्धतिको सम्मान र नैतिक चरित्र हिजो पनि आवश्यक थिए, आज पनि छन्, र भविष्यमा पनि रहनेछन्। बदलिने कुरा साधन हुन्स नबदलिने कुरा संगठनको आधारभूत संस्कृति हो।
प्रशिक्षण, संगठनात्मक संस्कृति र सक्षम कार्यकर्ता निर्माण
संगठन नेता कार्यकर्ताको सहभागीता र कृयाशीलताले बन्छ।कुनै पनि क्रान्तिकारी संगठनको वास्तविक शक्ति उसको कार्यालय, झण्डा, सदस्य सङ्ख्या वा दस्तावेजमा मात्र हुँदैन। ती सबै आवश्यक भए पनि निर्णायक पक्ष कार्यकर्ता हो। विचारलाई व्यवहारमा रूपान्तरण गर्ने, जनतासँग संगठनको सम्बन्ध जोड्ने, नीति र कार्यक्रमलाई जीवन्त बनाउने र कठिन परिस्थितिमा पनि आन्दोलनलाई निरन्तर अघि बढाउने शक्ति कार्यकर्तामै निहित हुन्छ। त्यसैले सक्षम कार्यकर्ता निर्माण गर्नु कुनै पनि क्रान्तिकारी पार्टीको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो।
कार्यकर्ता जन्मिँदैनन, निर्माण हुन्छन। यो निर्माण एकदिनको प्रशिक्षण, एउटा भाषण वा एउटा पुस्तक पढेर पूरा हुँदैन। यो निरन्तर चलिरहने प्रक्रिया हो। अध्ययन, संगठनात्मक जीवन, जनतासँगको सम्बन्ध, श्रम, आत्मसमीक्षा, अनुशासन र व्यवहारको एकताबाट कार्यकर्ता क्रमशः परिपक्व बन्छन। यही कारण प्रशिक्षणलाई कार्यक्रम होइन, संस्कृतिका रूपमा विकास गर्नुपर्छ।
धेरै संगठनमा प्रशिक्षणलाई वैचारिक कक्षासम्म सीमित गरिन्छ। सिद्धान्त पढाइन्छ, दस्तावेज बुझाइन्छ, इतिहास सुनाइन्छ। यी सबै आवश्यक छन्, तर यति मात्र पर्याप्त हुँदैन। यदि अध्ययनले व्यवहार परिवर्तन गरेन भने त्यो ज्ञान स्मरणशक्ति मात्र बन्छ। प्रशिक्षणको वास्तविक उद्देश्य जानकारी बढाउनु होइन, व्यक्तित्व निर्माण गर्नु हो।सक्षम कार्यकर्ताको पहिलो कर्तव्य अध्ययनशीलता हो। अध्ययन नगर्ने कार्यकर्ता केही समय अनुभवका आधारमा काम गर्न सक्छ, तर समय परिवर्तनसँगै ऊ पछाडि पर्न थाल्छ। अध्ययन भनेको पुस्तक पढ्नु मात्र होइन। समाज पढ्नु, जनताको जीवन बुझ्नु, आफ्ना कमजोरी पहिचान गर्नु, इतिहासबाट शिक्षा लिनु र नयाँ परिस्थितिको विश्लेषण गर्नु पनि अध्ययनकै भाग हुन्।
दोस्रो कर्तव्य श्रमशीलता हो। श्रमबाट टाढा भाग्ने कार्यकर्ताले जनताको दुःख बुझ्न सक्दैन। श्रम मानिसलाई विनम्र बनाउँछ, यथार्थसँग जोड्छ र अहङ्कारलाई नियन्त्रण गर्छ। इतिहासका सफल आन्दोलनहरूमा नेतृत्व र कार्यकर्ता श्रमबाट अलग थिएनन्। उनीहरूले श्रमलाई आर्थिक आवश्यकता मात्र होइन, नैतिक संस्कारका रूपमा पनि ग्रहण गरेका थिए।
