ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका स्थानीयवासीले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।
पछिल्लो समय गाउँमा हत्या, लुटपाट तथा चोरीका घटनामा वृद्धि भएपछि असुरक्षाको वातावरण सिर्जना भएको भन्दै स्थानीयले मतदान बहिष्कारको निर्णय गरेका हुन्। स्थानीयका अनुसार पछिल्लो एक महिनाभित्र चार जनाको हत्या भइसकेको छ, जसका कारण गाउँलेहरू त्रसित बनेका छन्।
डरका कारण कतिपय गाउँलेहरू जिल्लाबाहिर आफन्तकहाँ बसाइँ सर्न थालेका छन् भने गाउँमा बाँकी रहेकाहरू पनि समूह बनाएर एकै ठाउँमा सुत्न बाध्य भएका छन्। साथै, गोठबाट पशुचौपाया चोरी हुने क्रमसमेत बढेको स्थानीयले बताएका छन्।
गाउँलेहरूले पटक–पटक राज्य र सुरक्षा निकायलाई जानकारी गराउँदा पनि सुरक्षामा गम्भीरता नदेखाइएको आरोप लगाएका छन्। यसअघि यस्तै घटनामा संलग्न गिरोहलाई पक्राउ गरिएको भनिए पनि पछिल्ला घटनाका दोषीहरू अझै पक्राउ नपरेको स्थानीयको गुनासो छ।
लगातारका हत्या, लुटपाट र हिंसात्मक गतिविधिले गाउँमा त्रासको वातावरण बनेको निष्कर्ष निकाल्दै स्थानीयको भेलाले राज्य नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको ठहर गरेको छ। यही कारण आगामी निर्वाचनमा मतदान नगर्ने निर्णय गरिएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया