आमूल परिवर्तनकारी राजनीतिक पार्टी निर्माण गर्नु भनेको कार्यालय खोल्नु, पद बिभाजन गर्नु,लेवी उठाउनु वा झण्डा बोक्नु मात्र नभएर पार्टी निर्माण भनेको विचारलाई संगठनमा, संगठनलाई जनतामा र जनताको शक्तिलाई परिवर्तनको दिशामा संगठित गर्ने तथा उत्पादन र श्रमसङ्ग जोड्ने ऐतिहासिक प्रक्रिया हो। त्यसैले कुनै पनि कम्युनिष्ट पार्टीको वास्तविक शक्ति उसको नाम, चुनावी उपस्थिति वा नेताहरूको संख्याले निर्धारण गर्दैन। उसको शक्ति कति सचेत कार्यकर्ता निर्माण भएका छन्, कति अनुशासित संगठन निर्माण भएको छ, जनतासँग कति जीवित सम्बन्ध स्थापित भएको छ। समाज परिवर्तनको संघर्षलाई उत्पादन र संघर्षसंग जोडिएर कति व्यवस्थित ढंगले नेतृत्व गर्न सक्छ भन्ने कुराले निर्धारण गर्छ।तर आज हाम्रो राजनीतिक जीवनमा एउटा गम्भीर समस्या देखिदै आएको छ,बनाउनेभन्दा बन्न नदिनेहरू हावी छन्। पार्टी बनाउन खोज्नेभन्दा पार्टीभित्रै अवरोध सिर्जना गर्ने, नयाँ कार्यकर्ता निर्माण गर्नुभन्दा उनीहरूलाई निरुत्साहित गर्ने, नयाँ नेतृत्व विकास गर्नुभन्दा सम्भावित नेतृत्वलाई रोक्ने र एकतालाइ सुदृढ गर्नुभन्दा विभाजनका आधार खोज्ने प्रवृत्ति बलियो हुँदै गएको छ।
यो समस्या व्यक्तिको स्वभावको प्रश्न मात्र होइन। यसको पछाडि राजनीतिक संस्कृति, संगठनात्मक कमजोरी, पदपरस्त मानसिकता र यथास्थितिसँग जोडिएको स्वार्थपूर्ण संरचनाको हो।कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा हरेक महत्वपूर्ण राजनीतिक उपलब्धिको पछाडि कठोर श्रम,वलिदान,त्याग र संघर्षको गौरवपूर्ण इतिहास छ। इतिहासमा विचार निर्माण भयो, संगठन निर्माण भयो, जनआधार निर्माण भयो र संघर्षको शक्ति निर्माण भयो। मार्क्स र एङ्गेल्सले श्रमिक आन्दोलनलाई वैज्ञानिक दृष्टिकोण दिए। लेनिनले क्रान्तिकारी अग्रदस्ता पार्टी निर्माणको प्रश्नलाई केन्द्रमा राखे। माओले जनतासँगको सम्बन्ध र संघर्षको प्रक्रियाबाट संगठन तथा नेतृत्व विकास गर्ने विधिलाई व्यवहारमा उतारे। नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पनि विचार, संगठन र जनताको सम्बन्धलाई केन्द्रमा राखेर पार्टी निर्माणको आधार तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। यसको अर्थ स्पष्ट छ,क्रान्तिकारी आन्दोलन नारामा मात्र सिमित थिएन ,यो सहि कार्यदिशा सहितको श्रमिक-उत्पीडित जनताको पार्टी कम्युनिष्ट पार्टी निर्माणको बाटोमा अघि बढेको गौरवान्वित इतिहास थियो।