तेस्रो कर्तव्य समयप्रतिको सम्मान हो। समयको मूल्य नबुझ्ने कार्यकर्ता जिम्मेवारीप्रति पनि गम्भीर हुन सक्दैन। बैठकमा ढिलो पुग्ने, जिम्मेवारी समयमा पूरा नगर्ने, निर्णय कार्यान्वयनमा आलस्य गर्ने बानी सानो कमजोरी जस्तो देखिए पनि यसले विस्तारै संगठनात्मक संस्कृतिलाई कमजोर बनाउँछ। अनुशासनको सुरुआत समय पालनबाट हुन्छ।
चौथो कर्तव्य सत्य बोल्ने साहस हो। संगठनलाई खुसी पार्न, नेतृत्वलाई खुसी पार्न वा आफ्ना कमजोरी लुकाउन असत्य बोल्ने संस्कृतिले अन्ततः संगठनलाई नै क्षति पुर्याउँछ। गल्ती स्वीकार गर्न सक्ने कार्यकर्ता नै भविष्यमा जिम्मेवार नेतृत्व बन्न सक्छ। गल्ती लुकाउने व्यक्ति केही समय बच्न सक्छ, तर संगठनको विश्वास गुमाउँछ।
संगठनात्मक संस्कृतिको अर्को आधार सामूहिक जीवन हो। क्रान्तिकारी कार्यकर्ता व्यक्तिगत जीवन बाँच्ने व्यक्ति मात्र होइन। उसले अरूसँग मिलेर काम गर्न, फरक विचार सुन्न, जिम्मेवारी बाँड्न र साझा निर्णय कार्यान्वयन गर्न सिक्नुपर्छ। सामूहिक जीवनले सहनशीलता, संयम, सहयोग र उत्तरदायित्वको विकास गर्छ। यही प्रक्रियाले व्यक्तिवादलाई नियन्त्रण गर्छ।
प्रशिक्षणको एउटा अत्यन्त महत्वपूर्ण पक्ष आलोचना र आत्मालोचनाको अभ्यास हो। यो कसैलाई होच्याउने वा दोषी ठहर गर्ने प्रक्रिया होइन। यो निरन्तर आत्मसुधारको माध्यम हो। आलोचनाले साथीको कमजोरी देखाउँछ भने आत्मालोचनाले आफ्नै कमजोरीसँग इमानदारीपूर्वक सामना गर्न सिकाउँछ। जहाँ यी दुवै प्रक्रिया स्वस्थ रूपमा सञ्चालन हुन्छन्, त्यहाँ संगठन निरन्तर सिक्ने संस्थामा रूपान्तरण हुन्छ।
आजको समयमा प्रविधिको प्रयोग पनि प्रशिक्षणको विषय बनेको छ। मोबाइल, सामाजिक सञ्जाल र डिजिटल माध्यमले कार्यकर्ताको प्रभाव बढाउन सक्छन्, तर विवेकविहीन प्रयोगले संगठनलाई क्षति पनि पुर्याउन सक्छ। कुनै सूचना साझा गर्नु अघि त्यसको सत्यता जाँच्ने, संगठनका आन्तरिक विषय सार्वजनिक नगर्ने, उत्तेजनामा प्रतिक्रिया नजनाउने र मर्यादित भाषा प्रयोग गर्ने बानी पनि आजको कार्यकर्ताको अनुशासनको अभिन्न अङ्ग हो।
सक्षम कार्यकर्ताले जनतासँगको सम्बन्धलाई सबैभन्दा ठूलो विद्यालय ठान्छ। जनताको घरमा पुग्नु, उनीहरूको समस्या सुन्नु, उनीहरूको श्रम र जीवनसँग आफूलाई जोड्नु, उनीहरूबाट सिक्नु,यिनै प्रक्रियाले कार्यकर्तालाई वास्तविक बनाउँछन्। जनताबाट टाढा बसेर जनताको नेतृत्व गर्न खोज्नु सम्भव हुँदैन। जनताले भाषणभन्दा व्यवहारलाई चाँडो मूल्याङ्कन गर्छन्।
