वर्षाले किसानलाई राहत

bimbonline बिम्ब अनलाइन
२०८३ असार १७ १०:४० बजे

धनगढी।  लामो खडेरीपछि परेको पानीले कैलालीका किसानलाई राहत मिलेको छ । मङ्गलबार बिहान खेतमा जम्मा हुने गरी वर्षा भएपछि रोपाइँ गर्न पर्खेका किसानलाई धेरै राहत मिलेको हो । जेठ मसान्तदेखि बोरिङको भरमा रोपाइँ गरिरहेका उनीहरू लामो समयदेखि आकाशे पानीको प्रतिक्षामा थिए । 

बाँकी रहेको रोपाइँ गर्न र रोपो जोगाउन समस्या भइरहेका बेला भएको वर्षाले ठुलो राहत मिलेको धनगढी उपमहानगरपालिका–१० का कृषक साहेब रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “बल्ल बल्ल भएको वर्षा खेतीपातीका लागि अमृतसरह नै भएको छ । चर्को घाम सहेर रोपेको धान अब बल्ल जोगिने भयो ।” 

कृषक रानाका अनुसार पानी नपर्दा रोपाइँ भएको खेतमा दरार मात्रै फाँटेको थियो ।  रोपो नै सुकेर नष्ट हुन थालेको थियो । रोपो जोगाउन सुविधा भएका किसानले पटक पटक सिचाइँसमेत गरेको उहाँको भनाइ छ । 

यसअघि रोपाइँ सुरु गर्न नसकेको कृषक पनि वर्षा भएपछि रोपाइँ सुरु गरेका छन् । वर्षा भएपछि यस वर्षको रोपाइँ पनि सम्पन्न गरेको कृषक रामबहादुर चौधरीले बताउनुभयो । 

वर्षा भएपछि नदीनालामा बहाब बढेको छ । यस अघिसम्म कैलालीका धेरै नदीनाला सुकेका थिए । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा मङ्गलबार मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भएको छ । 

यसै गरी राति पनि यो प्रदेशको पहाडी र तराईका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षासँगै ससाना नदीमा बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले कैलालीमा डुबान भइरहने र नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । 

कुल ६३ हजार हेक्टर जमिनमा धानखेती गरिने कैलालीमा असार १५ सम्म ४० प्रतिशत रोपाइँ भएको थियो । अबको एक हप्ताभित्र आधाभन्दा बढी रोपाइँ भई ६० प्रतिशतसम्म पुग्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टले बताउनुभयो । 

बेलौरी समाचारदाताका अनुसार लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका कृषक धानको ब्याड सुक्न थालेको भन्दै चिन्तित थिए । सिँचाइ सुविधा पुगेका क्षेत्रमा पनि आवश्यक मात्रामा पानी नआउँदा रोपाइँ भएका खेतमा धाँजा फाटिसकेको थियो । रोपेको रोपोसमेत सुक्नथालेपछि चिन्तित बनेका यहाँका कृषकलाई सोमबार रातिदेखिको वर्षाले राहत मिलेको छ । 

सोमबार रातिदेखि वर्षा सुरु भएपछि धान रोप्न सुरु गरिएको शुक्लाफाँटा नगरपालिका–१०, नहरटोलका भुवनेश्वरी ओझाले बताउनुभयो । सिँचाइ अभावले रोपाइँ गर्न नपाउँदा बिउ खेतमै पहेंलो हुन थालेको भन्दै चिन्तित सोही ठाउँका गीता अवस्थीले वर्षा भएपछि राहत मिलेको बताउनुभयो । 

सोही ठाउँका गोविन्दराज जोशी एक बिघामा धान खेती गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ तर पछिल्लो समय विद्युत् समस्याका कारण सिँचाइ गर्न पाइएको थिएन । सोमबारको वर्षाले भने निकै राहत महसुस भएको छ । 

शुक्लाफाँटासहित नहरको सुविधा नपुगेका कृष्णपुर, लालझाडी, वेदकोटका अधिकांश कृषकले यस पटक रोपाइँ ढिलो गरी सुरु भएको बताउँछन् । वैशाखको अन्तिम साता धानको ब्याड राखेका लालझाडीका कृषक विपना जोशी लामो खडेरीका कारण ब्याड नै चिरा पर्दै जान थालेकामा पीर लिनुभएको थियो । अहिले वर्षा सुरु भएपछि राहत भएको बताउनुहुन्छ । 

सिँचाइ सुविधा पुगेका यहाँको बेलौरी, बेलडाँडी, भीमदत्त, वेदकोटका कृषकको ४५ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार, जिल्लामा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमध्ये ४८ प्रतिशत नहरको सिञ्चित क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ भने बाँकी बोरिङ तथा आकासे पानीको भर पर्दै आएका छन् । 

पुरानो जीर्ण नहरका कारण पर्याप्त पानी नआउनु तथा आकाशबाट पनि वर्षा नहुँदा यस वर्ष अधिकांश कृषकले समयमै धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसार निर्देशक हरिप्रसाद पनेरुले बताउनुभयो । विगतका वर्षमा यतिबेलासम्म ८० प्रतिशत रोपाइँ सकिने गरेकोमा यस वर्ष भने ४५ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो ।

कञ्चनपुरसहित सुदूरपश्चिमका कैलाली, डोटी र डडेलधुरामा लामो खडेरीपछि वर्षा सुरु भएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख ई। सञ्जय साहले बताउनुभयो । उहाँका अनुसार, बिहीबारसम्म यी क्षेत्रमा नियमित वर्षाको सम्भावना रहेको छ । गोरखापत्र अनलाइन


  


२०८३ असार १७ १०:४० बजे

प्रतिक्रिया