कम्युनिष्ट पार्टीको एकतावारे लेनिनको वैज्ञानिक दृष्टिकोण

एकता भनेको एउटै वर्गीय दृष्टिकोण, एउटै क्रान्तिकारी सिद्धान्त, एउटै राजनीतिक कार्यक्रम र एउटै अनुशासनमा आधारित संगठनात्मक एकता हो।

bimbonline बिम्ब अनलाइन
२०८३ असार २२ ०८:०८ बजे
लक्ष्मण उप्रेती

कम्युनिष्ट आन्दोलनमा एकता सधैं सकारात्मक शब्दका रूपमा प्रयोग हुन्छ। तर के हरेक एकता क्रान्तिको हितमा हुन्छ? के सबै प्रकारका एकताले मजदुर वर्गको आन्दोलनलाई अगाडि बढाउँछन्र वा कतिपय अवस्थामा जोडदार एकताको प्रचार भित्र अवसरवाद, संशोधनवाद र वर्गीय विचलन निहित हुन्छ ? यी प्रश्नहरूको उत्तर खोज्दा लेनिनको दृष्टिकोण अत्यन्त स्पष्ट, वैज्ञानिक र द्वन्द्वात्मक देखिन्छ।

लेनिनका लागि पार्टीको एकता कुनै भावनात्मक आग्रह, सङ्ख्या बढाउने उपाय वा नेतृत्वबीचको पदीय सम्झौता थिएन। उनका लागि एकता भनेको एउटै वर्गीय दृष्टिकोण, एउटै क्रान्तिकारी सिद्धान्त, एउटै राजनीतिक कार्यक्रम र एउटै अनुशासनमा आधारित संगठनात्मक एकता थियो। त्यसैले उनले बारम्बार जोड दिए कि वैचारिक स्पष्टताविना गरिएको एकता अन्ततः अझ ठूलो फुटको आधार बन्छ।

लेनिनले स्पष्ट रूपमा भनेका छन्-हामी एक हुनुभन्दा पहिले, र एक हुनका लागि, सबैभन्दा पहिले हाम्रो बीचको वैचारिक सीमारेखालाई स्पष्ट र दृढ रूपमा कोर्नुपर्छ।(के गर्नेरु (१९०२) , यो भनाइको गहिरो अर्थ के हो भने, एकता खाली हामी सबै कम्युनिष्ट हौ भन्ने घोषणाले बन्दैन। यदि क्रान्तिको चरित्र, वर्गीय दृष्टिकोण, रणनीति, कार्यक्रम र संगठनात्मक सिद्धान्तमै गम्भीर मतभेद छन् भने ती मतभेदलाई लुकाएर गरिएको एकता वास्तविक एकता हुँदैन। त्यसले केही समयका लागि बाहिरी रूपमा संगठन ठूलो देखिए पनि भित्रभित्रै अविश्वास, गुटबन्दी र संघर्ष बढाइरहेको हुन्छ। त्यसैले लेनिनका लागि वैचारिक स्पष्टता नै एकताको पहिलो सर्त थियो।

लेनिनले अर्को अत्यन्त महत्वपूर्ण कुरा बताएका छन्,क्रान्तिकारी सिद्धान्तबिना कुनै पनि क्रान्तिकारी आन्दोलन हुन सक्दैन।—(के गर्ने?(१९०२) यसको अर्थ, पार्टीलाई एउटै बनाउने शक्ति व्यक्तिगत सम्बन्ध होइन, सिद्धान्त हो। सिद्धान्त कमजोर भयो भने अनुशासन कमजोर हुन्छ अनुशासन कमजोर भयो भने संगठन गुटमा विभाजित हुन्छ र गुटबन्दी अन्ततः झन ठूलो फुटमा परिणत हुन्छ। त्यसैले लेनिनले पार्टीको एकतालाई वैचारिक एकतासँग अभिन्न रूपमा जोडे।अवसरवादीसँगको एकता, वास्तविक एकता होइन भन्दै लेनिनले एकताको महत्व स्वीकार गर्दै यसको वर्गीय सीमा स्पष्ट गरेका छन्। उनले भनेका छन्, एकता महान कुरा हो र महान नारा पनि हो। तर मजदुर वर्गलाई चाहिने कुरा मार्क्सवादीहरूको एकता हो, मार्क्सवादलाई विकृत,बनाउनेहरूसँगको एकता होइन।

यो भनाइ आज पनि अत्यन्त सान्दर्भिक छ। अवसरवादी शक्तिहरू प्रायः पहिले एकता गरौँ, विचार पछि मिलाउँदै जाऔ भन्ने तर्क गर्छन्। तर लेनिनका अनुसार यस्तो एकताले विचारलाई होइन, अवसरवादलाई बलियो बनाउँछ। विचारमा स्पष्टता नभई गरिएको एकताले अन्ततः सिद्धान्तलाई कमजोर पार्छ र पार्टीलाई वर्गीय उद्देश्यबाट विचलित बनाउँछ। एकताको प्रचारभित्र लुकेको अवसरवाद अझ खतरनाक हुन्छ। द्वन्द्वात्मक दृष्टिले हेर्दा खुला विरोधीहरु भन्दा आफूलाई एकताको पक्षधरू भनेर प्रस्तुत गर्ने अवसरवादी झन् खतरनाक हुन सक्छन। किनभने उनिहरुले विचारको संघर्षलाई दबाउन खोज्छन। उनिहरु सिद्धान्तमाथिको बहसलाई फुटको राजनीति भनेर बदनाम गर्छ, तर वास्तवमा विचारको स्पष्टता रोक्दै संगठनभित्र अस्वस्थ सम्झौताको संस्कृति विकास गरिरहेका हुन्छन।