संगठनले पनि कार्यकर्तालाई काम गर्ने साधनका रूपमा मात्र होइन, विकास गर्नुपर्ने सम्पत्तिका रूपमा हेर्नुपर्छ। प्रशिक्षण निरन्तर हुनुपर्छ। नयाँ पुस्तालाई जिम्मेवारीसँगै मार्गदर्शन दिनुपर्छ। अनुभव र ऊर्जाबीच पुल निर्माण गर्नुपर्छ। वरिष्ठले कनिष्ठलाई दबाउने होइन, विकास गर्ने संस्कृतिको निर्माण गर्नुपर्छ। कनिष्ठले पनि वरिष्ठको अनुभवलाई बोझ होइन, सम्पत्तिका रूपमा लिनुपर्छ।
अन्ततः संगठनात्मक संस्कृति कुनै दस्तावेजबाट निर्माण हुँदैन। त्यो दैनिक व्यवहारबाट निर्माण हुन्छ। अभिवादन गर्ने शैलीदेखि बैठक सञ्चालन गर्ने शैलीसम्म, आर्थिक पारदर्शितादेखि जनतासँगको व्यवहारसम्म, समय पालनदेखि गोपनीयताको सम्मानसम्म,यी सबैले संगठनको संस्कृति निर्माण गर्छन्। संस्कृति बिग्रन वर्षौं लाग्न सक्छ, तर सुधार्न झन् धेरै समय लाग्छ। त्यसैले संस्कृति निर्माणलाई दैनिक अभ्यास बनाउनु आवश्यक हुन्छ।
यस खण्डको निष्कर्ष स्पष्ट छ। सक्षम कार्यकर्ता कुनै पदले उत्पादन गरेको हुदैनस सही प्रशिक्षण, अनुशासित जीवन, अध्ययन, श्रम, जनतासँगको सम्बन्ध, आत्मसमीक्षा र संगठनात्मक संस्कृतिको संयुक्त परिणाम हो। जसरी एउटा राम्रो बीउलाई उर्वर माटो, पानी, घाम र समय चाहिन्छ, त्यसरी नै एउटा सक्षम क्रान्तिकारी कार्यकर्तालाई विचार, प्रशिक्षण, अनुशासन, जिम्मेवारी र नैतिक संस्कारको निरन्तर विकास चाहिन्छ। यिनै कार्यकर्ताहरूले संगठनलाई बलियो बनाउँछन्, र बलियो संगठनले नै इतिहासलाई नयाँ दिशातर्फ डोर्याउन सक्छ।
संश्लेषण,
संगठनको शक्ति विचारमा मात्र होइन, संगठनात्मक संस्कृतिमा पनि हुन्छ ,यो लेखको प्रारम्भमा एउटा आधारभूत प्रश्न उठाइएको थियो,किन एउटै उद्देश्य, एउटै विचार र एउटै इतिहास बोकेका संगठनहरू फरक–फरक परिणाममा पुग्छन्रु किन कतिपय संगठन दशकौँसम्म जनविश्वासको केन्द्र बन्छन्, तर कतिपय संगठन केही वर्षमै कमजोर हुन्छन्रु किन केही नेतृत्व इतिहासमा सम्मानित हुन्छन् र केही समयको प्रवाहमै हराउँछन्रु
सम्पूर्ण अध्ययनको निष्कर्ष एउटै बिन्दुतर्फ केन्द्रित छ, सही विचार आवश्यक छ, तर सही विचार मात्र पर्याप्त हुँदैन। विचारलाई जीवन दिने संगठनात्मक संस्कृति नभए विचार पुस्तकका पानामा सीमित हुन्छ। संगठनात्मक संस्कृति सुदृढ भयो भने सीमित साधन भएको संगठनले पनि ठूलो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्छ।
