धनगढीमा डाक्टर केसीविरुद्ध प्रदर्शन, ‘गो ब्याक केसी’ नाराबाजी

bimbonline बिम्ब अनलाइन
२०८३ साउन ९ १३:०१ बजे

धनगढी। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै बिहीबारदेखि अनशनरत डा. गोविन्द केसीविरुद्ध धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला बाहिर शनिबार प्रदर्शन भएको छ।

केही अटो चालकहरूले ‘गो ब्याक केसी’ भन्दै नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसपटकको डा. केसीको अनशनप्रति सुदूरपश्चिमका केही स्थानीय तथा गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले असहमति जनाएका छन्। उनीहरूले गेटामा सञ्चालनको तयारीमा रहेको विश्वविद्यालयलाई अवरोध गर्ने उद्देश्यले डा. केसी अनशनमा बसेको आरोप लगाएका छन्।

यता, डा. केसीले भने गेटामा ‘माफिया र तिनका मतियारहरूको स्वार्थ पूरा गर्न हतारमा शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन ल्याइएको’ आरोप लगाएका छन्।

उनले मेडिकल विश्वविद्यालय स्थापना गर्ने हो भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै मेडिकल विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

 




२०८३ साउन ९ १३:०१ बजे

प्रतिक्रिया