विप्लवहरुको पार्टीले मात्र होइन, प्रचण्ड-वलीहरुले पनि चुनावमा ड्याङ खाएपछि अस्तित्व रक्षाका खातिर अब मिल्नुको विकल्प छैन भन्न थालेका छन् । उनीहरुले कम्युनिस्ट एकताको कुरा आ-आफ्ना कोणबाट उठाएका छन् । दुवैले कम्युनिस्टहरुको एकतालाई आजको अनिवार्य आवश्यकताको रुपमा उठाएका त छन् तर फरक के छ भने विप्लवहरुले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण गर्ने र एकताबद्ध गर्ने कुरा गरेर सच्चा क्रान्तिकारीहरुलाई एकताबद्ध गर्न खोजेको देखिन्छ भने प्रचण्ड-वलीहरुले सीधै एकताको कुरा गरेर संसदवादी कम्युनिस्ट अर्थात् कमाउनिष्टहरुको एकता गर्न खोजेको भान हुन्छ ।
कुर्सी स्वार्थका कारण राष्ट्रिय र वर्गीय आत्मसमर्पण गरी संसदीय दलदलमा नराम्ररी फसेर नागरिकताका बारेमा गरेका राष्ट्रघाती कामहरु र कुशासनलाई चरम अवस्थामा पुराएर देस र जनतालाई रुवाउनेहरु रुपान्तरण हुने, क्रान्तिकारी बन्ने र एकताबद्ध हुने कुरा गरे कि भनेर सोंच्नु पनि हुन्न । कम्तीमा पनि सुधारवादी कम्युनिस्ट भएको भए संसदका स्वच्छ सहकर्मी कम्युनिस्टहरु मसाल र नेमकिपालाई पनि एकताबद्ध गर्ने कुरा गर्थे । त्यसो नगरेकोले उनीहरुको एकता कमाउनिष्टहरुको हो भन्ने नै स्पष्ट छ । त्यसैले कुरा, भाषण र दस्तावेजहरुमा समाजवादका कुरा गरेको आधारमा उनीहरुलाई कम्युनिस्ट क्रान्तिकारी सोंचियो भने त्यो आफ्नो मूर्खता हुन्छ । विगतमा यिनीहरुले एकता गरेपछी पद, पावर र पैसा प्राप्तिको लागि गरेको गाँडकोराकोर र भुँडी फोराफोर अनि दुई जेटेर एक बनेका त एक फुटेर तीन टुक्रा बनेर पनि विदेसीको बलमा सत्ताको भरेङ चढेपछि गरेका राष्ट्रघाती सन्धी, सम्झौता र सहमतिहरु अनि भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी र आर्थिक अनियमितताहरु एवं अनैतिक, अश्लील, अस्वाभाविक, अवांछित र अमानवीय हरकत ताजै छन् । जहाँसम्म SPP पास गर्न नमानेकोले अहिलेको जेन्जी आन्दोलनपछि भोग्नुपरेको हविगतका कारणले केही सहानुभूती प्राप्त गरेपनि यिनीहरुलाई यत्तिमै देसभक्त वा साम्राज्यवादविरोधी शक्ति पनि मान्न कठिन छ । यिनले गरेका यस्ता देसविरोधी, जनविरोधी र क्रान्तिविरोधी कामकार्वाहीहरुको तिनले प्रतिफल पाउनु आवश्यक थियो, पाए र पाउँदैछन् । फलत : आज त्यही चोटले रन्थनिएर स्तब्ध भएका छन् । सत्ता गुमेको चोटमात्र होइन अब अलि बर्षसम्म नै सत्ता गुम्ने हो कि भन्ने पीरले उनीहरु फेरि पनि विगतको जस्तै एकता गरि सत्तामा पुनरागमन गर्ने र ब्रह्मलुट मच्चाउने सपना देखेर एकताको कुरा गरेका हुन् भन्ने स्पष्ट छ । एकता गरेर केही सच्चिने र सत्तामा पुगेर केही राहत पुराउने सुधारवादी कामसम्म गरेछन् भने त्यतिबेलै त्यसबारे सोंचौंला नत्र उनीहरुको नीति, नेतृत्व र नेतृत्वपंक्तिप्रती विश्वास गर्ने ठाउँ छैन । जहाँसम्म ती पार्टीभिय्रका कैयौं नेता-कार्यकर्ताहरु व्यक्तिगतरुपमा इमान्दार र क्रान्तिकारी विचार-आचार भएकाहरुको कुरा छ, उनीहरु आफ्नो पार्टी, गुट वा नेताबाट पाइने गासको आशको मोहपास त्याग गरेर रुपान्तरण हुनेगरी आउँछन् भने स्वागत गर्ने मात्र होइन तिनलाई जोडबल गरेर पनि ल्याउनुपर्छ । यो कुरा बेग्लै हो कि त्यस्ता उचालिएर वा घिसारिएर ल्याइकाले के कति काम गर्छन? आशा गरौं उचालिएको कुकुरले मृग मार्दैन भन्ने उखान उहाँहरुका सन्दर्भमा पुष्टि नहोस् ?
