फासिवादको जगजगी
सरकारले टेड युनियन लगायत जनवर्गीय संगठनमाथि प्रतिबन्ध लगाएको छ । भोलि अनुकूल परिस्थिति तयार हुँदा दलहरुमाथि पनि प्रतिबन्ध लगाउन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न
गत वैशाख १८ गतेदेखि काठमाडौंका नदी किनाराका थापाथली, मनोहरा, शंखमूल लगायतका क्षेत्रमा बसेका सुकुम्बासी वस्तीमा एक्कासी डोजर चल्न थाले र २\३ दिन मै बस्ती उजाडियो । हजारौं सुकुम्बासीहरुलाई आफ्नो सामान पनि प्याक गर्न नदिई त्यहाँबाट उठाएर लगियो । केही टाठाबाठाहरुले मात्र आफ्ना आवश्यक सामान बचाएर साथमा लगे । यति बेला नवनिर्वाचित प्रधानमन्त्री बालेन साहले चलाएको डोजर आतंकबारे व्यापक बहस भइरहेको छ । कतिपयले सार्वजनिक जग्गा खाली गराउनु सरकारको सही कदम बताइरहेका छन् भने कतिपयले बैकल्पिक व्यवस्था नगरी सुकुम्बासीहरुलाई आफ्नो घरबाट उठाउन नहुने बताइरहेका छन् ।
काठमाडौंका नदी किनाराका सुकुम्बासी बस्ती खाली गराउनका लागि यस अघिका सरकारहरुले पनि पटकपटक प्रयास गरेका थिए । बाबुराम भट्टराईको पालामा त वैकल्पिक व्यवस्था पनि गरिएको थियो । तर वैकल्पिक वासस्थानमा सुकुम्बासीहरु जान मानेनन् । त्यो कार्यक्रम पनि त्यतिकै अलपत्र रहन गयो । अहिले बालेन साहले फरक ढंगले बस्ती खाली गराउँदैछन् । सुकुम्बासीहरुलाई एक दुई दिन अघि सूचना जारी गर्ने, त्यो पनि शनिबार र आइतबारको विदाका दिनअगाडि, अनि डोजर चलाउन शुरु गर्ने । सामाजिक संजालमा आएका रिपोर्ट अनुसार अत्यन्त निर्दयी तरिकाले डोजर चलाइएको छ । सुत्केरी, बृद्ध बृद्धा, बच्चाहरुलाई उचित व्यवस्थापनको तयारी नगरी जवरजस्ती गाडीमा राखेर होल्डिङ सेन्टर तर्फ लगिने गरिएको छ । उनीहरुको सामान्य आवश्यकता पनि पूरा नगर्ने, प्याकेटका खाना ल्याएर दिने गरिएको छ । अहिले त होल्डिङ सेन्टरको समाचार बाहिर लैजान नपाउने गरिएको छ । एक्कासी आएको यो डोजर आतंक सहन नसकी दुई जना नागरिकले आत्महत्या समेत गरिसकेका छन् । सरकारले सुुकुम्बासी र हुकुमबासीलाई छुट्याउने, वर्षाको बाढीबाट सुकुम्बासीहरुलाई जोगाउने, वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने भन्ने गरेको छ । त्यो वाहियात कुरा हो । किनभने यदि त्यसो गर्नका लागि थियो भने पनि सुकुमवासीहरुलाई हटाउनका लागि पनि पूर्व तयारी गरेर उनीहरुलाई हटाउने निश्चित समय तोक्न सकिन्थ्यो । आफूले दुःख गरेर जुटाएका सामान लैजान पाउनु पथ्र्यो । सरकारले त्यसो गरेन । सुकुम्बासी वा हुकुमबासी मध्ये थोरैले मात्र आफ्ना भाँडाकुँडा, लताकपडा जोगाउन पाएका छन् । यसप्रकारको सरकारको आतंकपूर्ण कार्य मानवता र नागरिकको संवैधानिक अधिकार तथा मानवअधिकारको समेत विपरीत भएको छ । ती वस्तीहरुमा जनताको ठूलो रकम फसेको छ । कैयौं सुकुम्बासीले त नगद पैसा खर्च गरेर छाप्रो खरिद गरी बसोबास गरेका छन् । अहिले उनीहरुसँग न छाप्रो छ , न साथमा पैसा छ । सरकारले पुनस्र्थापना गर्ने भने पनि कहाँ र कस्तो जग्गामा गर्ने भन्ने ठेगान छैन । सरकारले सबै पालिकाहरुलाई खाली जग्गाको व्यवस्था गर्न भनेर पत्राचार गरेको छ । तर त्यसको कुनै ग्यारेन्टी छैन । यदि कुनै पालिकाले जग्गा उपलब्ध गरायो भने पनि त्यहाँ रोजगार, शिक्षा, स्वास्थ्य, पानी, सडक, विजुली, यातायात उपलब्ध हुने कुनै ग्यारेन्टी छैन ।
