नयाँको नाममा पुरानै विचारको पुनरावृति

समाजलाई देवता, भाग्य वा व्यक्तिको इच्छाले होइन, भौतिक जीवनका अवस्था र संघर्षहरूले अगाडि बढाउँछन् भन्छ। यस अर्थमा यो आज पनि सबैभन्दा नयाँ, आधुनिक र वैज्ञानिक दृष्टिकोण हो।

bimbonline बिम्ब अनलाइन
२०८३ असार ३ ०८:४४ बजे
लक्ष्मण उप्रेती

आज नेपालमा नयाँ शक्ति नयाँ पार्टी नयाँ नेतृत्व र नयाँ राजनीतिको चर्चा निकै छ। पुराना दलहरूको असफलता, भ्रष्टाचार, अवसरवाद र जनअपेक्षामाथिको धोका देखेर जनता विकल्प खोजिरहेका छन्। यस्तो अवस्थामा आफूलाई नयाँ भनेर प्रस्तुत गर्ने अनेक राजनीतिक शक्ति देखा परेका छन्। तर एउटा गम्भीर प्रश्न उठ्छ, नयाँ भनेको आखिर के हो?

के खाली नयाँ नाम राख्दैमा नयाँ भइन्छ? के युवा अनुहार देखाउँदैमा नयाँ भइन्छ? के सामाजिक सञ्जालमा आकर्षक भाषण गर्दैमा नयाँ भइन्छ? यदि विचार, दर्शन, समाज बुझ्ने दृष्टिकोण र समाज परिवर्तनको लक्ष्य पुरानै छ भने बाहिरी रूप फेरिँदैमा त्यसलाई नयाँ भन्न मिल्छ?

कुनै पनि राजनीतिक शक्ति वा आन्दोलनको वास्तविक मूल्याङ्कन उसको नाम, झण्डा वा नेतृत्वको उमेरबाट हुँदैन। उसको मूल विचार, समाज बुझ्ने दृष्टिकोण र समाजलाई कुन दिशातर्फ लैजान खोज्छ भन्ने कुराले उसको चरित्र निर्धारण गर्छ।

पुरानो के हो ? मानव समाजमा हजारौँ वर्षदेखि एउटा कुरा निरन्तर दोहोरिँदै आएको छ,थोरै मानिसले धेरै मानिसको श्रममाथि नियन्त्रण गर्ने व्यवस्था।कहिले दास मालिकको रूपमा, कहिले सामन्तको रूपमा, कहिले राजाको रूपमा, कहिले उद्योगपति, बैंक मालिक वा ठूला व्यापारीको रूपमा यो व्यवस्था अस्तित्वमा रहदै आयो। नाम फेरिए, स्वरूप फेरिए, तर एउटा वर्गले अर्को वर्गको श्रमबाट लाभ उठाउने अवस्था समाप्त भएन। यस व्यवस्थालाई सही ठान्ने विचार पनि पुरानो हो। समाजमा धनी र गरिब हुनु स्वाभाविक हो,प्रतिस्पर्धामा जसले जित्छ उसैले शासन गर्नुपर्छ, सबैले आफ्नो मात्र हित हेर्नुपर्छ, समाजलाई बदल्नुभन्दा जसरी छ त्यसैलाई सुधार्दै लैजानुपर्छ भन्ने सोच नयाँ होइन। यो शोषणकारी समाजलाई टिकाइराख्ने पुरानो सोच हो।

आज आफूलाई नयाँ भन्ने धेरै शक्तिहरूले पनि अन्ततः यही कुरा भन्छन्। उनीहरू भन्छन्, ठूला व्यापारीलाई अझ सहज बनाइदिउ, निजी लगानीलाई अझ बढाऔँ, मानिसहरू बीचको होडबाजीलाई विकासको आधार बनाऔँ, सरकारले समाज परिवर्तन होइन खाली प्रशासन चलाउने काम गरोस्। शब्द फरक हुन सक्छन्, तर सार यही हो।यस्तो सोच वास्तवमा नयाँ होइन। यो पूँजीवादी समाजको पुरानै दर्शन हो।

