नेपालमा अब अमेरिकी सैन्य क्याम्प रहने त्रास

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २५ ०८:०८ बजे

काठमाण्डौ।नेपालमा रास्वपाले जितेपछि सबैभन्दा ठूलो त्रास भनेको अमेरिकी सैन्य अखाडा राख्न देलान् भन्ने छ। त्यो त्रास निराधार भने होइन।

चीनलाई चारैतिरबाट घेर्ने रणनीति अन्तरगत अमेरिकाले पूर्वतिर जापान र दक्षिण कोरिया अनि दक्षिण पूर्वतिर फिलिपिन्स, सिंगापुर तथा दक्षिणतिर थाइल्यान्डमा अमेरिकी सैन्य अड्डा राखेको छ।

पश्चिमतिर अलि टाढा बहराइन, कतार, कुवेत र इराकमा अमेरिकी सैन्य अड्डा छन्। पश्चिम र दक्षिण पश्चिमतिर उसले अरु अड्डा राख्न भ्याएको छैन। बंगलादेश र भियतनाममा उसले राख्न सकेन। भारत र पाकिस्तानले राख्न दिएनन्। अफगानिस्तानबाट लखेटिनु परिहाल्यो। उत्तरतिर रुसले दिने कुरा भएन। त्यही भएर अमेरिकाको आँखा नेपालमा अडिएको छ। 

नेपालको अस्थिर र परनिर्भर राजनीति अमेरिकाको लागि उपयुक्त पनि छ ।अमेरिकासित मिलेर काम गर्दा नेपाललाई लाभ हुन्छ भन्ने बुद्धिजीवी पनि यहाँ छन्। 

हाम्रा छोराछोरी अमेरिका जान हुने अमेरिकी सेना नेपाल आउन किन नहुने ? भन्ने तर्कशास्त्री पनि यहाँ छन्। भारतलाई साइजमा राख्न अमेरिकी सेना भित्र्याउदा हामीलाई लाभ नै हुन्छ भन्ने वक्ता पनि यहाँ छन्। त्यही भएर अबका दिन संशयले भरिएका छन्।हाम्रा नेता र बुद्धिजीवीले चाहेपछि अमेरिकन सेना आउन कसैले रोक्न सक्दैन। किनकि त्यसलाई सैन्य कुटनीति र सैन्य सहकार्य भनेर पुष्टि गरिदिने रक्षा विशेषज्ञहरु पनि यहाँ थुप्रै छँदै छन्।

अमेरिकी सेना बोलाएर सुरक्षित हुन लायायित उदारवादी राजनीतिज्ञहरु संसारमा यत्रतत्र छरिएका छन्। तर स्थापित भएको अमेरिकाको सैन्य व्यारेक बन्द गराएर सेना फर्काउने राष्ट्रपति भने किर्घिजिस्तानका राष्ट्रपति कुर्मान्बेक बाकियेभ मात्रै हुन्। उनले किर्घिजिस्तानको मनास भन्ने ठाउँमा रहेको अमेरिकी वायुसेनाको अड्डालाई सन् २००९ मा हटाएर फिर्ता पठाएका थिए। फलतः आन्दोलन गराएर त्यसको केही महिनापछि  कुर्मान्बेक बाकियेभ अपदस्थ गराइएका थिए।

यो अमेरिकी मनास सैन्य अखाडा २००१ मा प्रजातान्त्रिक राष्ट्रपति अस्कर अकायेभले राख्ने अनुमति दिएका थिए। मनास सैन्य अड्डा हटाएपछि र अफगानिस्तानबाट लखेटिनु परेपछि पश्चिमतिर बाट अमेरिकाको चीनसम्म पहुँच गुमेको छ। नेपालमा सैन्य अड्डा राखियो भने त्यसले चीनको पश्चिमी र दक्षिण पश्चिम सीमा क्षेत्रलाई कभर गर्न सक्छ।


२०८२ फागुन २५ ०८:०८ बजे

प्रतिक्रिया