नेपाल-भारत सिमानाबाट चिनियाँ पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ ३ २०:२५ बजे

काठमाण्डौ।  भारतीय सशस्त्र सीमा बलको ४७ औँ बाहिनीले रक्सौल–वीरगञ्ज मितेरी पुल क्षेत्रबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।अस्ति शुक्रबार दिउँसो नियमित जाँच अभियानका क्रममा तिनलाई पक्राउ गरिएको सुरक्षा निकायले जनाएको छ ।

प्रारम्भिक सोधपुछमा उनले आफू खेलौना व्यवसायसँग सम्बन्धित व्यापारी भएको बताएका छन् । उनीबाट लडाकू विमान,स्पाइडर म्यान मुखौटालगायत खेलौनाको खेपसमेत बरामद भएको बताइएको छ ।जानकारीअनुसार,ती चिनियाँ नागरिक ११ मे २०२६ मा काठमाडौं हुँदै व्यापारिक प्रयोजनका लागि चितवन पुगेका थिए । त्यसपछि वीरगञ्ज हुँदै रक्सौल नाका प्रयोग गरी भारत प्रवेश गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

सुरक्षा स्रोतका अनुसार एसएसबीको ड्युटी परिवर्तन भइरहेको समयमा उनी सीमाक्षेत्रमा देखा परेका थिए । मैत्री पुल पार गरी भारतीय कस्टम क्षेत्रबाट रक्सौल शहरतर्फ जाँदै गर्दा उनलाई टाँगाबाट नियन्त्रणमा लिइएको बताइएको छ । उनी केवल चिनियाँ भाषामा मात्र बोल्ने भएकाले सोधपुछमा कठिनाइ भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

पक्राउ पर्ने व्यक्तिको पहिचान ५७ वर्षीय याओ सुझाङका रूपमा भएको छ। उनका पिता या सो ची हुन् । उनीसँगबाट चिनियाँ राहदानी नम्बर इजे० १३८४०८  बरामद गरिएको छ। तर,भारत प्रवेशका लागि आवश्यक वैध भिसा दस्तावेज भने फेला नपरेको सुरक्षा निकायले जनाएको छ।सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायहरूले चिनियाँ नागरिकको भारत प्रवेशको वास्तविक उद्देश्य,सम्भावित सम्पर्क तथा गतिविधिबारे अनुसन्धान शुरु गरेका छन् । आवश्यक सोधपुछपछि कानुनी कारबाहीका लागि उनलाई सम्बन्धित प्रहरी कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

एसएसबीका मनीष आनन्दले घटनाको पुष्टि गर्दै अवैध रूपमा बिहार प्रवेश गरिरहेका एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको र उनीविरुद्ध नियमानुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।जनआस्था




२०८३ ज्येष्ठ ३ २०:२५ बजे

प्रतिक्रिया