काठमाण्डौ। जेठ २७ गते बुधबार भारतीय सैनिक हेलिकोप्टर बिना अनुमति दार्चुला माथिको आकाशमा उडेको पाइएको छ । सीमानामा खटिएको सशस्त्र टोलीले माथिल्लो निकायमा जानकारी गराएपछि दार्चुला प्रशासनले उक्त घटनाको औपचारिक जानकारी आज बल्ल पाएको हो ।
छाङरुस्थित सशस्त्र प्रहरी बल नेपालको ५० नम्बर गुल्मले त्यसबारे दार्चुला सदरमुकाम खलंगामा रहेको ४४ नम्बर गण मुख्यालयलाई जानकारी गराएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र सशस्त्र प्रहरी बल मुख्यालयलाई जानकारी गराइयो ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले नेपाली भूमिमाथि भारतीय सैनिक हेलिकोप्टर उडेको फोटो दिउँसो पाएको बताएका छन् । भारतीय इन्डो–टिबेटन बोर्डर पुलिस (आइटीबीपी) का महानिर्देशक शत्रुजितसिंह कपुरले भारतीय सैनिक ब्यारेक रहेको स्थान गुञ्जी जाने क्रममा सैन्य हेलिकोप्टर प्रयोग गरेको बुझिएको छ ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी धामीले अनुमति बिना नेपाली आकाशमा भारतीय सैन्य हेलिकोप्टर उडेको विषयमा भारतीय प्रशासनसँग जवाफ माग्ने प्रक्रिया थालिएको जानकारी दिए ।
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदको रोष्ट्रममा उभिएर ‘नेपालले पनि भारतको धेरै जमिन मिचेको’ बताएपछि उत्पन्न विवाद अझै साम्य भएको छैन । सोही सन्दर्भमा भारतीय हेलिकोप्टरले नेपालको पूर्वअनुमति बिना दार्चुलाको पश्चिम क्षेत्र हुँदै नेपाली आकाशमा प्रवेश गरेपछि राजनीति तरङ्गित भएको छ ।
प्रतिक्रिया