सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८३ असार १२ १५:०७ बजे

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शुक्रवार सम्पन्न दीक्षान्त समारोहमा दुई हजार चार सय ८९ विद्यार्थी दीक्षित हुनुभएको हो । 

समारोहमा विश्वविद्यालयबाट विद्यावारिधि लिनुभएका डा.तुलसी कुमारीलाई पनि दीक्षित गरिएको छ ।दीक्षान्त समारोहमा चार विद्यार्थीलाई पहिलो पटक डिन्स पदक पनि प्रदान गरिएको छ । डिन्स पदक तर्फ मथुरा प्रसाद उपाध्याय, कैलाश राज भट्ट, आयुशा जोशी, भरत साउदलाई प्रदान गरिएको छ ।

त्यसै गरी, चान्सलर तर्फ व्यवस्थापन संकायका निशान्त चन्द, भ्वाइस चान्सलर तर्फ कृषि विज्ञानका कैलाशराज भट्टले पदक प्राप्त गर्नुभएको छ ,भने स्वर्ण पदक तर्फ ललित कार्की, दुर्गा देवी,  निशान्त चन्द, प्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा, कैलाशराज भट्टलाई प्रदान गरिएको छ ।

दीक्षान्त समारोहमा सात सय ६७ विद्यार्थी सहभागी थिए । जसअनुसार कृषि विज्ञान सङ्काय तर्फबाट ३३ , शिक्षा संकायबाट २४२, इन्जिनियरिङ संकायबाट ५३ विद्यार्थी, मानविकी र सामाजिक विज्ञान संकायबाट १८२, व्यवस्थापन सङ्काय तर्फबाट २३९ र विज्ञान तथा प्रविधि संकायबाट १८ जना विद्यार्थी दीक्षान्त समारोहमा गाउनसहित सहभागी भएका थिए ।

परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार, दीक्षान्त समारोहमा विद्यार्थीहरू सहित अभिभावकहरू पनि सहभागी भएका थिए । उहाँका अनुसार, ९ औँ ग्रेस लिस्टमा समावेश दुई हजार चार सय ८९ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए ।दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयबाट आर्जित ज्ञानलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।


२०८३ असार १२ १५:०७ बजे

प्रतिक्रिया