नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास पार्टी विभाजन, सत्ता संघर्ष वा चुनावी उतारचढावको इतिहास मात्र होइन, यो हजारौं ज्ञात–अज्ञात क्रान्तिकारीहरुको त्याग, विचार, संघर्ष र समर्पणको इतिहास पनि हो। यही इतिहासभित्र केही यस्ता व्यक्तित्वहरू छन्, जसले आफ्नो जीवनलाई कुनै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाका लागि होइन, जनताको मुक्ति र समाज रूपान्तरणको महान उद्देश्यका लागि समर्पित गरे। कमरेड निर्मल लामा त्यस्ता दुर्लभ व्यक्तित्वमध्ये एक हुन्। उनी खाली एउटा नेता मात्र थिएनन्, उनी विचार, संघर्ष, साहस, त्याग र क्रान्तिकारी निष्ठाको एउटा जीवित विद्यालय थिए।
निर्मल लामाको जीवनलाई हेर्दा नेपाली समाजको वर्गीय संरचना, शोषणको चरित्र, राष्ट्रिय उत्पीडन र जनताको मुक्ति आन्दोलनको सम्पूर्ण प्रक्रिया बुझ्न सकिन्छ। भारतमा श्रमजीवी परिवारमा जन्मिएर अत्यन्त विपन्न परिस्थितिमा हुर्केका निर्मल लामाले जीवनको प्रारम्भिक अवस्थादेखि नै दुःख, अभाव र श्रमको वास्तविकता अनुभव गरे। सामान्य मानिसको पीडा खाली किताबमा पढिएको विषय मात्र थिएन, त्यो त उनले प्रत्यक्ष भोगेको यथार्थ थियो। यही जीवनअनुभवले उनलाई शोषणमुक्त समाज निर्माणको विचारतर्फ आकर्षित गरायो। उनले मार्क्सवादी दर्शनलाई सैद्धान्तिक विषयको रूपमा मात्र होइन, जीवन र समाज बदल्ने वैज्ञानिक उपकरणको रूपमा ग्रहण गरे।
नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण पक्ष के छ भने धेरै मानिसहरू सत्ता, अवसर र व्यक्तिगत लाभका आधारमा राजनीतिक धार परिवर्तन गर्छन्, तर निर्मल लामा त्यसको ठीक विपरीत थिए। उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे, संगठनात्मक जिम्मेवारीमा पुगे, तर जब उनले बुझ्न थाले कि संसदीय सीमाभित्र जनताको वास्तविक मुक्ति सम्भव छैन, तब उनले व्यक्तिगत भविष्यभन्दा जनताको पक्ष रोजे। नेपाली कांग्रेसको साधारण सदस्यताबाट राजीनामा दिएर कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नु खाली पार्टी परिवर्तन मात्र थिएन, त्यो एउटा वैचारिक रूपान्तरण थियो। त्यो निर्णयले उनको जीवनलाई संघर्ष, जेल, यातना र निरन्तर जोखिमतर्फ धकेल्यो, तर उनले कहिल्यै पछाडि फर्केर हेरेनन्।
