जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काइएको छ ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी गरिएको थियो । सोही घटनामा देउवा दम्पतीमाथि कुटपिटसमेत भएको थियो । आगजनीका कारण घरका विभिन्न भागमा गम्भीर क्षति पुगेको थियो ।
हाल आगजनीले पूर्ण रूपमा क्षति पुर्याएका संरचनाहरू हटाउने काम धमाधम भइरहेको छ भने केही भाग मर्मत गरेर पुनः प्रयोगयोग्य बनाउने तयारी गरिएको छ । घर पुनःनिर्माणको प्रक्रिया अघि बढाइँदै गरिएको जनाइएको छ ।
देउवाले यसअघि आफ्ना छोराको विवाहअघि उक्त घर मर्मत गराएका थिए । तर आन्दोलनका क्रममा भएको आगजनीले घरमा पुनः ठूलो क्षति पुर्याएको हो ।
दुर्घटनापछि देउवा परिवार हाल काठमाडौँको महाराजगञ्ज क्षेत्रमा भाडाको घरमा बस्दै आएको छ । यसैबीच, देउवा दम्पती उपचारका लागि हाल हङकङमा रहेका छन् ।आन्दोलनका क्रममा भएको आगजनी र त्यसपछिको क्षतिले निजी सम्पत्तिमा परेको असरलाई देखाउँदै उक्त घटना अझै पनि चर्चामा रहेको छ ।
प्रतिक्रिया