भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनाड्य

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनाड्य

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १३:१४ बजे
गौतम अडानी

 काठमाडौं । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वकै तेस्रो धनाड्य  बन्न सफल भएका छन् ।  उनी फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै तेस्रो भएका हुन् । 

विश्वका धनीहरुको सूचीमा  एलोन मस्क र जेफ बेजोस अगाडि छन् । अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ६० वर्षीय अडानीको कुल सम्पत्ति १३७.४ बिलियन  डलर रहेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६०.९ अर्ब डलरले बढेको छ ।

फेब्रुअरीमा मुकेश अम्बानीलाई उछिन्दै उनी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । अप्रिलमा उनको कुल सम्पत्ति १०० अर्ब डलर नाघेको थियो र गत महिना उनी माइक्रोसफ्टका बिल गेट्सलाई उछिन्दै विश्वका धनीहरुको सूचीमा चौंथो नम्बरमा पुगेका थिए ।

हालैका वर्षहरूमा अडानी समूहले आफ्नो व्यवसायलाई उल्लेखनीय रूपमा विस्तार गरेको छ । उनले डायमण्ड ट्रेडिङबाट आफ्नो व्यवसाय सुरु गरे । तर, त्यसपछि कोइला व्यवसायमा लागे ।

अहिले उनको समूह कोइलादेखि बन्दरगाह, मिडिया, सिमेन्ट, एल्युमिना र डाटा सेन्टरसम्मको व्यवसायमा संलग्न छ । यो समूह देशको सबैभन्दा ठूलो निजी क्षेत्रको बन्दरगाह र विमानस्थल सञ्चालक हो । यससँगै सिटी ग्यास वितरण र कोइला खानीमा पनि यो भारतमा पहिलो नम्बरमा छ । अडानी समूहले पनि हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ ।

अडानी समूहका केही सेयर सन् २०२० पछि एक हजार प्रतिशतसम्म बढेका छन् । सोमबारसम्म उनको कुल सम्पत्ति १.१२ अर्ब डलरले बढेर १३७ बिलियन डलरभन्दा माथि पुगेको छ ।

अर्कोतर्फ फ्रान्सका बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १.३७ अर्ब डलरले घटेर १३६ अर्ब डलर पुगेको छ । मुकेश अम्बानी ९१.९ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा ११ औं स्थानमा छन् ।

यो वर्ष उनको कुल सम्पत्ति १.९६ अर्ब डलर मात्र बढेको छ । विश्वका धनीहरूको सूचीमा २५१ अर्ब डलरको सम्पत्तिसहित मस्क पहिलो र बेजोस १५२ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा  रहेका छन् ।   

२०७९ भदौ १४ १३:१४ बजे

प्रतिक्रिया