नेपाल कम्युनिष्ट पार्टीले अगाडि आएका आजको यी चुनौतीको सामना गर्नु अत्यन्तै आवश्यक छ। कम्युनिष्ट पार्टीको नाममा धेरै राजनीतिक संरचनाहरू बनेका छन, पार्टी फुटेका छ्न, जुटेका पनि छ्न र पुनः विभाजित भएका छ्न। तर मुख्य कुरा पार्टीको संख्या कति भयो भन्ने होइन कि कम्युनिष्ट आन्दोलनको वैज्ञानिक कार्यदिशा, संगठनात्मक क्षमता र जनतासँगको सम्बन्ध कति विकसित भयो भन्ने हो।
आजको यो देशको संकटपूर्ण परिस्थितिमा पार्टी निर्माण , एकता र ध्रुवीकरणको सवाल अत्यन्तै आवश्यक र महत्वपूर्ण बनेको छ। एकता भनेको नेताहरूबीचको सम्झौता र सहमती मात्र होइन। एकता भनेको विचारको स्पष्टता, संगठनात्मक विधिको स्वीकार्यता, सामूहिक निर्णयको कार्यान्वयन, अनुशासनको पालना र संघर्षको साझा दिशामा अघि बढ्ने राजनीतिक प्रतिबद्धता हो। नाम जोडिदैमा संगठन एकीकृत हुँदैन। कार्यदिशा, संगठन, नेतृत्व, कार्यकर्ता र जनसम्बन्ध एकीकृत भएपछि मात्र वास्तविक एकता निर्माण हुन्छ।यहाँ चर्को एकताको कुरा गर्ने तर एकताको प्रक्रिया आफ्नो स्वार्थमा बाधक बने अगाडि वढ्न नदिने जुन खराव प्रवृत्ति सबैतिरवाट प्रवेश गर्छ त्यस खालको अत्यन्तै खराव प्रवृत्तिसंङ्ग विधि र पद्धति संगत तरिकाले गरिने अन्तरसंघर्षमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने कुरा अन्तर्निहित छ।रुपमा एकताको निर्णय हुनु तर सारमा एकताको कार्यान्वयनलाई रोक्ने प्रयास हुनु,बैठकहरुमा उपस्थिति नजनाउनु,उपस्थिति भए जिम्मेवार कमरेडहरुलाइ अमर्यादित व्यबहार गर्नु र आधारहिन आक्षेप लगाउनु,पार्टीको प्रत्येक जसो निर्णयलाई उपेक्षा गर्नु वा विरुद्धमा जानू र पार्टी नेतृत्व माथी अबिश्वास शृजना गर्नुले धेरै गम्भीर प्रश्नहरु जन्माएको छ।यहाँ संगठन विस्तार र अभियान संचालनको कुरा हुन्छ ,जनतामा जाने निर्णय हुन्छ तर पूर्व बैठकका निर्णय र आन्तरिक विवादमा शक्ति खर्च हुन्छ। नेतृत्व विकासको कुरा गरिन्छ तर नेतृत्वको सम्भावना देखिएका कमरेडहरूलाई अघि बढ्न दिइँदैन जसले एउटा गम्भीर राजनीतिक अन्तर्विरोध जन्माएको छ।
निर्माणको राजनीतिले भविष्यतर्फ हेर्छ, विगतको उपलब्धिको ब्याज खाएर र वर्तमान पदीय सुरक्षा वरिपरि घुम्दैन। निर्माणको राजनीतिले प्रश्नहरु गर्छ र चुनौतीहरुको सामुहिक रुपमा सामना गर्छ, अवसरवादी राजनीतिले पहिला अहिले मेरो ठाउँ वा पद कहाँ छ भनेर आफुलाइ केन्द्र बनाउछ।नेपाल कम्युनिष्ट पार्टीलाई सुदृढ बनाउने हो भने यो अन्तर्विरोधलाई लुकाएर होइन, राजनीतिक र संगठनात्मक रूपमा सम्बोधन गरेर अघि बढ्नुपर्छ।हामीले स्वीकार गर्नैपर्छ,पुरानो संरचनालाई जोगाउनु र नयाँ शक्ति निर्माण गर्नु एउटै कुरा होइन। अनुभवी नेतृत्व आवश्यक छ, तर अनुभवी नेतृत्वको अर्थ नयाँ पुस्ताको ढोका बन्द गर्नु होइन। अनुशासन आवश्यक छ, तर अनुशासनको अर्थ प्रश्न गर्न नपाउनु होइन। नेतृत्व आवश्यक छ, तर नेतृत्वको अर्थ सबै निर्णय केही व्यक्तिको हातमा सीमित हुनु पनि होइन। एकता आवश्यक छ, तर एकताको अर्थ मतभेदलाई दबाउनु पनि होइन।
