१३८ जनाले दार्चुलामा यार्सागुम्बा संकलनका लागि लिए अनुमति

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ १२ १६:०९ बजे

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि हालसम्म १३८ जनाले पूर्जी लिएका छन्।अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण सुरु गरेकोमा सोमबारसम्म उक्त सङ्ख्यामा स्थानीय संकलनकर्ताले अनुमति लिएको जनाएको हो।

कार्यालयका सूचना अधिकारी अरुण चौधरीका अनुसार हाल वितरण गरिएका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको ‘निलो कार्ड’ हुन्। संकलनकर्ताको सहजताका लागि कार्यालयसहित जिल्लाका ११ स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ।

संरक्षण क्षेत्रले भौगोलिक अवस्थाअनुसार तीन प्रकारका परिचयपत्र र शुल्क निर्धारण गरेको छ। संरक्षण क्षेत्रभित्रका स्थानीयका लागि निलो कार्ड बापत प्रतिव्यक्ति ५०० रुपैयाँ, दार्चुला जिल्लाभित्रका अन्य नागरिकका लागि पहेंलो कार्ड बापत २ हजार रुपैयाँ तथा जिल्ला बाहिरका नागरिकका लागि रातो कार्ड बापत ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

यार्सागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्सागुम्बा पाइने पाटनहरू प्रत्येक वर्ष जेठ १५ गतेदेखि असार १५ गतेसम्म मात्र खुला रहने व्यवस्था छ। तर अनुमति अवधि सुरु हुन बाँकी रहे पनि केही स्थानीयवासी भने वैशाखदेखि नै हिमाली पाटनतर्फ पुगेर संकलनमा जुटिसकेका छन्।

दार्चुलाका लोलु, अपीफेद, सतगङ्गा, काटैघट्टे, खोला, चाइमटेला, धरमघर, क्षतिनाम्पा, दोपाखे र दुम्लिङ क्षेत्र यार्सागुम्बा पाइने प्रमुख पाटनका रूपमा परिचित छन्। संरक्षण क्षेत्र कार्यालयले अनुमति बिना यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन नगर्न र कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।





२०८३ ज्येष्ठ १२ १६:०९ बजे

प्रतिक्रिया