संगठनात्मक संस्कृति कुनै अमूर्त विषय होइन। यो दैनिक व्यवहारमा देखिन्छ। बैठक कसरी सञ्चालन हुन्छ, निर्णय कसरी गरिन्छ, असहमतिलाई कसरी लिइन्छ, नेतृत्वले कार्यकर्तासँग कस्तो व्यवहार गर्छ, आलोचनालाई कसरी स्वीकार गरिन्छ, जनतासँग कस्तो सम्बन्ध राखिन्छ,यिनै कुराले संगठनको वास्तविक चरित्र निर्माण गर्छन्। दस्तावेजले आदर्श घोषणा गर्न सक्छ, तर व्यवहारले मात्र त्यसको सत्यता प्रमाणित गर्छ।
अनुशासनलाई धेरै मानिसले आदेश पालनसँग जोड्छन्। तर वास्तविक अनुशासन चेतनाको परिपक्व रूप हो। देखिएको बेला मात्र नियम पालना गर्नु अनुशासन होइन। नदेखिएको अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्नु नै अनुशासनको उच्च रूप हो। बाहिरी नियन्त्रणले केही समय व्यवहार बदल्न सक्छ, तर आत्मअनुशासनले मात्र चरित्र निर्माण गर्छ।
विधि–पद्धति संगठनको मेरुदण्ड हो। जहाँ विधि–पद्धति कमजोर हुन्छ, त्यहाँ निर्णय व्यक्तिको इच्छामा निर्भर हुन थाल्छ। जहाँ व्यक्ति संस्थाभन्दा ठूलो बन्छ, त्यहाँ न्याय कमजोर हुन्छ। जहाँ न्याय कमजोर हुन्छ, त्यहाँ विश्वास टुट्छ। विश्वास टुटेपछि संगठनको संरचना बाँकी रहे पनि त्यसको आत्मा सारमै हराउन थाल्छ।
गोपनीयताको प्रश्न पनि यत्तिकै महत्त्वपूर्ण छ। गोपनीयता रहस्य लुकाउने माध्यम होइन, जिम्मेवारी वहन गर्ने संस्कार हो। संगठनका संवेदनशील विषयलाई सुरक्षित राख्नु र सार्वजनिक हुनुपर्ने विषयलाई पारदर्शी रूपमा प्रस्तुत गर्नु,यही परिपक्व संगठनको पहिचान हो। जहाँ सबै कुरा गोप्य हुन्छन्, त्यहाँ उत्तरदायित्व हराउँछ। जहाँ सबै कुरा सार्वजनिक गरिन्छन्, त्यहाँ विश्वास कमजोर हुन्छ। सन्तुलन नै परिपक्वताको आधार हो।
नेतृत्वको वास्तविक परीक्षा उसको पदमा होइन, चरित्रमा हुन्छ। नेतृत्वको मूल्याङ्कन उसले कति बोल्यो भन्ने आधारमा होइन, उसले कति सुन्न सक्यो भन्ने आधारमा पनि हुन्छ। उसले कति आदेश दियो भन्ने आधारमा होइन, उसले कति प्रेरणा दियो भन्ने आधारमा पनि हुन्छ। कार्यकर्ताले नेतालाई भाषणबाट भन्दा जीवनबाट मूल्याङ्कन गर्छन्। त्यसैले नैतिक अनुशासन नेतृत्वको सबैभन्दा ठूलो पूँजी हो।
यस लेखले व्यक्तिवाद, पदलोलुपता, कुण्ठा, पूर्वाग्रह र गुटबन्दीलाई पनि संगठनभित्रका गम्भीर चुनौतीका रूपमा विश्लेषण गरेको छ। यस्ता समस्या अचानक पैदा हुँदैनन्। जब अध्ययन कमजोर हुन्छ, आत्मसमीक्षा हराउँछ, विधि–पद्धति निष्क्रिय हुन्छ र सामूहिकताभन्दा व्यक्तिगत सम्बन्ध बलियो हुन्छन्, त्यतिबेला यस्ता प्रवृत्तिहरू विस्तारै बढ्न थाल्छन्। त्यसैले संगठनको रक्षा व्यक्ति परिवर्तन गरेर मात्र हुँदैनस संस्कृति परिवर्तन गरेर