नयाँ के हो ? इतिहासमा कुनै पनि नयाँ कुरा अचानक आकाशबाट झरेको छैन। नयाँ कुरा सधैँ पुरानो व्यवस्थाभित्र पैदा भएका समस्याहरूको समाधान खोज्ने क्रममा जन्मिएको छ।दासप्रथाको अन्त्य नयाँ थियो।सामन्तवादविरुद्धको संघर्ष नयाँ थियो। राजतन्त्रविरुद्ध जनतन्त्रको आन्दोलन नयाँ थियो। त्यसैगरी आजको युगमा मानिसमाथि मानिसको आर्थिक, सामाजिक र राजनीतिक प्रभुत्व अन्त्य गर्ने विचार नै नयाँ हो। यही कारणले द्वन्द्वात्मक भौतिकवाद नयाँ दर्शन हो।

कसैले भ्रमवश सोध्न सक्छ, मार्क्सवाद त डेढ सय वर्षअघि आएको हो, त्यसलाई कसरी नयाँ भन्न सकिन्छ? यो प्रश्नको उत्तर घोषणापत्रको पुस्तक प्रकाशन मितिमा होइन, त्यसको ऐतिहासिक भूमिकामा छ।सूर्य करोडौँ वर्ष पुरानो छ, तर आज पनि नयाँ दिनको सुरुवात उसैले गराउँछ। गुरुत्वाकर्षणको नियम नयाँ खोज होइन, तर आज पनि सत्य छ। त्यसैगरी कुनै विचार कहिले जन्मियो भन्ने कुरा भन्दा त्यसले भविष्यको प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।

द्वन्द्वात्मक भौतिकवादले समाजलाई स्थिर होइन, निरन्तर परिवर्तनशील मान्छ। यसले हरेक वस्तु, घटना र समाजभित्र परिवर्तनका कारणहरू खोज्छ। यसले समाजलाई देवता, भाग्य वा व्यक्तिको इच्छाले होइन, भौतिक जीवनका अवस्था र संघर्षहरूले अगाडि बढाउँछन् भन्छ। यस अर्थमा यो आज पनि सबैभन्दा नयाँ, आधुनिक र वैज्ञानिक दृष्टिकोण हो।

 नयाँ भन्नेहरू कुन दर्शनबाट निर्देशित छन-आजका धेरै नयाँ भनिने राजनीतिक शक्तिहरूले प्रायः वर्ग शोषण, उत्पादन सम्बन्ध, श्रम र सम्पत्तिको प्रश्न उठाउन चाहँदैनन्।उनीहरू समाजका समस्यालाई व्यक्तिको खराब आचरण, प्रशासनिक कमजोरी वा नेताको नैतिक पतनमा सीमित गरेर प्रचार गरीरहेका छ्न।उनीहरू भ्रष्टाचारलाई समस्या देख्छन्, तर भ्रष्टाचार जन्माउने आर्थिक संरचनालाई देख्दैनन्।

उनीहरू बेरोजगारीलाई समस्या देख्छन्, तर बेरोजगारी उत्पादन गर्ने व्यवस्था बदल्ने कुरा गर्दैनन्। उनीहरू गरिबीलाई समस्या देख्छन्, तर गरिबी उत्पादन गर्ने वर्गीय सम्बन्धमाथि प्रश्न उठाउँदैनन्। यही कारण उनीहरूको नयाँपन सतही र उपरी कुरा मात्र हो ।विरुवाको रोगको कारण  माटोभित्र जरामा छ तर पातमा औषधि छर्केर समाधान खोज्नु जस्तै उनीहरूको ( नयाँ भन्नेहरुको ) राजनीति छ।

 द्वन्द्वात्मक भौतिकवाद किन आज पनि सबैभन्दा नयाँ दर्शन हो ?

