डडेल्धुराको पहिचान ढुङ्गेघर

bimbonline बिम्ब अनलाइन
२०८३ असार २४ १३:३३ बजे

डडेल्धुराको भागेश्वर गाउँपालिका–४, डुङ्रीगाउँमा रहेको ढुङ्गेघर यहाँको इतिहास, संस्कृति र मौलिक वास्तुकलाको जीवित साक्षी बनेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एनडीप्रकाश चटौतको यो घर हेर्दा त्यतिबेलाको दरबार जस्तै लाग्छ । परम्परागत शैलीमा निर्माण गरिएको तीनतले ढुङ्गेघर कलात्मक बनावट, विशाल आकार र आकर्षक संरचनाका कारण जोकोहीको ध्यान तान्न सफल भएको छ । 

अङ्ग्रेजी अक्षर एल आकारमा बनेको यो घर स्लेटले छाइएको छ । छ वर्षअघि चटौत परिवारले घरको पुनर्निर्माण गर्दा पनि पुर्खाले छाडेको मौलिक स्वरूपलाई प्राथमिकता दिएका थिए । पुनर्निर्माणका क्रममा पुरानै शैली, संरचना र वास्तुकलालाई जोगाउने प्रयास गरिएकाले अहिले पनि घरले ऐतिहासिक पहिचान कायम राखेको छ ।

हाल घरको संरक्षण र नियमित हेरचाह स्थानीय पार्वती मालीले गरिरहनुभएको छ । उहाँको निरन्तर प्रयासले घर जीर्ण हुनबाट जोगिएको छ । गाउँपालिकाका अध्यक्ष हेमराज चटौत यस घरले गाउँको इतिहास, संस्कृति र सामाजिक पहिचानलाई नयाँ पुस्तासम्म पु‍र्याउने माध्यमको भूमिका निर्वाह गरिरहेको बताउनुहुन्छ ।

डडेलधुरा र सुदूरपश्चिमका धेरै गाउँमा ढुङ्गेघर भत्काएर सिमेन्टका पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएको छ । यसले स्थानीय वास्तुकला, निर्माण प्रविधि र सांस्कृतिक पहिचान हराउँदै गएको अवस्थामा स्वर्गीय चटौतको ढुङ्गेघर मौलिक सम्पदा संरक्षणको उत्कृष्ट उदाहरण बनेको छ ।

अध्यक्ष चटौत भन्नुहुन्छ, “यो घर केवल एउटा निजी आवास मात्र होइन, डडेलधुराको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक स्मृतिसँग जोडिएको धरोहर हो । यहाँ आउने जोकोहीले स्थानीय वास्तुकलाको सौन्दर्यसँगै इतिहासको अनुभूति गर्न सक्छन् । उचित संरक्षण, सरकारी पहल र पर्यटकीय प्रवर्धन गर्न सके यो घर सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।”

एनडीप्रकाश चटौत २६ वर्षको उमेरमै नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य बनेर बिपीनिकट रही देशभर सङ्गठन विस्तारमा लाग्नुभएको थियो । विसं १९८७ मङ्सिर ७ गते जन्मिएका उहाँको निधन पार्टीको कामकै सिलसिलामा सिमराबाट काठमाडौँ जाने क्रममा विसं २०१४ चैत ११ गते हवाई दुर्घटनामा परेर भएको थियो । 

स्थानीय बुढापाकाका अनुसार विभिन्न समयमा राजनीतिक तथा सामाजिक छलफलका लागि धेरै व्यक्ति यही घरमा भेला हुने गर्थे । त्यसैले यो घरले डडेलधुराको राजनीतिक इतिहास पनि आफ्नो भित्तामा सुरक्षित राखेको उहाँहरूको भनाइ छ ।गोरखापत्र अनलाइन


  


२०८३ असार २४ १३:३३ बजे

प्रतिक्रिया