काठमाडौं । अमेरिकासँग वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार अबेर राति पाकिस्तानको इस्लामावाद आइपुगेको छ । टोलीको नेतृत्व इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन् ।
इरानी प्रतिनिधिमण्डल ‘मिनाब १६८’ नाम दिइएको विशेष विमानमार्फत पाकिस्तान पुगेको हो । यो नाम इरानको एक विद्यालयमा अमेरिकी आक्रमणका कारण भएको नरसंहारमा ज्यान गुमाएकाहरूको सम्झनामा राखिएको बताइएको छ ।
इस्लामावाद पुगेपछि गालिबाफले सामाजिक सञ्जाल एक्समा एउटा भावुक तस्बिर राखेका छन् । उक्त तस्बिरमा विमानका सिटहरूमा चारजना बालबालिकाका तस्बिर राखिएका छन्, जससँग स्कुल ब्याग र फूलहरू पनि देखिन्छन् । वार्ताकारहरूले उनीहरूलाई आफ्नो यात्राका साथी भएको बताएका छन् ।
‘मिनाब १६८’को सन्दर्भ के हो ?
फेब्रुअरी २८ मा मिनाब सहरस्थित एक प्राथमिक विद्यालयमा मिसाइल आक्रमण भएको थियो । उक्त हमलामा १६८ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश विद्यालयका बालबालिका र कर्मचारी थिए ।
इरानले यस हमलाको आरोप अमेरिका र इजरायलमाथि लगाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यो हमला अमेरिकी सेनाबाट भूलवश भएको हुनसक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।इरानले मिनाबका बालबालिकाका तस्बिरलाई कूटनीतिक सन्देश र भावनात्मक प्रतीकका रूपमा प्रयोग गर्दै वार्ताको टेबलमा अमेरिकामाथि नैतिक दबाब सिर्जना गर्ने प्रयास गरेको बताइएको छ ।
‘शान्तिको आशा छ, तर अमेरिकामाथि भरोसा छैन’
“हामी सद्भावका साथ आएका छौँ, तर हामी अमेरिकामाथि भरोसा गर्दैनौँ । यदि, अमेरिका इमानदार सम्झौताका लागि तयार छ भने इरान पनि तयार हुन सक्छ,” इस्लामावाद ओर्लिनेबित्तिकै मुख्य वार्ताकार गालिबाफले भने, “तर, विगतमा अमेरिकासँग भएका सम्झौताहरू पटक–पटक तोडिएका छन् ।”इरानको यस प्रतिनिधिमण्डलमा कूटनीतिज्ञ मात्र नभई सुरक्षाविज्ञ, आर्थिक सल्लाहकार र सञ्चारकर्मीसहित ७१ जना सहभागी छन् ।
चीनद्वारा इरानलाई नयाँ रक्षा प्रणाली दिने तयारी
अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार इरानले शान्तिको यस अवधिलाई आफ्नो सैन्य शक्ति पुनर्गठन गर्न प्रयोग गरिरहेको छ ।चीनले आगामी केही हप्ताभित्र इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरिरहेको बताइएको छ ।चीनले यी हतियारहरू सिधै नपठाई तेस्रो मुलुकमार्फत पठाउने योजना बनाएको छ, ताकि आपूर्तिको स्रोत लुकाउन सकियोस् ।
ट्रम्पको चेतावनी र भान्सको आगमन
जेडी भान्स पनि केही समयमै इस्लामावाद पुग्ने तयारीमा छन् । यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै अब समुद्रमा जहाजहरूबाट शुल्क असुल्नुबाहेक अन्य विकल्प नरहेको बताएका थिए । सीएनबीसीटीभी
प्रतिक्रिया