सही एकता त्यही हो, जहाँ फरक मतलाई वैचारिक छलफलमा रूपान्तरण गरिन्छ, व्यक्तिगत असन्तुष्टिलाई संगठनात्मक विधिबाट समाधान गरिन्छ र सामूहिक निर्णयलाई सबैद्वारा एकमतले कार्यान्वयन गरिन्छ।आज नेपाल कम्युनिष्ट पार्टीले सबैभन्दा पहिले निर्माणको संस्कृति स्थापित गर्नुपर्छ। जसले काम गर्छ उसलाई काम गर्न दिनुपर्छ। जसले सिक्छ उसलाई सिक्ने वातावरण दिनुपर्छ। जसले नेतृत्व क्षमता देखाउँछ उसलाई जिम्मेवारी दिनुपर्छ। नयाँ पुस्तालाई दर्शक बनाएर राख्ने होइन, संघर्षको मैदानमा उतारेर नेतृत्वमा विकास गर्नुपर्छ। पुरानो पुस्ताले सक्रियता पूर्वक नेतृत्व प्रदान गर्न सक्ने अवस्था सम्म नेतृत्व प्रदान पनि गर्नु पर्छ।
पार्टी निर्माणको अर्को महत्वपूर्ण पक्ष हो,जनतासँगको सम्बन्ध।जनताबाट टाढिएको पार्टी कागजमा नाममा जति ठूलो भए पनि राजनीतिक रूपमा कमजोर हुन्छ। किसानको खेतवारी, मजदुरको कार्यस्थल, युवाको बेरोजगारी, महिलाको श्रम, उत्पीडित समुदायका समस्या, शिक्षा, स्वास्थ्य, उत्पादन, रोजगारी, महँगी, भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका प्रश्नसँग पार्टी जोडिन सकेन भने संगठन विस्तारको कुरा पनि अर्थहीन हुन्छ,त्यसैले श्रमिक ,उत्पीडित जनताको जीवनबाट राजनीतिक पार्टी निर्माण गर्नुपर्छ।कार्यकर्ता निर्माण पनि यही प्रक्रियाको अंग हो। सदस्यता थप्दै जानु र कम्युनिष्ट कार्यकर्ता निर्माण गर्नु एउटै कुरा होइन। कम्युनिष्ट कार्यकर्ता विचारमा स्पष्ट, व्यवहारमा अनुशासित, जनतासँग जोडिएको, आलोचना–आत्मालोचनाको संस्कृति स्वीकार गर्ने, सामूहिक निर्णय कार्यान्वयन गर्ने र कठिन परिस्थितिमा पनि संघर्ष गर्न सक्ने हुनुपर्छ। यसरी हेर्दा आजको मुख्य आवश्यकता संख्या वृद्धि गर्न वा थप्नु मात्र होइन, गुणस्तरीय राजनीतिक शक्ति निर्माण गर्नु हो।
अर्कोतर्फ, पार्टी बन्न नदिने प्रवृत्तिसँग पनि राजनीतिक संघर्ष आवश्यक छ। कसैलाई व्यक्तिगत रूपमा दोषी ठहर गरेर होइन, यस्तो प्रवृत्ति पैदा गर्ने संगठनात्मक आधारलाई बदल्नुपर्छ। पदलाई प्रतिष्ठाको साधन बनाउने संस्कृति बदल्नुपर्छ। गुटलाई संगठनको विकल्प बनाउने प्रवृत्ति रोक्नुपर्छ। निर्णयलाई व्यक्तिको इच्छा होइन, संस्थागत प्रक्रियामा आधारित बनाउनुपर्छ। जिम्मेवारीलाई अधिकार होइन, जनताप्रतिको उत्तरदायित्वका रूपमा बुझ्नुपर्छ।किनकि पार्टीमा सबैभन्दा खतरनाक अवस्था असहमति हुनु होइनस पार्टी निर्माण गर्ने मानिसहरू निष्क्रिय हुनु र निर्माण रोक्ने प्रवृत्ति सक्रिय हुनु हो।