विप्लव र उनको समूहले केही पहिले देखिनै नयाँ गर्ने, राम्रो गर्ने र क्रान्तिकारी कुराले भरिएका लेख, रचना र दस्तावेजहरु लेखेर क्रान्तिकारी देखिनु वा वकवास गर्नु र ईतिहास लेखाउने झुटो प्रयास गर्नुभन्दा कामकार्वाही क्रान्तिकारी गरेर साँच्चिकै नयाँ ईतिहास कोर्ने भन्दै र गर्ने प्रयत्न गर्दै आइरहेको छ । त्यसैले हाम्रो चासो, चिन्ता र सल्लाह-सुझाव विप्लव लगायतका सडकवादी क्रान्तिकारीहरुबीचको एकतासँग छ नकि संसदवादी दलाल र गद्दारहरुको एकताप्रती ।
अहिले एकता नभएमा अस्तित्वसम्म धान्न र लेखिएका कुराहरु पढ्नेसम्म मान्छे पाउन कठिन हुने देखिएपछी बाध्यताबस नेपालका तीन दर्जनजती क्रान्तिकारी भनिएका शक्तिहरुमध्ये जम्मा चार समूहले चुनाव बहिष्कार गर्नु नै महाक्रान्तिकारीता हो भन्ने सोंचेर कार्यगत एकता गर्दैछन् । उनीहरुले आफूहरुलाई मात्रै क्रान्तिकारी ठानेर संयुक्त संघर्ष समिती बनाएर संघर्ष गर्ने कुराको थालनी गरेका छन् । उनीहरुमा पैदा भएको यो चेत्बुद्धी दीर्घजीवी होस् र उनीहरुको संकीर्णता, अहंकार, नेतृत्वलिप्सा र निषेधवादी सोंच समाप्त भै सबै क्रान्तिकारीलाई समेट्ने आववश्यकता बोध होस। वली ग्याङ र प्रचण्ड ग्याङका पनि तलका धेरैजसो क्रान्तिकारी र देसभक्तहरु छैनन् भन्ने कुरा होइन, प्रशस्त छन्, र कतिपय नगन्य मात्रामा माथी पनि होलान्, तर जबसम्म उनीहरुले नेतृत्वको पुच्छर बन्न छोड्दैनन ओली र प्रचण्डले बायाँ भन्दा बायाँ घुम्ने र दायाँभन्दा दायाँ घुम्ने गोरुजस्तो वा उठ भन्दा उठ्ने र बस भन्दा बस्ने दासजस्तो व्यवहार गर्छन्, तिनको अर्थ रअस्तित्व छैन ।
यो कुरा बेग्लै हो कि भोलि क्रान्तिको मौलिक सुरुवात र विकास हुने भएपछी उनीहरु क्रान्तिकारी हुन् भने क्रान्तिमै आउँछन् र एकता हुन्छ जसरी माओवादी जनयुद्ध हुँदा एमाले लगायतका कम्युनिष्ट पार्टीहरुबाट सांसद-मंत्री भएका नेतादेखी तलतिरका अधिकांश क्रान्तिकारीहरु युद्धकै दौरानमा एकताबद्ध भएका थिए र युद्धको त्यसरी विकास, विस्तार र विजय भएको थियो । स्मरणीय छ कि शान्तीप्रकृयामा आएर सत्ताको सुखभोग गर्ने संभावना देखेपछी आएका र घुसेकामध्ये कतिपयले सत्तामा बसेर तर खाने अनि पार्टी र आन्दोलनलाई पनि भुत्ते र भस्म पार्न सघाएको पुष्टि भएकै छ । तसर्थ सच्चा क्रान्तिकारीहरु जहाँ जो भएपनी क्रान्तिको लागि जतिबेला पनि स्वागत गर्नुपर्छ र एकता गर्नुपर्छ भने अवसरवादीहरुसँग क्रान्तिकारीहरुले कहिले एकता गर्नु हुन्न भन्ने कुरामा एकदमै स्पष्ट र दृढ हुनुपर्छ ।
तसर्थ वास्तविक र भरपर्दो एकताको निम्ति क्रान्तिकारी पार्टी र नेताहरुले निम्न कुराहरुमा जोड दिनुपर्ने हुन्छ स्
त्यसैगरी आर्थिक प्रभाव र प्रलोभनको परिणामस्वरुप पाइने पद, पावर, प्रतिष्ठा र प्रचारबाट प्रफुल्लित भएर तिनको प्राप्तिको लागि गरिने आर्थिक अनियमितता अर्थात् दलाली र कमिसनखोरीजस्ता भ्रष्टाचारजन्य गतिविधिहरु हुन् । यतिखेर कम्युनिस्टहरु कमाउनिष्ट र वामपन्थीहरु दामपन्थीको रुपमा बदनाम भए-गरिएका छन् । त्यसैले त्यसको कडाइपूर्वक प्रतिवाद गर्न आवश्यक छ । त्यसको निम्ति पार्टी सदस्यता आवेदन लिंदा र हरेक पल्ट