बैतडी महरागाउँमा इन्फ्लुएञ्जा ‘बी’ पुष्टि

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २० १२:४० बजे

बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो इन्फ्लुएञ्जा ‘बी’ भएको पुष्टि भएको छ। धनगढीको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले मौसमी फ्लु अन्तर्गतको इन्फ्लुएञ्जा ‘बी’ भाइरस भएको देखाएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिनुभयो।

भाइरल ज्वरोका कारण फागुन ११ गते १३ वर्षीय विनोद महरा र फागुन १६ गते १० वर्षीय विकास महरा दाजुभाइको निधन भएपछि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको थियो। टोलीले सङ्कलन गरेको १० जनाको ‘थ्रोट स्वाब’ नमुनाको परीक्षणबाट इन्फ्लुएञ्जा ‘बी’ पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले जानकारी दिनुभयो। उहाँका अनुसार, रोग सामान्य प्रकृतिको भए पनि बालबालिका र वृद्धवृद्धामा छिटो सर्ने र जटिलता निम्त्याउने जोखिम रहन्छ।

स्वास्थ्यकर्मीहरूले पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा ६५ वर्षमाथिका दीर्घरोगी—विशेषगरी दम, मुटु र मधुमेहका बिरामी—लाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक औषधि वितरणको कार्य जारी राखेको जनाएको छ।

हाल महरागाउँ र आसपासका बस्तीका करिब एक सय घरधुरीका दुई सयभन्दा बढी नागरिक ज्वरोबाट प्रभावित रहेको अनुमान गरिएको छ। स्वास्थ्य अधिकारीहरूले ज्वरोको प्रकोप नियन्त्रणमा नआएसम्म साबुनपानीले नियमित हात धुने, भीडभाडबाट टाढा रहने, खोक्दा वा हाछ्युँ गर्दा मुख–नाक छोप्ने र व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

एकै घरका दुई बालकको दुःखद निधन भएपछि महरागाउँवासी शोकाकुल भएका छन्। स्थानीय जनप्रतिनिधिहरूले रोग नियन्त्रणका लागि सबै निकाय समन्वयमा सक्रिय रहेको जानकारी दिएका छन्।गोरखापत्र अनलाइन


२०८२ फागुन २० १२:४० बजे

प्रतिक्रिया