हामीले आज ठिक यही अवस्थालाई गम्भीरतापूर्वक ध्यान दिएर उल्ट्याउनुपर्छ।नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी पुनर्गठित, पुनर्संगठित र सुदृढ बनाउने हो भने अब प्रत्येक तहमा एउटा सवाल उठाउनुपर्छ,यो निर्णयले पार्टी निर्माण गर्छ कि रोक्छ? यो व्यवहारले कार्यकर्ता निर्माण गर्छ कि लखेट्छ? यसले एकता बलियो बनाउँछ कि विभाजन ल्याउँछरु यसले जनतासँग सम्बन्ध जोड्छ कि संगठनलाई जनताबाट टाढा लैजान्छरुयस्ता प्रश्नबाट संगठनात्मक आत्मसमीक्षा सुरु गर्नुपर्छ।हामीलाई अब पार्टी बनाउनेहरू, त्याग र वलिदान गर्नेहरु ,द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण भएकाहरु चाहिएको छ,विचारको संघर्षवाट सहि राजनीतिक कार्यदिशा बनाउने, संगठन बनाउने, कार्यकर्ता बनाउने, जनसम्बन्ध बनाउने, संघर्ष उठाउने र बैज्ञानिक समाजवादी भविष्य बनाउने पार्टी चाहिएको छ।
हामीले वताइरहनु पर्ने आवश्यकता छैन कि इतिहासमा कुनै पनि क्रान्तिकारी शक्ति तयारी अवस्थामा प्राप्त भएको छैन। त्यसलाई निर्माण गरिएको छ। त्यागबाट, संघर्षबाट, अध्ययनबाट, संगठनबाट र जनताको विश्वासबाट निर्माण गरिएको छ। त्यसैले आजको हाम्रो जिम्मेवारी पद प्राप्त गर्नका लागि होइन, शक्ति निर्माण गर्न, हुनुपर्छ।त्यही भएर व्यक्तिगत स्वार्थ पूरा गर्न होइन,जनवादी क्रान्तिद्वारा बैज्ञानिक समाजवादका लागि संगठन निर्माण गर्न लागौ। गुट होइन, सामूहिक सस्कृति निर्माण गरौं । निष्क्रियता होइन, गतिशील र संघर्ष निर्माण गरौं ।अविश्वास होइन, राजनीतिक विश्वास निर्माण गरौँ। यान्त्रिक र पुरानोको अन्ध संरक्षण होइन, अनुभव र नयाँ शक्तिको संयोजन निर्माण गरौँ।विभाजनको संस्कृति होइन, सिद्धान्त र विधिमा आधारित एकता निर्माण गरौँ।
अन्ततः प्रश्न यो हो कि,हामी इतिहासको दर्शक बन्ने कि इतिहास निर्माण गर्ने शक्ति बन्ने? यदि निर्माण गर्ने हो भने बन्न नदिने प्रवृत्तिलाई दृढतापूर्वक चिन्न र चिर्न आवश्यक छ , त्यस प्रवृत्तिसँग वैचारिक संघर्ष गर्नैपर्छ र निर्माणको शक्तिलाई संगठित गर्नैपर्छ। किनकि समयले अब कसले के भन्यो भनेर होइन, कसले के निर्माण गर्यो भनेर मूल्याङ्कन गर्नेछ। हाम्रो स्पष्ट क्रान्तिकारी पक्षधरता हुनुपर्छ,पार्टी बनाउनेहरू एकजुट होऔँ।बन्न नदिने प्रवृत्तिसँग संघर्ष गरौँ। नेपाल कम्युनिष्ट पार्टीलाई विचार, संगठन, विधि, अनुशासन, संघर्ष र जनसम्बन्धको स्तरमा नयाँ उचाइमा पूर्याऔ ।धन्यवाद
प्रतिक्रिया