दार्चुला। ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका सबै ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार सबै प्रतिवादीलाई कारागार चलान गर्ने आदेश दिएको हो। अदालतका अनुसार उनीहरूलाई तत्कालका लागि पुर्पक्षका लागि थुनामा राखिनेछ भने अन्तिम फैसला प्रमाण र साक्षी परीक्षणपछि हुनेछ।
पुर्पक्षका लागि कारागार चलान हुनेहरूमा महाकाली नगरपालिका–१ का विक्रमसिंह कुँवर, महाकाली–२ का दलजित भट्ट, महाकाली–५ का खिमानन्द भट्ट, ब्यास गाउँपालिका–४ का परमानन्द भट्ट र पदमराज भट्ट, साथै नरेन्द्रदत्त भट्ट, हरिदत्त भट्ट तथा बैतडीको पाटन नगरपालिका–४ का पुष्करराज भट्ट रहेका छन्।
प्रधानाध्यापक धामी गत जेठ ४ गते विद्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनले मृत्यु अघि सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेखेको बताइएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयवासी तथा पीडित पक्षले निरन्तर धर्ना तथा आन्दोलन गर्दै आएका छन्।
प्रतिक्रिया