बीमाको पहुँच दुर्गम क्षेत्रमा विस्तार गरौं : अर्थमन्त्री शर्मा

बीमाको पहुँच दुर्गम क्षेत्रमा विस्तार गरौं अर्थमन्त्री शर्मा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १७:०३ बजे
अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा  पुर्याउनु  आवश्यक रहेको  बताएका छन् । बिहीबार कर्णाली प्रदेशस्थित सुर्खेतमा बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै दूरदराजसम्म बीमाको पहुँच पुर्याउन आवश्यक रहेको  बताएका हुन् ।  

कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेको  बताउदै उनले  बीमाको  सेवा विस्तार गर्न आग्रह गरेका हुन् । नयाँ विधेयकमा सरकारले  बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उनले जनशक्ति व्यवस्थापनका लागि छुट्टै कलेजको आवश्यकता रहेको समेत औंल्याएका छन् । 

बीमा सेवा सहर–बजारमा मात्र सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने, बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितले दाबी अनुसारको भुक्तानी नपाउने गुनासो आफूले सुन्दै आएको बताउदै उनले  बीमालाई  थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन निर्देशन समेत दिए । 

लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्याउने  लक्ष्य सरकारले  लिएको भन्दै  शर्माले अब बीमा कम्पनीहरू त्यहाँसम्म पुग्नुपर्ने  बताएका छन् । बीमा समितिले बीमा व्यवसायको समग्र नियमन, बीमितहरूको सुरक्षा, बीमा साक्षरता, बीमक बीमितका समस्या समाधान गर्न उनले आग्रह गरेका छन्  । 

२०७९ भदौ १६ १७:०३ बजे

प्रतिक्रिया