यस्तो अवस्थामा पार्टी बाहिरबाट एकता देखिए पनि भित्र दुई वा धेरै राजनीतिक लाइनहरू समानान्तर रूपमा विकसित भइरहेका हुन्छन्। जब ती अन्तर्विरोध एउटा निश्चित बिन्दुमा पुग्छन्, त्यसबेला सामान्य मतभेद होइन, विस्फोटक फुट हुन्छ। त्यसैले अवसरवादी एकताले फुट रोक्दैन बरु भविष्यको अझ गम्भीर फुटका लागि आधार तयार गर्छ।

लेनिनका अनुसार पार्टीभित्र बहस गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ, फरक मत राख्न पाइन्छ। तर निर्णय भएपछि सम्पूर्ण पार्टी एउटै निर्णयअनुसार अघि बढ्नुपर्छ। यही लोकतान्त्रिक केन्द्रीयताको सार हो। यदि बहसलाई दबाइयो भने असन्तुष्टि गुप्त रूपमा बढ्छ। यदि निर्णयलाई पालना गरिएन भने संगठन अराजकतामा जान्छ। त्यसैले लोकतान्त्रिक बहस र केन्द्रीय अनुशासनको एकताले मात्र वास्तविक संगठनात्मक एकता निर्माण गर्छ।

लेनिनले कहिल्यै फुटलाई लक्ष्य बनाएनन्। तर उनले अवसरवादसँग अनन्तकालसम्म सम्झौता गरेर संगठन बचाउने पक्षमा पनि उभिएनन्। उनले स्पष्ट रूपमा देखाए कि जब संशोधनवादले पार्टीको वर्गीय चरित्र नै बदल्न खोज्छ, तब वैचारिक विभाजन क्रान्तिको हितमा आवश्यक हुन सक्छ।

उनको अर्को प्रसिद्ध भनाइ छ, धेरै भएर कमजोर हुनु भन्दा थोरै भएर पनि गुणस्तरीय हुनु राम्रो हुन्छ। यसले सङ्ख्याभन्दा गुण, आकारभन्दा सिद्धान्त र सम्झौताभन्दा क्रान्तिकारी चरित्रलाई प्राथमिकता दिनुपर्ने शिक्षा दिन्छ।

नेपालमा कम्युनिष्ट आन्दोलनमा बारम्बार एकता र फुट भएका छन्। तीमध्ये धेरै एकता तत्कालीन सत्ता समीकरण, निर्वाचन, नेतृत्वको भागबण्डा वा परिस्थितिजन्य सहमतिमा आधारित देखिन्छन्। जबसम्म साझा वैचारिक आधार, साझा कार्यक्रम, साझा वर्गीय दृष्टिकोण र साझा संगठनात्मक अनुशासन निर्माण हुँदैन, त्यस्तो एकता स्थायी हुन सक्दैन। यदि एकता जोगाउने नाममा वैचारिक संघर्षलाई रोकियो भने अन्तर्विरोध समाप्त हुँदैनस त्यो झन् गहिरिँदै जान्छ। अन्ततः सानो मतभेद ठूलो विस्फोटमा बदलिन्छ। त्यसैले लेनिनको शिक्षा स्पष्ट छ,विचारको संघर्षलाई दबाएर होइन, सही विचारको आधारमा एकता निर्माण गरेर मात्र पार्टी बलियो हुन्छ।

निष्कर्ष,

लेनिनको दृष्टिमा कम्युनिष्ट पार्टीको एकता कुनै सङ्ख्यात्मक रुपमा पदीय भागबण्डाको मिलन होइन त्यो वर्गीय, वैचारिक, राजनीतिक र संगठनात्मक एकता हो। उनले देखाएको बाटो स्पष्ट छ,पहिले सिद्धान्तको स्पष्टता, त्यसपछि संगठनात्मक एकतास पहिले अवसरवादविरुद्ध संघर्ष, त्यसपछि संयुक्त कार्य। त्यसैले एकता भन्ने शब्द आफैंमा क्रान्तिकारी हुँदैन। त्यो कुन वर्गीय आधारमा निर्माण गरिएको छ, कुन राजनीतिक उद्देश्यका लागि गरिएको छ, र त्यसले अवसरवादलाई परास्त गर्छ कि संरक्षण गर्छ भन्ने कुराले यसको मूल्य निर्धारण गर्छ। लेनिनको शिक्षाले देखाउँछ कि अवसरवादलाई लुकाएर गरिएको एकता अन्ततः सबैभन्दा ठूलो फुटको जननी बन्छ, जबकि सिद्धान्तमा आधारित एकता मात्र दीर्घकालीन, अनुशासित र विजयतर्फ उन्मुख कम्युनिष्ट पार्टीको आधारशिला बन्न सक्छ


२०८३ असार २२ ०८:०८ बजे

प्रतिक्रिया