काठमाडौँ । पछिल्लो ६ दिनमा आत्मदाहको प्रयास गरेका तीन जनाले ज्यान गुमाएका छन् । मुगुका २५ वर्षीय गणेश नेपाली, काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत र सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।
वीर अस्पतालमा दुई जना र कीर्तिपुर अस्पतालमा एक जनाले ज्यान गुमाएका हुन् । नेपाली र राउतको वीर अस्पतालमा र मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा मृत्यु भएको हो ।
१- गणेश नेपाली
आत्मदाहको प्रयास गरेका गणेशको असार २६ गते शुक्रबार निधन भएको थियो । मुगुको सोरु गाउँपालिका–१ का नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको थियो ।
उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको गत बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको थियो ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
२- आश्विन राउत
आत्मदाहको प्रयास गरेका आश्विनको असार २७ गते शनिबार निधन भएको थियो । काठमाडौंको बुद्धनगरमा गत शनिबार बिहान आत्मदाहको प्रयास गरेका राउतको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।
गत शनिबार बिहान करिब ६ः२० बजे उनले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर वीर अस्पताल पठाएको थियो । राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।
राउतले व्यवसाय टाट पल्टिएपछि निराश भएर आत्मदाह प्रयास गरेको अनुमान गरिएको छ । पारिवारिक स्रोतका अनुसार सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिब्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै राउत आएका थिए ।
उक्त कम्पनीले नदी किनारामा प्रयोग हुने तार जाली (ग्याभिन) को उत्पादन र चीनबाट होम अपिलियन्स (फ्रीज, पंखाजस्ता सामान)आयातको व्यापार व्यवसाय धराशायी भएपछि केही महिनादेखि उनी निराश थिए ।
३- विवेक मण्डल
आत्मदाहको प्रयास गरेका विवेकको आज असार ३० गते मंगलबार निधन भएको हो । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा आज कीर्तिपुरको बर्न अस्पताल निधन भएको हो ।
सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका मण्डलको उपचारकै क्रममा बिहान २ः५ बजे निधन भएको हो । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।
विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए ।
प्रतिक्रिया