यस्तो विनायोजना, विना तयारी र विना सहमति नागरिकहरुलाई पशुलाई जस्तो गरेर सरकारले व्यवहार गर्यो । त्यो निन्दनीय र भत्र्सनायोग्य छ । अहिले जनता बालेन विरुद्ध नाराबाजी गर्दै सडकमा आएका छन् । तिनै जनता हुन, जसले “चुपचाप घण्टीछाप” भन्दै घण्टी पार्टीलाई जिताएका थिए । स्वयं घण्टी पार्टीका उम्मेदवारहरुले खास गरेर वालेन र रवि लामिछाने सुकुम्बासी बस्तीमा डोजर चलाइदैन, चलाइयो भने सबैभन्दा पहिले “म छाती थाप्ने छु” भनेर विश्वास दिलाएका थिए । आज नेताहरु आफैले जनतासित विश्वासघात गरेका छन् । कुनै दार्शनिक, राजनैतिक, आर्थिक विचार नभएका, गफाडीहरुका पछि लागेर जनताले विश्वास गर्नुको परिणाम यही हो ।
देशको शासन गलत शक्तिका हातमा गएको छ । सुकुम्बासीको कुरा मात्र होइन, संगठन गर्ने जनताको अधिकार खोसिएको छ, विवादित राष्ट्रिय परिचयपत्रलाई टेसिङयोग्य एकल आधार प्रमाणपत्र बनाईदैछ । विना पूर्व तयारी सीमा क्षेत्र नियमनका नाममा भारतीय बजारबाट सामान ल्याउन बन्द गरिएको छ, युगौंदेखि सीमावर्ती क्षेत्रका जनता सीमा पारी गएर सामान ल्याउँथे । एक्कासी बन्द भएपछि जीवन कष्टपूर्ण भएको छ । नेपाली सेनालाई सुकुम्बासीलाई मनोवैज्ञानिक ढंगले आतंकित गर्नका लागि सडकमा उतारिएको छ । संसद अधिवेशन बोलाएर पनि त्यसलाई स्थगित गरी एकाएक ६\७ वटा अध्यादेशहरु जारी गरिंदैछ । त्यसका लागि राष्ट्रपतिलाई ठूलो दबाव हालिएको छ । यी सबै कुरा लोकतान्त्रिक व्यवस्थामा गरिने कुरा होइनन् । यो सीधै तानाशाही शैली हो, यो फासिवादी नीति हो । लोकतान्त्रिक पद्धतिका आधारमा निर्वाचित भएको पार्टीले लोकतन्त्र कै घाँटी निमोठ्न थालेपछि संविधान प्रदत्त मौलिक अधिकार जीवित रहन्छन् भन्ने के ग्यारेन्टी छ ? यी सबै तथ्यले के बताउँछन् भने रास्वपाको सरकारले देशमा फासिवादलाई स्थापित गर्दैछ ।
फासिवाद बाहिरबाट घोषणा गरेर आउने होइन । फासिवादीहरु निर्वाचित भएरै जनताको अभिमत लिएर आउने गरेको इतिहास छ । हिटलरले नाजी पार्टीको नामबाट निर्वाचनमा जनताबाटै चुनिएर बहुमत प्राप्त गरेको थियो । उसले गोरा आर्यनहरु सर्वश्रेष्ठ जाति हुन् भन्थ्यो । अन्य जातिमाथि आर्यनहरुले शासन गर्नुपर्छ भन्ने विचारप्रति जर्मनहरुको व्यापक समर्थन थियो । त्यही समर्थनकै कारण जर्मनीमा नाजी पार्टीले बहुमत प्राप्त गर्यो र पछि गएर फासिवादी शासन चलायो । हिटलरले ६० लाख यहुदीहरुलाई खुलेआम मार्यो । तर पछिल्लो कालमा श्रीमती सहित आफैलाई गोली हानेर आत्महत्या गर्यो । नाजी पार्टी पनि समाप्त भयो ।
हाम्रो देशमा बालेनको फासिवादको उदय भएको छ । जनताको समर्थन प्राप्त गर्न भ्रष्टाचार उन्मूलन,अवैध सम्पत्ति छानवीन, हुकुमवासीहरुको उठिवास, भ्रष्ट मन्त्रीको बर्खास्तदगी जस्ता कुराले बालेनले प्रशंसा पाएका छन् । उनले गरेका ती कामहरुको विरोध गर्नुपर्ने कुनै कारण छैन । सुकुम्बासी प्रकरणमा पनि वास्तविक सुकुम्बासीको छनोट गर्ने र घर जग्गा दिने कुराको विरोध गर्नुपर्ने छैन । तर सार्वभौम नागरिकको अपमान र अधिकारको हनन् गर्ने कुरालाई न्यायोचित मान्न सकिन्न । त्यसको जोडदार विरोध गरिनुपर्छ । त्यो लज्जास्पद र आतंकपूर्ण छ । जनतालाई पुलिस र सेनाको घेराभित्र हालेर भयभित पारिएको छ । अहिले लिपुलेक हुँदै मानसरोबर जाने सडकबाट चीन र भारतले व्यापार शुरु गर्ने जुन तयारी गरेका छन् । त्यसबारे सरकारले असहमति जनाउँदै कुटनैतिक पत्र पठाएको