कमरेड निर्मल लामाको विशेषता आन्दोलनमा सहभागी हुनु मात्र थिएन, उनी आन्दोलनलाई वैचारिक दिशा दिने व्यक्तित्व पनि थिए। नेपाली कम्युनिष्ट आन्दोलन लामो समयसम्म गुट, संकीर्णता, व्यक्तिगत अहंकार र अस्पष्ट वैचारिक दृष्टिकोणको समस्याबाट ग्रस्त रह्यो। यस्तो अवस्थामा निर्मल लामाले क्रान्तिलाई नारा वा भावनाको विषय मात्र होइन, वैज्ञानिक संगठन, वर्गीय दृष्टिकोण र जनतासँगको गहिरो सम्बन्धद्वारा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए। उनी अध्ययनशील थिए, विश्लेषणात्मक थिए र परिस्थिति बुझेर निष्कर्ष निकाल्ने क्षमता राख्थे। त्यसैले उनी खाली कार्यकर्ता उत्पादन गर्ने नेता मात्र थिएनन्, वैचारिक कार्यकर्ता निर्माण गर्ने कम्युनिष्ट नेता थिए।
नेपालको प्रजातान्त्रिक र जनवादी आन्दोलनमा निर्मल लामाको भूमिका विशेष गरी पञ्चायती निरंकुशता विरुद्धको संघर्षमा अत्यन्त महत्वपूर्ण रह्यो। त्यो समय राज्यसत्ता राजनीतिक असहमति दबाउने संरचना मात्र थिएन, त्यो अवधि जनताको चेतना नियन्त्रण गर्ने दमनकारी संयन्त्र पनि थियो। गिरफ्तारी, यातना, जेल, निगरानी र हत्या पंचायती निरंकुशताका लागि सामान्य थियो। तर यस्तो भयावह अवस्थामा पनि निर्मल लामाले संघर्षको बाटो छोडेनन्। उनी बारम्बार गिरफ्तार भए, यातना भोगे, तर वैचारिक रूपमा झन् दृढ बन्दै गए। यही कारण उनी धेरैका लागि प्रेरणा स्रोत बने।
कमरेड निर्मल लामालाई बुझ्नका लागि उनको राजनीतिक गतिविधि मात्र हेरेर पुग्दैन, उनको जीवनशैली र नैतिकता पनि बुझ्नुपर्छ। आज राजनीतिमा अवसरवाद, व्यक्तिगत स्वार्थ, पदलोलुपता र सत्तामुखी प्रवृत्ति तीव्र रूपमा बढिरहेको अवस्थामा निर्मल लामाको जीवन एउटा ठुलो वैचारिक चुनौतीको रूपमा उभिएको प्रष्ट हुन्छ। उनले राजनीतिलाई पेशा बनाएनन्, व्यापार बनाएनन्, व्यक्तिगत उन्नतिको भर्याङ बनाएनन्। उनका लागि राजनीति भनेको जनताको मुक्तिका लागि गरिने समर्पित संघर्ष थियो। यही कारण उनी जनतामाझ विश्वसनीय बने।
कम्युनिष्ट आन्दोलनभित्र देखा पर्ने अर्को गम्भीर समस्या भनेको सिद्धान्त र व्यवहारबीचको अन्तर हो। धेरै मानिसहरू मार्क्सवादका ठूला कुरा गर्छन्, तर व्यवहारमा जनताबाट टाढा हुन्छन्। निर्मल लामाको विशेषता भनेको उनले विचारलाई व्यवहारसँग जोड्ने प्रयास गर्नु थियो। उनी जनताको बीचमा जान्थे, उनीहरूको जीवन बुझ्थे, उनीहरूको समस्यालाई राजनीतिक प्रश्नसँग जोड्थे। उनले कम्युनिष्ट आन्दोलनलाई शहरकेन्द्रित बौद्धिक बहसमा सीमित राखेनन्, श्रमिक, किसान र उत्पीडित समुदायसँग जोड्ने प्रयास गरे।
नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रिय प्रश्न, जनजातीय प्रश्न, वर्गीय मुक्ति र जनवादी अधिकारको सवाललाई जोडेर हेर्नुपर्ने आवश्यकता निर्मल लामाले गम्भीर रूपमा उठाएका थिए। उनी राष्ट्रिय उत्पीडनलाई खाली सांस्कृतिक समस्या मात्र मान्दैनथे, त्यसलाई वर्गीय र राजनीतिक संरचनासँग जोडेर हेर्थे। यही कारण उनी नेपाली समाजको बहुआयामिक अन्तरविरोध बुझ्ने नेताका रूपमा स्थापित भए।
