चेतना, प्रतिरोध र अधिकार प्राप्तिको गौरवपूर्ण इतिहास हो नेपाली विद्यार्थी आन्दोलनको इतिहास। नेपालको विद्यार्थी आन्दोलन देशको राजनीतिक, सामाजिक र जनतान्त्रिक परिवर्तनको इतिहाससँग गहिरो र गम्भीर रूपमा जोडिएको आन्दोलन हो। विद्यार्थी वर्ग नेपाली समाजको सबैभन्दा सचेत, ऊर्जाशील र परिवर्तनप्रति संवेदनशील शक्ति रहँदै आएको छ। देशमा जब–जब निरंकुशता, अन्याय, राष्ट्रिय आत्मसमर्पण र जनविरोधी शासन व्यवस्थाले आफ्नो प्रभाव विस्तार गर्न खोज्यो, तब–तब विद्यार्थी आन्दोलन प्रतिरोधको अग्रपंक्तिमा उभिएको देखिन्छ। नेपालको आधुनिक राजनीतिक इतिहासलाई विद्यार्थी आन्दोलनको इतिहासबाट अलग गरेर बुझ्न सकिँदैन।
वि.सं. २०१७ सालमा शाही कु पश्चात् देशमा निरंकुश पञ्चायती व्यवस्था लागू गरियो। राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो, नागरिक स्वतन्त्रता खोसियो र जनताको लोकतान्त्रिक अधिकार समाप्त गरियो। यस्तो परिस्थितिमा विद्यार्थी समुदायभित्र असन्तुष्टि र प्रतिरोधको भावना क्रमशः विकसित हुँदै गइरहेको थियो। विद्यार्थीहरूले शिक्षा, स्वतन्त्रता, राष्ट्रियता र जनअधिकारका प्रश्नलाई उठाउन थालेका थिए।
तर त्यतिबेला विद्यार्थीहरूको हक–हित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा स्पष्ट रूपमा संघर्ष गर्ने स्वतन्त्र र सशक्त विद्यार्थी संगठनको अभाव थियो। यही अवस्थालाई नियन्त्रण गर्न पञ्चायती सरकारले वि.सं. २०२० सालमा नेपाल विद्यार्थी संगठन नामक सरकारी विद्यार्थी संगठन निर्माण गर्यो। यसको उद्देश्य विद्यार्थी आन्दोलनलाई स्वतन्त्र राजनीतिक दिशाबाट हटाएर राज्यको नियन्त्रणभित्र राख्नु थियो।
सरकारी संरक्षण प्राप्त यस संगठनलाई पञ्चायती शासनको पक्षमा प्रयोग गरियो। प्रगतिशील र स्वतन्त्र विचार राख्ने विद्यार्थीहरूमाथि दमन बढाइयो। क्याम्पसहरूमा प्रहरी हस्तक्षेप सामान्य बन्दै गयो। सरकारी विद्यार्थी संगठनको नाममा अन्याय, धम्की, निष्कासन, गिरफ्तारी र दमनका घटना तीव्र भए। राज्यले विद्यार्थी चेतनामाथि नियन्त्रण कायम राख्न खोजिरहेको थियो।तर दमनले आन्दोलन रोकिएन। बरु विद्यार्थी आन्दोलन अझ व्यापक र संगठित हुँदै गयो। विद्यार्थीहरूले क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन अर्थात् स्ववियू गठन गर्न पाउनुपर्ने, शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने र विद्यार्थी स्वतन्त्रताको सम्मान गरिनुपर्ने माग उठाउन थाले। यही मागलाई केन्द्रमा राखेर विद्यार्थी आन्दोलन सुरु भयो।
यो आन्दोलन छिट्टै देशव्यापी बन्दै गयो। पोखरा, कोशी, मेची, दाङ, प्युठान, जनकपुर लगायत देशका विभिन्न क्षेत्रमा आन्दोलनको प्रभाव फैलिन थाल्यो। विद्यार्थीहरू अब केवल शैक्षिक मागमा सीमित थिएनन्न उनीहरू राष्ट्रियता, जनतन्त्र र नागरिक अधिकारको पक्षमा पनि आवाज उठाइरहेका थिए।त्यसबेला केही मागहरू पूरा भए पनि स्ववियू गठन गर्न पाउने अधिकार भने सरकारले स्वीकार गर्न चाहेन। कारण स्पष्ट थियो कि स्वतन्त्र विद्यार्थी संगठनहरू पञ्चायती व्यवस्थाका लागि चुनौती बन्दै गइरहेका थिए।