छ । त्यो सकारात्मक पक्ष हो । विदेशमा जम्मा गरेको पुँजी नेपाल फिर्ता ल्याउन जुन तयारी गरेको भन्ने सुनिन्छ, त्यो पनि सकारात्मक छ । अन्य कतिपय सुधारका कार्यक्रम, जो जनताको हितमा छन्, त्यसलाई पनि सकारात्मक नै मान्नु पर्छ । तर कुरो त्यति मात्र भै दिएको भए सरकारको विरोध गर्नुपर्ने आवश्यकता थिएन । तर यी सबै सुधारहरुका पछाडिको नियत सरकारले आफ्नो फासिवादी नीति तथा कार्यलाई लुकाउने चाल चालिरहेको छ । यस्ता शासकले कतिपय अवस्थामा अन्धराष्ट्रवादको नारामा जनतालाई आकर्षित गर्ने काम पनि गर्छन् । वालेन साह काठमाडौंको मेयर पद जितेपछि ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेका थिए । भारतीय फिल्म “आदि पुरुष” लाई काठमाडौंमा प्रदर्शनमा रोक लगाएका थिए । यद्यपि त्यो काम सही वा गलत के थियो ? त्यो छुट्टै विषय हो । तर त्यसमा लुकेको नियत अन्धराष्ट्रवाद हो । एकातिर अन्धराष्ट्रवादी चिन्तन, अर्कोतिर जनअधिकारमाथि प्रहार, यो सामान्य कुरो होइन ।
सुधारको काम गर्नु नै ठूलो कुरा होइन, मूलकुरा त्यो सुधार कुन जगमा टेकेर गरिएको छ ? भन्ने हो । राजा महेन्द्रले पनि भूमिसुधार, छुवाछूत विरोधी कानुन, गाउँफर्क अभियान ल्याएका थिए । तत्कालीन राजा वीरेन्द्रले नयाँ शिक्षा लागु गरेका थिए । शेरबहादुर देउवाले ०६३ सालमा “छुवाछूत मुक्त राष्ट्र” घोषणा गरेका थिए । बाबुराम भट्टराईको पालामा काठमाडौंका सडक फराकिलो पार्ने, ३० हजारसम्मका बैंक ऋण मिनाह गर्ने जस्ता सुधारका काम गरेका थिए । वालेनले सुधारका सय बुंदे कार्यसूचीमा एसपीपी नल्याउने, टीओवी, हामी नेपाल, अमेरिकन युथ काउन्सिल जस्ता संस्थालाई खारेज गर्ने, जस्ता काम गरेका भए उनीप्रति शंका गर्नुपर्ने थिएन । तर उनले कार्यसूचीमा त्यो जनता र राष्ट्रको हितको कुरा ल्याएनन् । एमसीसी खारेज गर्ने कुरा गर्दैनन् । अमेरिकी सेनासित नेपाली सेना सहकार्य र त्यसका लागि क्षेत्र छनौट भइरहेको आदि कुरालाई उनी विरोध गर्दैनन् । गत भाद्र २४ गतेको महाविध्वंशका लागि जिम्मेवार व्यक्तिलाई कार्वाही गर्ने कुरा गर्दैनन् । त्यसकारण उनले गर्दै आएको सुधार निश्चित उद्देश्य सहित आएको कुरामा शंका छैन ।
देश अब फासिवादतिर अगाडि बढिसक्यो । संसदको पनि अब काम छैन । जनताले चुनेका जनप्रतिनिधिले छलफल गर्दा कुन सांसद के बोल्छ भनेर जनताले सांसदको मूल्यांकन गर्थे, जनताले आफ्नो समस्याको बारेमा बोल्न लगाउँथे । त्यो अब आवश्यक भएन । कानुन निर्माण पनि अध्यादेशबाटै हुने भयो । संसदले कानुन निर्माण गर्नुपर्ने आवश्यकता परेन । सबै काम प्रम बालेनको इच्छामाथि निर्भर हुने भयो । यी सबै फासिवादको शुरुवात हुन् । अहिलेसम्म सरकारले टेड युनियन लगायत जनवर्गीय संगठनमाथि प्रतिबन्ध लगाएको छ । भोलि अनुकूल परिस्थिति तयार हुँदा दलहरुमाथि पनि प्रतिबन्ध लगाउन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न । आशा गरौं, त्यस्तो नहोस् । तैपनि जनता अब फासिवादको खतराप्रति सचेत हुन आवश्यक छ । जुन शक्तिले रास्वपालाई यो ठाउँमा पुयायो, त्योे शक्तिले फासिवाद लागु गर्न पनि सहयोग नगर्ला भन्न सकिन्न । प्रधानमन्त्री बालेन शाहको सुकुम्बासी उठाउने कदमदेखि लिएर सडकमा सेना उतार्नेसम्मका कामहरु फासिवादको पूर्वतयारी हो । यो बाहिर सुधार, अन्तर्यमा फासिवादको अभ्यास हो ।
प्रतिक्रिया