रिन्यु गर्दा सम्पत्ति विवरण मसिनो गरी प्रस्तुत गर्ने गरिनुपर्छ । त्यस दौरानमा अस्वाभाविक बढेको वा त्यस्तो गरेको आशंका, आलोचना, आरोप र उजुरी आएमा तत्काल छानबिन गरी अनियमित धन्दाबाट बढे-बढाइएको सम्पूर्ण सम्पत्ती तत्काल पार्टीकरण गर्ने र स्वच्छ पुँजीको समेत कम्तीमा २५ प्रतिशत जरिमाना गरिने व्यवस्था गरिनुका साथै १० बर्षसम्म राज्यका निकायमा प्रतिनिधित्व गर्ने अवसरबाट बन्चित गरिनुपर्ने व्यवस्था गर्ने र निर्ममतापूर्वक लागू गर्न प्रतिबद्ध हुनुपर्छ ।
यसैगरी बलात्कार गरेकालाई महिलाको अनुमतिले सार्वजनिक रुपमा निन्दा गर्दै पार्टीबाट निष्काशन गर्ने र निश्चित अवधिसम्म श्रमशिवीरमा लगाउने गरिनुपर्छ । यसरी नै सांस्कृतिक विचलनमा पर्नेलाई डिमोसन गर्ने, राष्ट्रघात-जनघातजस्ता अपराध गर्नेलाई जनकार्वाहीका साथै देसको कानुन अनुसार कार्वाहीको लागि सुम्पिदिनेजस्ता कडा नीतिनियम बनाई लागू गर्नेजस्ता कैयौं उपायहरु अवलम्बन गर्नुपर्दछ ।
हराउँदै गएको आलोचना-आत्मालोचनाको पद्धतिलाई नियमित बैठकहरुमा अनिवार्य रुपले अवलम्बन गर्नैपर्दछ । पार्टी र नेता-कार्यकर्ताहरुबाट जान-अनजानमा विचारदेखी व्यहारसम्मका हरेक प्रकृयामा हुने कमीकमजोरी, भूल र गल्तिलाई महसुस गर्ने, सच्चिने प्रतिबद्धता गर्ने पछिल्ला व्यवहारमा सच्चिने र रुपान्तरण हुने यो रचनात्मक र बैज्ञानिक विधि भएकाले कम्युनिस्ट क्रान्तिकारी पार्टीमा अनिवार्य र अपरिहार्य गर्ने गरिएको हो । यसलाई पनि अनिवार्यरुपले नियमित गरि खुला र इमान्दारीपूर्वक सहयोद्धालाई सुधार्ने नियतले लागू गरेर पार्टीलाई शुद्धीकरण र क्रान्तिकारीकरण गर्दै अघि बढ्न-बढाउन मुख्यतः मूल नेतृत्वपंक्ती पूर्णरुपले खुला र तयार बन्नैपर्दछ ।
उपरोक्त कुराहरुलाई सैद्धान्तिक रुपमा स्वीकार गर्न र व्यावहारिक रुपमा तत्कालैदेखि लागू गर्न तयार हुनेहरुको बीचमा एकता हुने हो भने एकता सार्थक र दीगो पनि हुनेछ । यस्तो शुद्धिकृत पार्टीले मात्र आफूलाई गुटफुटबाट बचाउने मात्र होइन कि क्रान्ती सम्पन्न गर्न र समाजवादी बाटोमा निरन्तर सफलता र विजयका साथ विस्तार र विकास गर्दै अघि बढ्न सक्नेछ ।
अन्त्यमा, एउटा कुरा के छ भने एकातिर विप्लवजीहरुले र अर्कातिर राष्ट्रिय क्रान्तिकारी मोर्चा वा कार्यगत एकता बनाएर संयुक्त आन्दोलन गर्दैआएका शक्तिहरुमध्येबाटै यसप्रकारको एकताको निम्ति छिटो र पूरै जोडबलका साथ पहल लिइनुपर्छ । सिनियर नेताहरुले गर्नुपर्ने भनेर हुँदोरहेन्छ । ती आफूलाई मात्र क्रान्तिकारी भन्ने र सच्चा क्रान्तिकारीहरुलाई जहिले पनि सत्तोसराप गर्ने वा अरुलाई क्रान्तिकारी देख्यो भनी नजिक आउँछन् र छोइछिटो लाग्छ भन्ने गरेर खुम्चिंदै गएकाहरुको संसदीय बाटो अवरुद्ध भएकोले बुद्धि फिरेछ र कार्यगत एकता, संयुक्त मोर्चा र पार्टी एकताको लागि तयार भएछन् भने स्वागत गर्ने अन्यथा त्यस्ता शक्ति-व्यक्तिहरुलाई पछिको लागि छोडेर अरुहरुले नै यसप्रकारको पार्टी एकताको पहल शीघ्रातिशीघ्र रुपमा गरियोस् र सबैले साथसहयोग र सहभागिता जनाई क्रान्तिकारी कम्युनिस्टहरुको बृहत् एकता सफल होस् भन्ने शुभकामना ।२०८३ जेठ ३
प्रतिक्रिया