वि.सं. २०२१ सालमा विद्यार्थी युनियनको निर्वाचन भयो। अधिकांश कलेजहरूमा प्रगतिशील र आन्दोलनकारी पक्षका विद्यार्थीहरूको विजय भयो। यसले विद्यार्थी आन्दोलनमा नयाँ उत्साह र आत्मविश्वास थप्यो। विद्यार्थीहरूलाई अब आफ्नो शक्ति र संगठनात्मक क्षमताप्रति अझ विश्वास बढ्न थाल्यो।यही क्रममा वि.सं. २०२१ सालको बैशाख अन्तिमतिर त्रिचन्द्र कलेज मा पाँच दिनसम्म “उपत्यका अन्तरकलेज सम्मेलन” आयोजना गरियो। यो सम्मेलन तत्कालीन दमनकारी राजनीतिक परिस्थितिमा अत्यन्त साहसिक र ऐतिहासिक कदम थियो। उपत्यकाबाहिरका विभिन्न कलेजका विद्यार्थीहरू पर्यवेक्षकका रूपमा सहभागी भएका थिए।
यस सम्मेलनले तत्कालीन राष्ट्रिय राजनीतिक प्रश्नहरूमाथि स्पष्ट धारणा अघि सार्यो। सम्मेलनबाट गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने, असमान सन्धिहरू समाप्त गर्नुपर्ने, स्ववियू गठनको अधिकार बहाल गर्नुपर्ने र गिरफ्तार विद्यार्थीहरूलाई बिना शर्त रिहा गर्नुपर्ने जस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गरिए।यो सम्मेलन शैक्षिक कार्यक्रम मात्र थिएनस यो निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक प्रतिरोधको घोषणापत्रजस्तै बनेको थियो। २०१७ सालको फौजी दमनपछि यो पहिलो स्वतन्त्र विद्यार्थी सम्मेलनका रूपमा स्थापित भयो।सम्मेलनको सफलतापछि विद्यार्थीहरूले वि।सं। २०२१ साल जेष्ठ १ गते विशाल जुलुस प्रदर्शन गरे। जनविरोधी पञ्चायती शासनको विरोधमा आयोजित उक्त प्रदर्शनमा हजारौं विद्यार्थी सहभागी भएका थिए। तर सरकारले यसलाई सहन सकेन। प्रहरीलाई दमनको आदेश दिइयो। विद्यार्थीहरूमाथि निर्मम लाठीचार्ज गरियो, गिरफ्तारी गरियो र आन्दोलन दबाउने प्रयास गरियो।
विद्यार्थी र प्रहरीबीच ठूलो भिडन्त भयो। दर्जनौं विद्यार्थी घाइते भए भने पचासौँ विद्यार्थी गिरफ्तार गरिए। तर दमनपछि आन्दोलन झन् तीव्र बन्यो। गिरफ्तार विद्यार्थीहरूको रिहाइ, प्रहरी दमनको विरोध र स्ववियू गठनको अधिकारको माग गर्दै उपत्यकाव्यापी आम हड्ताल घोषणा गरियो।आन्दोलन देशव्यापी रूपमा फैलिन थालेपछि पञ्चायती सरकार आत्तियो र सम्झौताका लागि बाध्य भयो। अन्ततः सरकारले विद्यार्थीहरूसँग सम्झौता गर्नुपर्यो। सम्झौताअनुसार कलेजस्तरीय स्ववियू गठन गर्न पाउने अधिकार स्वीकार गरियो र गिरफ्तार सम्पूर्ण विद्यार्थीहरूलाई रिहा गरियो।यो खाली एउटा मागको जीत थिएनस यो निरंकुश राज्यसत्तामाथि संघर्षशील विद्यार्थी शक्तिले हासिल गरेको ऐतिहासिक विजय थियो। विद्यार्थीहरूको साहस, संगठन, एकता र बलिदानका अगाडि पञ्चायती शासन घुँडा टेक्न बाध्य भएको थियो।
यही ऐतिहासिक आन्दोलनको स्मरणमा प्रत्येक वर्ष जेष्ठ १ गते “विद्यार्थी दिवस” मनाउने परम्परा स्थापित भयो। विद्यार्थी दिवस एउटा औपचारिक दिन मात्र होइनस यो नेपाली विद्यार्थी आन्दोलनको संघर्ष, बलिदान, राष्ट्रिय चेतना र जनतान्त्रिक अधिकार प्राप्तिको प्रतीक हो।आज पनि विद्यार्थी दिवसले एउटा महत्वपूर्ण सन्देश दिन्छ,जब विद्यार्थी समुदाय राष्ट्रियता, जनतन्त्र, सामाजिक न्याय र जनअधिकारको पक्षमा संगठित हुन्छ, तब कुनै पनि निरंकुश शक्ति स्थायी रूपमा टिक्न सक्दैन। विद्यार्थी आन्दोलन खाली शैक्षिक आन्दोलन मात्र होइनस यो समाज परिवर्तनको ऐतिहासिक प्रेरक शक्ति पनि हो।
प्रतिक्रिया