हुन्छ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासले एउटा अमूल्य शिक्षा दिएको छ। त्यागले आन्दोलन जन्माउन सक्छ, तर अनुशासनले त्यसलाई टिकाउँछ। विचारले दिशा दिन्छ, तर संगठनात्मक संस्कृतिले त्यस दिशामा निरन्तर यात्रा गराउँछ। जनताको विश्वास चुनावको परिणामले मात्र निर्माण हुँदैनस त्यो वर्षौँको इमानदार व्यवहार, सादगी, उत्तरदायित्व र जनजीवनसँगको सम्बन्धबाट निर्माण हुन्छ।
भविष्यको क्रान्तिकारी संगठन कस्तो हुनुपर्छरु त्यसको उत्तर कुनै जटिल सूत्रमा छैन। त्यस्तो संगठन वैचारिक रूपमा स्पष्ट, नैतिक रूपमा स्वच्छ, संगठनात्मक रूपमा अनुशासित, व्यवहारमा जनमुखी, निर्णयमा सामूहिक, कार्यान्वयनमा जिम्मेवार र आत्मसमीक्षामा इमानदार हुनुपर्छ। त्यहाँ नेतृत्व सेवाको प्रतीक हुनुपर्छ, पद प्रतिष्ठाको होइन। त्यहाँ कार्यकर्ता आदेश पालना गर्ने साधन होइन, सचेत परिवर्तनकर्मी हुनुपर्छ।
संगठनभित्र बहस हुनेछ, मतभेद पनि हुनेछन्। यो स्वाभाविक हो। अस्वाभाविक कुरा मतभेद होइन, मतभेदलाई विधि–पद्धतिबाट समाधान गर्न नसक्नु हो। परिपक्व संगठनले मतभेदलाई विभाजनमा होइन, विकासमा रूपान्तरण गर्छ। यही संगठनात्मक संस्कृतिको वास्तविक शक्ति हो।
अन्ततः समाज परिवर्तनको सङ्घर्ष सत्ता परिवर्तनको प्रश्न होइन। यो संस्कृतिको परिवर्तनको प्रश्न पनि हो। यदि क्रान्तिकारी संगठनले आफ्नै जीवनमा सत्यनिष्ठा, अनुशासन, उत्तरदायित्व, समानता, न्याय र जनसम्मानको संस्कृति स्थापित गर्न सकेन भने उसले समाजमा त्यही संस्कृति निर्माण गर्ने नैतिक अधिकार पनि गुमाउँछ। त्यसैले संगठनले आफूभित्र निर्माण गरेको संस्कृतिले नै भविष्यको समाजको संकेत दिन्छ।
यस लेखको अन्तिम निष्कर्ष यही हो कि क्रान्ति नारा, आवेग वा असन्तुष्टिको विस्फोटबाट दीर्घकाल सम्म टिक्दैन र सफल पनि हुदैन। क्रान्ति अगाडी बढछ विचारबाट,विचारलाई शक्ति दिन्छ संगठनले, संगठनलाई जीवन दिन्छ संगठनात्मक संस्कृतिले, संगठनात्मक संस्कृतिको मेरुदण्ड अनुशासन, विधि–पद्धति, गोपनीयता, नैतिक नेतृत्व, आत्मसमीक्षा र जनताप्रतिको अटुट उत्तरदायित्व हो। जहाँ यी गुणहरू जीवन्त हुन्छन्, त्यहाँ संगठन समयका आँधीबेहरी पार गर्दै इतिहास निर्माण गर्न सक्षम हुन्छ। जहाँ यी गुणहरू क्षीण हुन्छन्, त्यहाँ सबैभन्दा ठूलो आन्दोलन पनि क्रमशः आफ्नो उद्देश्यबाट टाढिँदै जान्छ। यही शिक्षा इतिहासको हो। यही वर्तमानको आवश्यकता हो। र यही भविष्य निर्माण गर्ने आधार पनि हो। क्भभ भिकक
प्रतिक्रिया