विचित्र न्याय
न्याय,
आहा सुन्दा कानलाई मात्र होइन
मनलाई पनि आनन्दित पार्ने शब्द
शिक्षित होस् वा अनपढ
सबको मनमा झुण्डिने शब्द यो
जानेर वा नजानेर
सबैलाई चाहिने जिनिस यो
कुन नि के जादु छ यसमा ?
यसको प्राप्तिमा सबको आशक्ति छ
तर,
भन्न जति सजिलो
पाउन उत्ति नै कठिन छ यो
यो एकातिर बरदान हो
अर्कोतिर उत्तिकै अभिशाप पनि
असंख्य अनुयायी सहिद भए
हिँड्दा हिँड्दै लड्दा लड्दै सिध्दिए
जसरी उज्यालोको मोहमा
दीयोमा पुतलीहरु जल्छन्
उसरी नै यसको मोहमा
अभिलाषीहरु सकिन्छन्
यसैले,
यो दनदनी बलेको आगोको ज्वाला हो
यो त मरुभूमिको पानीको तलाउ हो
जति नजिक सर्यो झन पर पर भाग्ने
यो त एक मृग मरिची मात्र हो
खै,
यो कस्तो चीज हो ?
आफूसँग हुँदै नहुने
जहिले पनि अरुसँगै माग्नुपर्ने
मागेर पनि पाउने ठेगान नहुने
पाएर पनि स्वादको चाल नपाइने
यो त आखिर
सपनामा खाएको खीर जस्तो रहेछ
द्रव्यमा बिक्ने मोलमोलाइ हुने
यो त बजारमा बेचिने फसल रहेछ
कुनै आकार रङ्ग रुप नहुने
खोज्दा खोज्दै बीचैमा लोप हुने
यो त सबैले पाल्ने भ्रम मात्र रहेछ ।
(लेखक- अधिवक्ता पनि हुनुहुन्छ)
प्रतिक्रिया