काठमाडौं । भारतमा निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री सिक्योङ पेन्पा छिरिङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् । नेपालको प्रधानमन्त्री भएकोमा उनले बालेनलाई बधाई दिएका हुन् ।
आफ्नो बधाईपत्रमा सिक्योङले लेखेका छन्, “हालै जेन–जेडको नेतृत्वमा भएको आन्दोलन पछि सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा तपाईंको उदय, नेपालका जनता, विशेष गरी युवा पुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकको रूपमा खडा छ ।”
पत्रमा उनले नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध रहेको उल्लेख गरेका छन् । यो सम्बन्धलाई नेपालमा रहेका तिब्बती समुदायले अझ बलियो बनाएको उनले जनाएका छन् ।
तिब्बत कब्जा भएपछि नेपाल आएका तिब्बती शरणार्थीले आफ्नो तिब्बती पहिचानलाई संरक्षण गर्दै नेपालको सामाजिक र आर्थिक संरचनामा योगदान पुर्याएको दाबी उनले गरेका छन् ।
“यो नेपाल सरकार र जनताको उदारताले सम्भव भएको हो, जसको लागि हामी आभारी छौँ,” पत्रमा लेखिएको छ, “तपाईंको सक्षम नेतृत्वमा, हामी हाम्रा जनता बीचको मित्रताको निरन्तर सुदृढीकरणको लागि तत्पर छौँ र नेपाल प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अगाडि बढ्ने आशा गर्दछौँ ।” (तिब्बत डट नेटबाट साभार)
प्रतिक्रिया