रास्वपा सभापति लामिछाने आज भारत जाँदै

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ १८ ०८:०७ बजे
रास्वपा सभापति रवि लामिछाने

काठमाण्डौ।सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार भारत भ्रमणमा जाँदै छन्।

पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लागेका हुन्। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरासहितको टोली नयाँ दिल्ली जाँदैछन् ।

भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरूका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसहित सरकारी अधिकारीसँग पनि भेट्ने कार्यक्रम छ ।लामिछानेले भाजपा अध्यक्ष नवीन र पार्टीका अन्य वरिष्ठ नेताहरूलाई भेट्ने छ।

यस भ्रमणको उद्देश्य रास्वपा र भाजपाबीच पार्टी–स्तरीय संवाद सुरु गर्नु र संगठनात्मक कार्यप्रणाली, लोकतान्त्रिक प्रक्रियाहरू र जनता–केन्द्रित राजनीतिक पहुँच जस्ता मुद्दाहरूमा छलफल गर्नु रहेको भाजपाले जनाएको छ।

भाजपाको विदेश विभाग प्रमुख डा। विजय चौथाईवालेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबिन लगायत पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने जनाइएको छ ।भ्रमणका दौरान दुवै दलका नेताहरूबिच दलीय सांगठनिक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनकेन्द्रित राजनीतिक गतिविधिका विषयमा विचार आदानप्रदान गर्ने अवसर मिल्ने भाजपाले जनाएको छ ।

रवि लामिछानेको भारत भ्रमण यस्तो समयमा हुँदैछ जब नेपालका प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले भारतले नेपाली भूभाग मात्र अतिक्रमण गरेको छैन, नेपालले पनि भारतीय भूभाग अतिक्रमण गरेको छ भनेर अभिव्यक्ति दिएका छन्।



२०८३ ज्येष्ठ १८ ०८:०७ बजे

प्रतिक्रिया