किनभने यसले समाजलाई जस्तो छ त्यस्तै स्वीकार गर्न सिकाउँदैन, बदल्न सिकाउँछ। किनभने यसले घटनाको बाहिरी रूप होइन, भित्री कारण खोज्छ। किनभने यसले समस्या देखाएर मात्र बस्दैन, समस्याको स्रोत पत्ता लगाउँछ। किनभने यसले व्यक्तिलाई दोष दिएर मात्र बस्दैन, दोष पैदा गर्ने सामाजिक संरचनाको अध्ययन गर्छ। किनभने यसले समाजलाई वर्गीय दृष्टिले हेर्छ र शोषणको अन्त्यलाई लक्ष्य बनाउँछ।

आज कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, रोबोट र सूचना क्रान्तिको युग आएको छ। तर यी सबै विकासको फल कसले उपभोग गरिरहेको छ? संसारको सम्पत्ति किन झन् थोरै मानिसहरूको हातमा केन्द्रित हुँदै गएको छ? करोडौँ मानिस श्रम गरेर पनि किन असुरक्षित जीवन बाँचिरहेका छन्रु यी प्रश्नहरूको वैज्ञानिक उत्तर आज पनि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले मात्र दिन सक्छ।

वास्तविक नयाँ शक्ति को हो?वास्तविक नयाँ शक्ति श्रमिक हो।वास्तविक नयाँ शक्ति किसान हो।वास्तविक नयाँ शक्ति उत्पीडित समुदाय हो। वास्तविक नयाँ शक्ति श्रम गरेर समाज चलाउने विशाल जनसमुदाय हो।र तिनको ऐतिहासिक मुक्ति तथा समाज रूपान्तरणको वैज्ञानिक मार्गदर्शक विचार द्वन्द्वात्मक भौतिकवाद हो।र द्वन्द्वात्मक भौतिकवाद्लाइ वोध गर्नेहरुनै वास्तविक नयाँ शक्ति हुन।

 निष्कर्ष

नयाँको अर्थ नयाँ प्याकेज होइन। नयाँको अर्थ नयाँ लोगो, नयाँ अनुहार वा नयाँ नारा पनि होइन। वास्तविक नयाँपन समाज विकासको आगामी दिशाको प्रतिनिधित्व गर्नु हो। आज पनि निजी स्वार्थलाई सर्वोच्च मान्ने, धनको केन्द्रीकरणलाई स्वाभाविक मान्ने, समाजलाई धनी र गरिबमा विभाजित राख्ने, शोषणकारी सम्बन्धलाई कायम राख्ने विचारहरू पुरानै विचार हुन्।यसका विपरीत, श्रमको सम्मान, समानता, सामूहिक हित, शोषणको अन्त्य र वैज्ञानिक समाज निर्माणको लक्ष्य बोकेको दर्शन नै वास्तविक नयाँ दर्शन हो।

त्यसैले आजको युगमा पनि द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र वर्गसंघर्षको विज्ञान पुरानो होइन। बरु मानव समाजलाई भविष्यतर्फ डोर्याउने, मानव मुक्तिको बाटो देखाउने र नयाँ समाज निर्माणको आधार प्रदान गर्ने भएकाले यही नै वास्तविक नयाँ दर्शन हो र यो दर्शनलाई अंगिकार गर्नेहरु नै नयाँ शक्ति हुन। नयाँको नाममा पुरानो व्यवस्थालाई रंगरोगन गरेर प्रस्तुत गर्नेहरू नयाँ देखिन सक्छन्, तर इतिहासको दृष्टिले उनीहरू पुरानै समाजका सडेगलेका नयाँ प्रतिनिधि मात्र हुन्। 


२०८३ असार ३ ०८:४४ बजे

प्रतिक्रिया