आजको समयमा निर्मल लामाको चर्चा गर्नु खाली इतिहासलाइ सम्झिनु मात्र होइन, वर्तमानको समीक्षा गर्नु पनि हो। आज कम्युनिष्ट आन्दोलन अनेक प्रकारका संकटबाट गुज्रिरहेको छ। वैचारिक अस्पष्टता, संसदवादी सीमितता, व्यक्तिगत स्वार्थ, गुटीय मानसिकतावाट जनसम्बन्धको दुरी बढिरहेको छ। यस्तो अवस्थामा निर्मल लामाको जीवनले एउटा महत्वपूर्ण सन्देश दिन्छ, कम्युनिष्ट आन्दोलन विचार, नैतिकता, जनसम्बन्ध र निरन्तर संघर्षबिना जीवित रहन सक्दैन। संगठनको नाम, झण्डा वा चुनावी उपस्थितिले मात्र क्रान्तिकारी आन्दोलन निर्माण हुँदैन। त्यसका लागि त्याग, अध्ययन, वर्गीय निष्ठा र जनताप्रतिको गहिरो प्रतिबद्धता आवश्यक हुन्छ।
निर्मल लामाको योगदानको अर्को महत्वपूर्ण पक्ष भनेको उनले कम्युनिष्ट आन्दोलनलाई निरन्तर आत्मसमीक्षा र सुधारको आवश्यकता रहेको कुरा बुझ्थे। उनी अन्ध समर्थनका पक्षमा थिएनन्। गल्तीलाई गल्ती भन्न सक्ने साहस, विचारलाई परीक्षण गर्ने क्षमता र बदलिँदो परिस्थितिमा नयाँ ढंगले सोच्ने प्रवृत्ति उनीभित्र थियो। यही कारण उनी यान्त्रिक वा जडवादी कम्युनिष्ट थिएनन्, जीवन्त द्वन्द्वात्मक चिन्तक थिए।
आज धेरै मानिसहरू क्रान्तिलाई खाली भावनात्मक नारा वा सामाजिक सञ्जालको बहसमा सीमित गरिरहेका छन्। तर निर्मल लामाको जीवनले देखाउँछ कि क्रान्ति भनेको लामो, कठिन, जटिल र निरन्तर संघर्षको प्रक्रिया हो। त्यसमा व्यक्तिगत पीडा हुन्छ, असफलता हुन्छ, विश्वासघात हुन्छ, दमन हुन्छ, तर त्यही प्रक्रियाबाट इतिहास अगाडि बढ्छ। क्रान्तिकारी मानिसहरू इतिहासबाट हराएजस्तो देखिए पनि उनीहरूको विचार र संघर्ष समाजको चेतनामा बाँचेको हुन्छ।
कमरेड निर्मल लामा नेपाली कम्युनिष्ट आन्दोलनका त्यस्ता व्यक्तित्व हुन्, जसले आफ्नो जीवनद्वारा एउटा कुरा प्रमाणित गरे,सच्चा क्रान्तिकारी मानिस परिस्थितिसँग सम्झौता गरेर महान हुँदैन, बरु कठिन परिस्थितिको सामना गरेर महान बन्छ। आजको पुस्ताले निर्मल लामालाई खाली स्मृतिमा सीमित गर्ने होइन, उनको वैचारिक दृढता, जनपक्षीय निष्ठा, संगठनात्मक अनुशासन र संघर्षशील जीवनबाट शिक्षा लिन आवश्यक छ। किनभने इतिहासमा व्यक्तिहरुको जीवन समाप्त हुन्छ, तर जनताको पक्षमा लडिएको संघर्ष र त्यसबाट जन्मिएको चेतना कहिल्यै समाप्त हुँदैन,जसरी कमरेड निर्मल लामाका श्रमजीवीगरुकोवीचमा अमर हुनुहुन्छ।
( कमरेड निर्मल लामालाई लाल सलाम)२६ बैशाख २०८३
प्रतिक्रिया