भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, १५०० भन्दा बढी घाइते

bimbonline बिम्ब अनलाइन
२०८३ असार १२ ०९:४० बजे

काठमाडौँ । भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ । हजारौं मानिस सम्पर्कविहीन छन् ।

स्थानीय समयअनुसार बुधबार साँझ ६ः०४ बजे नेपाली समय अनुसार (बिहीबार बिहान ३ः४९ बजे) ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए ।

भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ । राजधानी कराकाससहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छ । सडक यातायात पनि अवरुद्ध भएको छ । बिजुली, खानेपानी, सञ्चार जस्ता न्यूनतम सुविधाबाट पनि स्थानीय वञ्चित भएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण(यूएसजीएस) का अनुसार पहिलो भूकम्प क्यारिबियन तटस्थित मोरोन शहरको पश्चिम क्षेत्रमा २२ किलोमिटर गहिराइमा गएको थियो । लगत्तै ७.५ रेक्टर स्केलको दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा आएको थियो ।

त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै थिए । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लगातार दुई ठूला भूकम्प आउँदा क्षति व्यापक भएको विज्ञहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार राजधानी काराकासको उत्तरमा रहेको तटीय क्षेत्र ला ग्वाइरामा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ रहेको देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि बन्द गरिएको छ, जसका कारण उद्धार र राहत कार्य प्रभावित भएको छ ।ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले स्थानीयलाई स्तब्ध बनाएको थियो ।

अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । कतिपय भूकम्प पीडित आफैँ भग्नावशेष हटाएर आफन्तको खोजीमा जुटेका छन् । राजधानी बाहिर सरकारी उद्धार टोलीको उपस्थिति निकै न्यून देखिएको स्थानीयहरूले बताएका छन् । धेरै परिवार आफन्तको खोजीमा सडकमा भौँतारिरहेका छन्।

टेलिभिजन च्यानलहरूले भग्नावशेषबाट जीवित मानिसहरूको उद्धार गरिएका दृश्य र आफन्तको छटपटाहटको हृदयविदारक दृश्य प्रसारण गरिरहेका छन् । ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले स्थानीयलाई स्तब्ध बनाएको थियो ।



२०८३ असार १२ ०९:४० बजे

प्रतिक्रिया