धनगढी। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न भएको दिन फागुन २१ गते राति १२ बजेसम्म सबै नाका बन्द रहनेछन्।
कैलाली जिल्लामा नेपाल–भारत खुला सिमाना करिब १०१ किलोमिटर फैलिएको छ। निर्वाचन अवधिभर सम्पूर्ण सीमानाका सिल गरिने सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्।
यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म अत्यावश्यक र अनुमति प्राप्त बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा विद्युत सेवा, कूटनीतिक नियोगका सवारीसाधन र प्रशासनबाट अनुमति प्राप्त सवारी भने सञ्चालनमा रहनेछन्।
उता बैतडीमा पनि निर्वाचन सुरक्षालाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको झुलाघाट नाका र महाकाली नदीमा सञ्चालन हुने डुङ्गा सेवा तीन दिनका लागि बन्द गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नाका र डुङ्गा सञ्चालन रोक गरिनेछ।
जिल्लाको दशरथचन्द नगरपालिका–६ शेरादेखि पञ्चेश्वर गाउँपालिका–४ विनायक हुँदै शिवनाथ गाउँपालिकासम्म करिब ६५ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। झुलाघाट नाकामा झोलुङ्गे पुलमार्फत आवतजावत हुँदै आएको छ भने पञ्चेश्वर र शिवनाथ क्षेत्रमा डुङ्गामार्फत महाकाली नदी तर्ने व्यवस्था गरिएको छ।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सशस्त्र प्रहरीका सीमा सुरक्षा चौकी (बिओपी) मार्फत निगरानी थप कडा पारिएको प्रशासनले जनाएको छ।
प्रतिक्रिया